११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

सकियो ‘चैते दसैं मेला’

चैत २० गतेबाट सुरु भएको चैत्राष्टमी मेलाले सोमबार बिट मारेको छ। यो सालका लागि चैते दसैं मेला औपचारिक रूपमा सकिएको छ। चैते दसैंका अवसरमा आयोजित मेलामा महिला पुरुष भलिबल, लोकदोहोरी गीत प्रतियोगिता, छेलो फाल्नेलगायतका प्रतियोगितात्मक कार्यक्रम भए। 

यसपटक गुठी संस्थानसँगको समन्वयमा धार्मिक सम्मेलन पनि गरियो। चैत्राष्टमीका अवसरमा औपचारिक रूपमा मेला आयोजना गर्न थालिएको ३२ वर्ष पुगेको छ। यस बिचमा यहाँको मेलाको मुख्य आकर्षण लोकदोहोरी गीत प्रतियोगिता हुने गरेको छ।

चैत्राष्टमी मेलाको सुरुवात पनि दोहोरी गीत प्रतियोगिताको आयोजनाबाट भएको इतिहास छ। त्यसले गर्दा पनि हरेक वर्ष मेलामा दोहोरी गीत प्रतियोगिता अनिवार्य रूपमा समेट्ने गरिएको छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का भन्छन्, ‘चैत्राष्टमी मेलामा हामीले एक वर्ष दोहोरी प्रतियोगिता नराखेर लाइभ दोहोरी राख्यौं, तर त्यसप्रति दर्शकको खासै रुचि देखिएन’, उनले भने, ‘आम दर्शक र श्रोताको गुनासोपछि हामीले दोहोरीलाई प्रतियोगिताकै रूपमा निरन्तरता दिएका छौं। यस वर्ष पनि कार्यक्रमको मुख्य आकर्षणमध्ये दोहोरी गीत प्रतियोगिता रह्यो।’

लोकदोहोरी गीत प्रतियोगिताको जन्मदाता नै चैत्राष्टमी मेला भएकाले यसलाई निरन्तरता दिनेमा आफूहरू अझ गम्भीरताका साथ लागेको उनी बताउँछन्। ‘दोहोरीलाई प्रतियोगिताका रूपमा सुरुवात गर्ने काम चैते दसैं मेलाबाटै भएको हो। त्यसले गर्दा पनि यसलाई निरन्तरता दिनेमा हामी संवेदनशील छौं’, उनले भने, ‘विभिन्न दाताको सहयोगमा कार्यक्रम गर्नुपर्ने भएकाले भनेजस्तो गरी कलाकारहरूलाई सेवासुविधा दिएर बोलाउन सकेका छैनौं। पुरस्कार राशिकै भरमा प्रतियोगी कलाकार आउनुहुन्छ।’ हरेक वर्ष दोहोरी गीत प्रतियोगितामा २०-२५ समुह हुने गरेको उनी बताउँछन्। यो वर्ष दुई लाख प्रथम पुरस्कार राखेर दोहोरी गीत प्रतियोगिता आयोजना गरियो।

विगतमा स्वतस्फूर्त मानिस जम्मा भएर समुहमा दोहोरी गाउने चलन भए पनि २०४९ सालमा पहिलोपटक दोहोरी गीत प्रतियोगिता आयोजना गरी चैत्राष्टमी मेला थालनी गरिएको बागलुङका पुराना कलाकार शुभराम भारी बताउँछन्। ‘दोहोरीलाई प्रतियोगिताका रूपमा सुरु गर्ने काम हामीले चैते दसैं मेलाबाट गरेका हौं’, हाम्रो पहिलो कार्यक्रम नै दोहोरी गीत प्रतियोगिता थियो’, उनले भने, ‘हामीले गलेश्वर गएका बेला दुई समुह भई भाले बाजी राखेर दोहोरी खेलेको देख्यौं। त्यसले हामीलाई दोहोरी गीत प्रतियोगिता गर्ने प्रेरणा दियो। पहिले–पहिले अनौपचारिक दोहोरी त हुन्थ्यो, तर औपचारिक रूपमा दोहोरी गीत प्रतियोगिता भएको चैते दसैं मेलाबाटै हो।’

चैते दसैं मेला स्थानीय उत्पादनको किनबेच, धार्मिक तीर्थाटन र तरुना–तन्नेरी भेटेर गीत गाउने र मनको धोको फर्ने थलोका रूपमा विकास भएको थियो। विगत सम्झँदै भारी भन्छन्, ‘हामी साना हुँदा त हप्तौं दिनसम्म मेला स्वत:स्फूर्त रूपमा लाग्यो, आआफ्नो समुह बनाएर डम्फु मादल र खैंजडी बजाउँदै झाम्रे, यानीमाया र सालैजो र चुट्के गीत गाउँथे, कोही रूखका छहारीमा बस्थे, कोही खेतका कुनामा हुन्थे त कोही टौमुनि बसेर गीत गाउँथे।’

आफूहरूले दोहोरी गीतलाई प्रतियोगिताको थालनी गरेपछि देशका विभिन्न ठाउँबाट आउने प्रतियोगीको लर्को लागेको उनी बताउँछन्। ‘त्यो बेला चैते दसैं मेलामा ४२ टिमसम्म दोहोरी भएको थियो। हामीले उनीहरूलाई खान–बस्नका लागि दुई सय रूपैयाँ भत्ता दिन्थ्यौं। पुरस्कार त त्यही १०—१५ हजार हुन्थ्यो’, कलाकार भारी भन्छन्। पहिले–पहिले भव्य हुने मेला विस्तारै हराउने जोखिम बढ्दै गएपछि २०४९ सालबाट औपचारिकता दिएको तत्कालीन मेला व्यवस्थापन समितिका सदस्य–सचिव हरिप्रसाद श्रेष्ठ बताउँछन्।

‘कृष्णराज अधिकारी तत्कालीन कालिका गाउँ विकास समितिको अध्यक्ष थिए। उनलाई अध्यक्ष बनाएर म आफैं सदस्य–सचिव, विराट साहु बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष थिए उनी कोषाध्यक्ष र विश्वनाथजीलाई दोहोरी गीत प्रतियोगिताको संयोजक बनाएर हामीले मेला थालनी गरेका हौं’, उनी भन्छन्, ‘त्यो बेलामा शुभराम भारीलगायतका युवकहरूलाई साथमा लिएर चैत्राष्टमी मेला सुरुवात गरेका थियौं। पछि यसलाई महोत्सवका रूपमा पनि विकास गरियो। पहिले उद्योग वाणिज्य संघ हुँदै र अहिले कालिका मन्दिर व्यवस्थापन समितिले सञ्चालन गर्न थालेको छ।’

स्वतस्फूर्त रूपमा हुने मेला हराउँदै जाने अवस्थामा पुगेपछि आफूहरूले मेलाको थालनी गरेको उनी बताउँछन्। ‘पहिला भव्य मेला हुन्थ्यो। कसैले आयोजना नगरे पनि आफैं मानिसहरू आउँथे। विभिन्न समुह बनाएर मौलिक गीत–संगीत गाउँथे। पछि त हराउँछ कि भन्ने स्थिति आयो। हामीले पुरानै जस्तो नसके पनि केही त प्रयास गर्नुपर्छ भनेर दोहोरी गीत प्रतियोगिता राखेर मेला थालेका हौं’, उनले भने। त्यो बेलामा धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङका साथै रुकुम, गुल्मी र भारतको गोरखपुरबाट समेत मानिस मेला भर्न र व्यापार गर्नका लागि आउँथे। चैते दसैं मेला युवकयुवतीको प्रेम साट्ने थलो पनि थियो। त्यसैले त विमला क्षेत्री र शर्मिला गुरुङले गीत नै गाएका छन्, ‘चैते दसैं मेलैमा, माया बस्यो ख्यालख्यालैमा।’

चैते दसैंमा युवकयुवती आफ्नो आफ्नो समुह बनाएर हप्तौं दिनसम्म गीत गाउने र यहाँ बस्ने गरेको संस्कृतिकर्मी वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ बताउँछन्। ‘चैते दसैं युवकयुवतीको भेट हुने ठाउँ पनि थियो, चैते दसैंमा बागलुङमा भेट हुने भनेर वाचा–बन्धन गरेर छुट्टिन्थे’, उनी भन्छन्, ‘पुरुषहरू डम्फु र मादल बोकेर आउँथे। महिला सेलरोटी, केराउ र भटमासमा बिरौंला, अन्डा फ्राई गरी रोटीजस्तो बनाएर ल्याउँथे। बाँडेर खान्थे, गीत गाउँथे। अर्को वर्ष भेट्ने वाचा गरी छुट्टिन्थे।’

किम्वदन्तीअनुसार १५९१ सालमा पर्वते राजा प्रतापिनारायण मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरी विवाह गरेर ल्याउँदा दाइजोस्वरूप ल्याएको (माझकी देवी) कालिका भगवतीको मुर्ती अहिले मन्दिर स्थापना गरिएको ठाउँ बागलुङ नगरपालिका वडा नं १ मा बिसाएपछि उठाउन नसकेर त्यहीं मन्दिर स्थापना गरी पूजा थालिएको पाइन्छ। राजकुमारीको निकै प्रिय भएकाले माझकी देवीलाई पाल्पाका राजाले छोरीसँगै पठाएका थिए।

तर त्यतिबेलाको पर्वते राज्यको राजधानी हालको म्याग्दीको ढोलठानामा पुर्‍याउन नपाएपछि दु:खी भएकी रानीलाई खुसी पार्न राजा प्रतापिनारायण मल्लले नै चैते दसैंमा मेला लाग्ने र राजपरिवार आएर यहाँ पूजा गर्ने चलन चलाएको बताइन्छ। त्यतिबेला राजपरिवारका व्यक्ति आउँदा उनीहरूका भाइ भारदार पनि आउने र उनीहरूबिच शक्ति प्रदर्शनको खेल हुने गरेको इतिहास खोजकर्तासमेत रहेको वरिष्ठ अधिवक्ता श्रेष्ठ बताउँछन्।

‘राजपरिवारले नै मेला भर्न आह्वान गरेपछि चारैतिरबाट यहाँ मान्छे आउँथे। त्यो बेलामा घोडचढी, छेलो फाल्नेलगायतका शक्ति प्रदर्शन गर्ने खेलको आयोजना हुन्थ्यो’, उनी भन्छन्, ‘आदिवासी जनजाति समुदायको धनुषवाण पनि त्यो बेलामा प्रदर्शन हुन्थ्यो।’ त्यो बेला पश्चिम बागलुङ र रुकुम क्षेत्रबाट राडीपाखी, मध्य बागलुङ र आसपासका क्षेत्रबाट डोका, डाली, नाङ्ला थुन्चे, ठेका भाँडालगायत घरेलु उत्पादन लिएर आउने, मुस्ताङका थकाली समुदायले यहाँ भट्टी स्थापना गरेर मेला भर्न आएकालाई खाना खुवाउने तथा भैरहवा र गोरखपुरबाट मरमसला ल्याएर व्यापार गर्ने गरेको उनी बताउँछन्।

पछिल्लो समय घरेलु उत्पादनका सामग्री चैत्राष्टमी मेलामा कम आउन थालेका छन्। थोरै आएका स्थानीय उत्पादनले पनि बजार नपाएको गुनासो छ। गीत संगीत र सांगीतिक कार्यक्रम मञ्च केन्द्रित भएको छ। अहिले सहभागी श्रोता र दर्शकका रूपमा मात्रै उपस्थित हुन्छन् भने राष्ट्रिय कलाकार मञ्चीय प्रस्तुति मात्रै हुने गरेको छ। चैत्राष्टमी मेलामा स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नेभन्दा पनि नाम चलेका कलाकारलाई लाखौं रकम तिरेर ल्याउने उनीहरूलाई मात्रै मञ्च उपलब्ध गराउने गर्दा चैते दसैं मेलाको आफ्नो मौलिकता गुमाउँदै गएको कतिपयले गुनासो गर्ने गरेका छन्।

प्रकाशित: २६ चैत्र २०८१ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App