coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ओरिजिनल चित्र जापानमा, नेपालमा कपी प्रदर्शन

काठमाडौं - महाराजगञ्जस्थित काठमाडौं आर्ट ग्यालरीको भित्तामा चित्रकार लोक चित्रकारका एक सय आठवटा लोकेश्वरमा आधारित र अन्य चारवटा ठूला पौवा चित्र प्रदर्शनीमा राखिएका छन्। गत पुस २६ देखि यही माघ २६ सम्म हुने प्रदर्शनीको आयोजना उजेन नोर्वु गुरुङले गरेका हुन्।

‘नेपालमा चित्रकला प्रदर्शनी गर्दा सामान्य रूपमा झुन्ड्याउने प्रचलन छ,’ आयोजक गुरुङ भन्छन्, ‘म यो प्रचलनलाई परिवर्तन गर्न चाहन्छु, चित्र झुन्ड्याउँदा पनि त्यसको अर्थ होस्, आकर्षक होस्, हेर्दा नै आनन्द लागोस् भन्ने मलाई लाग्छ ।’‘लोक’ शीर्षकको एकल कला प्रदर्शनीमा चित्रकारले १२ वर्षको उमेरमा बनाएको ‘गणेश’ शीर्षकको चित्र पनि समावेश छ।

पौवा चित्रकलामा चार दशक बिताइसकेका चित्रकार भन्छन्,  ‘एकैचोटि कुनै पनि चित्र राम्रो र आकर्षक बन्न सक्दैन। राम्रो चित्र तयार हुन धेरै समय लाग्छ, त्यसैले यहाँ मैले १२ वर्षको उमेरदेखि पछिल्लो कालमा बनाएका चित्रहरु छन्।’ आफूले भोगेका तीतामीठा अनुभवलाई पनि यी चित्रमा व्यक्त गरिएको उनको भनाइ छ। चित्रकार भन्छन्, ‘चिन्तामणि शीर्षकको चित्रमा गरिब मानिसले सफल हुन गरेको संघर्षलाई देखाउन खोजेको छु।’

पौवा चित्रमार्फत बनाइएका लोकेश्वरका एक सय आठ ओरिजिनल पेन्टिङ जापानमा छन्। यहाँ प्रदर्शन गरिएको त हाई क्वालिटीका प्रिन्ट मात्र हुन्।  आयोजक गुरुङ भन्छन्, ‘प्रिन्ट गरिएका यी एक सय आठ वटाको सेटको मूल्य आठ लाख रुपैयाँ राखिएको छ।’ यी सबै चित्रमा मानिसका करुणा, संवेदना समेटिएको चित्रकारको भनाइ छ। पौवा चित्र परम्परागत शैली र प्रविधिमा आधारित अमूर्त कला भएकाले यसको जर्गेना गर्नुपर्ने चित्रकार बताउँछन्।

‘परम्परागत कलाका विषयमा शैक्षिक क्षेत्रमा अहिले थोरै मात्र विकास भएको छ, त्यसलाई मनग्गे विकास भएको भन्न मिल्दैन,’ चित्रकार भन्छन्, ‘नेपाली परम्परागत कलाको यही अवस्था रहे लोप नहोला भन्न सकिन्न।’ विगतमा धार्मिक प्रयोजनका लागि मात्रै पौवा चित्रको प्रयोग हुने भए पनि आगामी दिनमा आनन्द र अनुभूतिका लागि यसलाई लिनुपर्ने उनको सुझाव छ।

प्रकाशित: १८ माघ २०७६ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App