त्यसमाथि संविधान निर्माणको महत्त्वपूर्ण कालखण्डमा सभासद् नै ढल्नु झन् त्रासद घटना थियो। कसैले एम्बुलेन्सलाई फोन गर्यो। साइरन बजाउँदै एम्बुलेन्स आयो र माननीयलाई अस्पताल लिएर हिँड्यो। रमितेहरूले लख काटे, सभासद्लाई गम्भीर समस्याले गाँजेको छ। सबैका आ–आफ्ना अनुमान थिए। गर्नेहरूले त हृदयाघात र मस्तिष्कघातको समेत अनुमान गरे। सभासद् ढलेको फोटो मोबाइलबाट खिच्न भ्याएको एउटा ठिटोले फोसबुकमा पोस्ट गर्यो र लेख्यो, 'सभासद् संस्थागत जनजाति आफ्नै डेराअगाडि बेहोस भएर ढल्नुभयो। उपचारका लागि उहाँलाई अस्पताल लगिँदैछ। शीघ्र स्वास्थ्यलाभको कामना!'फेसबुकबाट सुरु भएको अस्वस्थ सभासद्को सूचना अनलाइन पत्रिकाहरूमा पुगेपछि त्यसले गम्भीर समाचारको रूप धारण गर्यो। सबैभन्दा पहिला सभासद्को गुटको पार्टी नेता हडबडाउँदै अस्पताल लागे। त्यसपछि सम्बन्धित गुटका कार्यकर्ता। अनि, बल्ल अर्काे गुटका पार्टी नेता अस्पतालतिर दगुरे।
सभासद् संस्थागतलाई कुनै रोग लागेको थिएन। सभासद् भएको तीन महिनापछि टाउको दुखेर जँचाउन जाँदा डाक्टरले उच्च रक्तचापको समस्या देखापर्ने संकेत गराएका थिए। तर, त्यसभन्दा पछाडि पाँचसात पटक नै जँचाउदा त्यस्तो कुनै गम्भीर समस्या देखिएको थिएन। आजसम्म उनको शरीरमा कडा खालको औषधि परेको कसैलाई थाहा छैन। पार्टी संगठनमा खटिँदा गर्मीको मौसममा काछ लाग्ने गरेको मात्र नेता÷कार्यकर्तालाई थाहा थियो।
संस्थागत जिल्ला तहमा इमानदार नेताका रूपमा परिचित छन्। स्थानीय चुनाव भए जिल्ला उपसभापतिसमेत होलान् भन्ने जिल्लावासीको अनुमान थियो। तर, संविधानसभामा भित्रिएको समानुपातिक प्रणालीले संस्थागतलाई सभासद् नै बनाइदियो। पार्टीले जनताजातिको कोटा पूरा गर्नैपर्ने कठोर बाध्यताको बीचमा उनी माननीय बन्न पाएका थिए। संस्थागतले पनि एक बारको जुनीमा माननीय बन्न पाउँला भन्ने सोचेकासम्म थिएनन्। पार्टीले समानुपातिक सभासद् पसलबाट धेरैजसो कोटा राम्रो मुनाफासहित व्यापार गरेको थियो। समानुपातिक कोटा व्यापारी र डलरबाजहरूलाई व्यापार गरिएको थियो भने उच्च नेताका आफन्तजन र प्रियजनहरूले सौगातस्वरूप उपभोग गर्न पाएका थिए। भनिन्छ, अति गर्नू, अत्यचार नगर्नू। यो कुरो देश हाँक्ने ताकत भएको पार्टीले नबुझ्ने कुरै थिएन। जनतालाई देखाउनकै लागि भने पनि संस्थागतजस्ता एकदुईजनालाई माननीय बनाउनुपर्ने पार्टीगत आवश्यकता थियो। र, यसरी संस्थागत जनजाति माननीय बन्न पुगेका थिए।
पार्टीले माननीयको लिस्टमा राखेर आफ्नो नाम सार्वजनिक गर्दा उनलाई सुरुमा त पत्यारै लागेन। किनकि, केन्द्रमा खास चल्ने खास नेता उनका कोही पनि थिएनन्। समानुपातिकको बन्द सूचिमा आफ्नो नाम पारिए पनि हात्तीका चपाउने र देखाउने दाँत दुईथरी हुन्छन् भन्ने उनलाई राम्रोगरी थाहा थियो।
आफू सभासद् भएको थाहा पाएपछि उनी जिम्मेवारीबोधले गम्भीर भएका थिए। मनमनै संविधान बनाइछाड्ने संकल्प गरेका थिए। संविधानसभा भाग–१ को बदनामीबारे उनीजस्तो राजनीतिक जीव जानकार नहुने कुरै थिएन। त्यसैले त्यस्तो विकृतिबाट जोगिन उनले योजना बनाएका थिए।
आज पनि उनी दिनभर संविधानसभामै थिए। संविधान निर्माणमा ढिलाइ हुनमा शीर्ष नेताहरूको कमजोरी रहेको भन्दै संविधानसभामा बोल्ने केही सभासद्हरूले चर्काे आलोचना गरेका थिए। यो आलोचनालाई समर्थन गर्दै संस्थागतले पनि दिल खोलेर ताली बजाएका थिए। शीर्ष नेतालाई दबाब दिन सभासद्हरू लाग्नुपर्ने गाइँगुइँ संविधानसभामा सुरु भएको थियो। उनलाई पनि नेताहरूलाई दबाब दिएरै भए पनि संविधान समयमै बनाउनुपर्छ भन्ने लागेको थियो।
संस्थागतलाई सभासद् भइसकेपछि आफूले लिएको संकल्पले बारम्बार लखेट्न थालेको थियो। अर्काेतर्फ उनलाई भेट्ने र चिन्नेहरूले सयौँ पटक सोधेका थिए – 'माननीयज्यू, माघ ८ मै संविधान बन्छ त ?' सुरुसुरुमा त उनले बडो आत्मविश्वासका साथ संविधान बन्छ भनेका थिए। तर, तीनचार महिनादेखि उनको आत्मविश्वासले काम गर्न छाडेको थियो। कसैले पनि संविधान बन्ने प्रश्न नसोधून् भन्ने उनलाई लागेको थियो। तर, झन् पछिल्लो समय त संविधान निर्माणको प्रश्न सोध्नेहरूको संख्या अकल्पनीय रूपमा बढेको थियो।
हुन त संस्थागतलाई समयमै संविधान बन्छ कि बन्दैन भन्ने विषयमा थोरै पनि थाहा थिएन। उनले संविधान निर्माणको कुनै मेलोमेसो नै पाउन सकेका थिएनन्। काठमाडौँ भित्रिएपछि संविधान निर्माणको सन्दर्भबाहेक उनले धेरै कुरा थाहा पाए। नेताहरूको बसउठ कस्ता मानिसहरूसँग हुन्छ ? नेपाली राजनीतिमा गुण्डावाद र तस्करवादको कस्तो प्रभाव छ ? नेताहरूमा बोल्ने र गर्नेबीच कति लामो दूरी रहन्छ ? यस्ता विषयमा उनी पूर्ण जानकार भइसकेका थिए। तर, संविधान निर्माण समयमा हुन्छ कि हुँदैन भन्ने विषय उनलाई थाहा थिएन। आफू पूर्ण अज्ञात रहेको विषयमा नै पत्रकार, कार्यकर्ता र जनताले बारम्बार प्रश्न गरिदिँदा उनी हुनसम्म हैरान भएका थिए।
तीन साँझ अगाडिको कुरा हो। घर छिर्नेबित्तिकै संस्थागतकी श्रीमतीले सोधेकी थिइन्, 'पल्लो घरको माथिल्लो फ्याटमा बस्ने दिदीको छोराको बिहे माघ ८ गतेलाई जुर्यो रे। उनी माघ ८ गते बिहे गरौँ कि नगरौँमा रहिछिन्। उनी मलाई भन्दै थिइन्, 'तिम्रो बुढालाई सोधिदेऊ न, आठ गतेलाई बिहे गर्दा के होला ?'
श्रीमतीको सोधाइले संस्थागत अलमलिए। उनले झर्कंदै श्रीमतीलाई भने – 'के नचाहिएको प्रश्न गरेकी ?'
'हो भन्या, माघ ८ मा संविधान बन्यो भने त बन्द/हडताल नहोला। नबनेर गाडी चलेन भने बिहे गर्न नै गाह्रो हुन्छ भनेर दिदीले तपाईंलाई सोधिदेऊ न भनेकी हुन्। म उनलाई के भन्दिऊँ ?'
श्रीमतीको कुराले संस्थागत नराम्ररी तिलमिलाए। केही जवाफ दिन सकेनन्। उनी लाचार देखिए।
आज पनि मडुवा खैनी किन्न रासनपसलमा छिर्दा पसलेले मडुवा दिनुभन्दा पहिला संस्थागतलाई सोधेको थियो, 'माननीयज्यू, संविधान बन्छ कि बन्दैन ?'
पसलेको प्रश्नले उनलाई उकुसमुकुस भएर आयो। सबैतिर अँध्यारो देखे। केही बोल्न खोज्दाखोज्दै उनी बोल्न नसकेर भक्लक्कै ढले।
अस्पतालमा पुगेको केही समयपछि संस्थागतको होस फिर्यो। जाँचका क्रममा उनको शरीरमा कुनै पनि समस्या देखिएन। समस्या पत्ता लगाउन डाक्टरले संस्थागतसँग निकै विषयमा सोधखोज गरे। अन्त्यमा डाक्टरले पुर्जामा लेखे, 'मेडिकल विज्ञानका दृष्टिले संस्थागत जनजाति पूर्ण रूपमा स्वस्थ छन्। उनको शरीरमा कुनै पनि समस्या देखिँदैन। संस्थागतले बताएअनुसार उनी अस्वस्थ हुनुको पछाडि राजनीतिक कारण जिम्मेवार छ। तसर्थ उनको उपचार पनि राजनीतिक उपचारको पद्धतिबाट गर्दा राम्रो हुन सक्छ।'
प्रकाशित: १० पुस २०७१ ११:५८ बिहीबार





