११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

जैविक विवधिता, प्राकृतिक तथा सनातन साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्यो मेरिङदेन

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले तीनजुरे–मिल्के–जलजले (टिएमजे)को पालिका क्षेत्रमा पर्ने भू–भागमा उपलब्ध जैविक विवधिता, प्राकृतिक तथा सनातन साँस्कृतिक सम्पदाको संरक्षणका लागि अभियान चलाउने भएको छ।

गाउँपालिकाले सामुदायिक जैविक साँस्कृतिक सम्पदा संरक्षित पर्यापर्यटकीय विशेष क्षेत्र व्यवस्थापन कार्यविधि जारी गर्दै समुदायको सहभागितामा कार्यक्रम अघि बढाउने निर्णय लिएको छ। गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगामका अनुसार गाउँपालिकामा बसोबास गर्ने स्थानीय समुदायलाई समेत सक्रिय सहभागी गराई पालिकाको जैविक तथा साँस्कृतिक सम्पदाहरूको संरक्षणका अभियान अघि बढाइने छ। कार्यविधिमा जैविक तथा साँस्कृतिक सम्पदाहरूको विशेष क्षेत्र सम्बन्धी व्यवस्था गरिएको छ।

पालिका अध्यक्ष सामुदायिक जैविक साँस्कृतिक सम्पदा संरक्षित पर्यापर्यटकीय विशेष क्षेत्रको संरक्षक रहने छन् भने उपाध्यक्ष सहसंरक्षक रहने व्यवस्था गरिएको छ। जैविक साँस्कृतिक सम्पदालाई हानी नोक्सानी गर्ने तथा थप भौतिक पूर्वाधार निर्माणलाई निरुत्साहित गर्दै पर्यापर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, पर्यावरणीय क्षेत्र, जैविक विविधता, तालतलैया, जलाधार, पिटल्याण्ड, सीमसार क्षेत्र, जीवजन्तुको संरक्षण गर्ने र टीएमजे क्षेत्रको स्वामित्व स्थापित गर्ने सहितका १२ वटा मुख्य उद्देश्य राखेर कार्यविधि जारी गरिएको पालिका अध्यक्ष हाङगामले जानकारी दिए।

कार्यविधि अनुसार जैविक साँस्कृतिक सम्पदा रक्षार्थ अनुमति प्राप्त गरी वैज्ञानिक अनुसन्धानको निमित्त नमूना संकलन बाहेक अन्य अवस्थामा कुनै पनि जीवजन्तु, पंक्षी वा जलचरलाई मार्न, पक्रन, लखेट्न, तर्साउन वा चोटपटक पार्न, धरापमा पार्न पासोमा पार्न वा सोको उद्योग गर्न पाइने छैन।

यस्तै विशेष क्षेत्रभित्र कुनै पनि किसिमको कीटनाषक विषादी लैजान वा रसायनिक पदार्थको प्रयोग गरी जनावरलाई लठ्याउन, बिषालु पदार्थ फ्याँक्न वा नदी, खोला, ताल, पानीको कुनै स्रोत वा सिमसारमा मिसाउन प्रतिबन्ध गरिएको छ। प्लाष्टिकका बोतल, प्लाष्टिकजन्य झोला तथा खोलहरू र यस्तै अन्य वातावरण प्रदूषण गर्ने सामग्री प्रयोगमा ल्याई जथाभावी फाल्न र अनुमति बेगर निषेधित क्षेत्रमा प्रवेश गरी जथाभावी आगो बाल्न र डढेलो लगाउन समेत बन्देज गरिएको छ।

विशेष क्षेत्र वा आसपासमा रहेको कुनै पनि भौतिक तथा पुरातात्विक महत्वका संरचनालाई क्षति पुर्याउन तथा भू–क्षय जस्ता प्राकृतिक प्रकोप निम्तने कुनै पनि किसिमको कार्य गर्न, ध्वनी प्रदूषणजन्य सामग्रीको प्रयोग गर्न, कुनै पनि किसिमको चिह्न, संकेत वा विज्ञापनका सामग्री अनुमति बेगर राख्न समेत प्रतिबन्ध गरिएको छ। स्थानीय सनातन धर्म संस्कृति, परम्परा, जीवजन्तु तथा प्रकृतिलाई असर पर्ने कुनै पनि किसिमको भौतिक संरचना निर्माण गर्न र मिचाहा प्रजातिका तथा नेपाल सरकारले निषेध गरेका पशुपंक्षी वा बोटबिरुवा विशेष संरक्षित क्षेत्रभित्र ल्याउन वा छाड्न समेत कार्यविधिले प्रतिबन्ध गरेको छ। प्राकृतिक तथा साँस्कृतिक सनातन सम्पदालाई हानी नोक्सानी हुने गरी डोजर वा एक्साभेटर चलाउन समेत कार्यविधिले प्रतिबन्ध गरेको छ।

विशेष संरक्षित क्षेत्रको चारकिल्ला समेत निर्धारण गर्दै पालिकाले यो क्षेत्रमा रहेका वन्यजन्तुलाई अवैध रूपमा छेक्न, थुन्न वा बन्धक बनाएर राख्न समेत निषेध गरेको छ। गाउँपालिकाको पूर्व स्वीकृति बेगर विशेष संरक्षित क्षेत्रमा बृत्तचित्र निर्माण र छायाङ्कन लगायतका कार्य गर्न समेत नपाइने भएको छ। विशेष संरक्षित क्षेत्रभित्र रहेका पानीका स्रोतहरूलाई खानेपानी वा सिँचाइका लागि अन्य लैजान र उक्त क्षेत्रभित्र लघु तथा साना जलविद्युत् आयोजना सञ्चालन गर्न समेत प्रतिबन्ध गरिएको छ।

प्रकाशित: २६ चैत्र २०८१ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App