१ वैशाख २०८२ सोमबार
image/svg+xml ३:५२ पूर्वाह्न
समाज

डढेलो भविष्यवाणी गर्न एआई

इजरायलका अनुसन्धानकर्ताले चट्याङका कारण लाग्ने वन ढडेलोको भविष्यवाणी गर्ने कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलको विकास गरेका छन्। जलवायु परिवर्तनका कारण सिर्जित विषम मौसमी चक्रका कारण पछिल्ला वर्षहरूमा चट्याङका घटनाहरू बढेको मानिन्छ।

इजरायलको बार–इलान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकास गरेको यो एआई मोडेलले कहाँ र कहिले चट्याङ पर्दा डढेलो लाग्ने सम्भावना बढी हुन्छ भनेर ९० प्रतिशतको हाराहारीमा मिल्ने गरी पूर्वानुमान गर्न सक्ने बताइएकोछ। अनुसन्धानकर्ताले विकास गरेको यो मेसिन लर्निङ मोडेलबाट विश्वव्यापी रूपमा चट्याङबाट लाग्ने वन ढडेलोको पूर्वानुमान गर्न सकिने र यसले वन डढेलो न्यूनीकरण र प्रतिकार्यका लागि शक्तिशाली उपकरणको काम गर्ने बताइएको छ। 

बार–इलान विश्वविद्यालयका कम्प्युटर विज्ञान विभागका डा. ओरेन ग्लिकम्यान तथा डा. असाफ समुएलले एरियल र तेल अभिभ विश्वविद्यालयका विज्ञहरूसँगको सहकार्यमा उक्त मोडल बनाएको नेपालस्थित इजरायली राजदूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। यो मोडेल बनाउने क्रममा विश्वव्यापी स्तरमा चट्याङबाट हुने डढेलोको जोखिमलाई नक्सांकन र भविष्यवाणी गर्न स्थानीय वनस्पति, मौसमी ढाँचा र स्थलाकृतिजस्ता विस्तृत वातावरणीय कारकहरूसँगै विगत सात वर्षका भूउपग्रहमा आधारित विश्वव्यापी तथ्यांकको सहयोग लिइएको थियो।

उनीहरूको यो अध्ययन हालै ‘साइन्टिफिक रिपोर्टस्’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ। यसअघि परम्परागत रूपमा अवलम्बन गरिँदै आएको आगो खतरा सूचकहरूको तुलनामा यो मोडेल निकै उपयोगी हुने वैज्ञानिकले बताएका छन्। उपग्रहमा आधारित तथ्यांक, मौसम प्रणालीहरू र वातावरणीय कारकहरूको तथ्यांक यो मोडेलमा एकीकृत गरिएको उनीहरूको दाबी छ। मोडल बनाउने क्रममा सन् २०२१ मा भएका वन ढडेलोका तथ्यांकलाई परीक्षण गर्दा ९० प्रतिशतभन्दा बढीले मिलेको थियो। यसले विश्वव्यापी रूपमा आपतकालीन प्रतिकार्य र प्रकोप व्यवस्थापनलाई रूपान्तरण गर्न सक्ने मानिएको छ।

हाल विश्वमा जलवायु परिवर्तनको गति बढ्दै जाँदा चट्याङ, आँधीबेहरी, गर्मी र सुक्खापनलगायत चरम मौसमी घटनाहरू बारम्बार र तीव्र हिसाबले घटित हुने गरेका छन्। कतिपय वन डढेलोका लागि मानव सिर्जित कारणहरू जिम्मेवार रहे पनि दुर्गम क्षेत्रहरूमा चट्याङ पर्दा अप्रत्यासित र घातक परिणामहरू भोग्नुपर्छ। चटयाङजन्य वन ढडेलो कैयौं दिनसम्म थाहा नपाउने गरी भित्रभित्रै सल्कने र बिस्तारै अग्नि नियन्त्रकले नियन्त्रण गर्न नसक्ने हिसाबले अनियन्त्रित र विस्फोटक हुन सक्छन्। 

अगस्ट २०२० मा उत्तरी क्यालिफोर्नियामा लागेको विनाशकारी डढेलो चट्याङबाट सुरु भएको थियो, जसले १५ लाख एकडभन्दा बढी जमिन जलाएको थियो र दर्जनौंको ज्यान लिएको थियो। चट्याङ लागेको आगलागीको भविष्यवाणी गर्ने क्षमतामा सुधार हुँदा सम्बद्ध देशका मौसम विज्ञान कार्यालय, अग्नि विभाग र आपतकालीन योजनाकारले स्मार्ट र प्रभावकारी रूपमा प्रतिक्रिया दिन सक्ने मानिएको छ। यसले ठुलो स्तरमा आर्थिक नोक्सानी, जीवन बचाउने र पारिस्थितिक प्रणालीहरूको सुरक्षा गर्न सक्ने अनुसन्धानकर्ताको दाबी छ। यसअघिका मोडलहरू मानव गतिविधिबाट हुने वन ढडेलोको भविष्यवाणी गर्न प्रभावकारी रहे पनि चट्याङका कारण कारण दुर्गम स्थानमा हुने वन डढेलोको आकलन गर्न त्यति प्रभावकारी थिएनन्। 

यो एआई मोडेल अझै वास्तविक–समय पूर्वानुमान प्रणालीमा एकीकृत नभए पनि यसको विकासले वन डढेलोको पूर्वानुमानमा कोसेढुंगा हुने अनुसन्धानकर्ता डा। समुएलको दाबी छ।

‘हामी जंगली आगो प्रज्वलनका जटिलताहरू बुझ्ने क्रममा एक महत्वपूर्ण बिन्दुमा पुगेका छौं,’ बार–इलान विश्वविद्यालयका कम्प्युटर विज्ञान विभागका डा। ग्लिकम्यानले भनेका छन्, ‘जलवायु परिवर्तनको बढ्दो प्रभावको पृष्ठभूमिमा यसको प्रभावहरू राम्रोसँग बुझ्न र भविष्यवाणी गर्न नयाँ मोडेलिङ आवश्यक पर्छ। मेसिन लर्निङले यी प्रयासहरूलाई बढाउन महत्वपूर्ण सम्भावना राख्छ।’

प्रकाशित: २६ चैत्र २०८१ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App