'अष्ट धातुले बनेको भनिएको पुरातात्विक महत्वको बहुमूल्य गौतम बुद्धको मूर्ति समात्न सफल भएका छौं,' सुदुरपश्चिम प्रहरीको क्षेत्रीय अपराध अनुसन्धान समुह सेतीका संयोजक प्रहरी निरीक्षक सिद्धराज न्यौपानेले भने।
बहुमूल्य बुद्ध मूर्ति बेच्न लागेको सुचना पाएपछि प्रहरीले पिछा गर्न सुरु गरेको थियो। खरिद गर्ने व्यक्तिको नजिक रहेर प्रहरीले खोजी सुरु गरेको थियो। उक्त बहुमुल्य मूर्तिको ३ करोडमा मोलतोल भएको प्रहरीले बताएको छ। 'बहुमुल्य अष्ट धातुले बनेको भन्दै उक्त मूर्तिको तीन करोडमा मोलतोल भइरहेको बेला हामीले समातेका हौं,' प्रहरी निरीक्षक न्यौपानेले बताए ।
अष्ट धातुको भए नभएको पुष्टि नभएपनि ११ किलोग्राम तौल भएको उक्त मूर्ति पुरातात्विक महत्वको रहेको उनले बताए।
प्रहरीको क्षेत्रीय अपराध अनुसन्धान समुह,जिल्ला प्रहरी र वडा प्रहरीको संयुक्त टोली गएर बुधवार धनगढी नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकै रहेको मिठ्ठु स्वाँरको घरबाट बहुमूल्य धातुले बनेको बुद्धको मूर्ति समातेको हो । प्रहरीले स्वाँरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
बिहीबार स्वाँरलाई आदलतमा मुद्दा दर्ता गरेर म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक बिक्रम चन्दले बताए ।
'हामीले पुरातात्विक मूर्ति चोरीमा मुद्दा दर्ता गरेर अदालतवाट १० दिनको म्याद थपेर हिरासतमा राखेका छौं,' प्रहरी उपरिक्षक चन्दले भने, 'बहुमूल्य मूर्तिको वारेमा विस्तृत अनुसन्धान भइरहेको छ ।'
प्रकाशित: २५ मंसिर २०७१ ०५:३२ बिहीबार





