३१ चैत्र २०८१ आइतबार
image/svg+xml २३:५ अपराह्न
समाज

कार्यसम्पादनमा तेस्रा अधिकारीकै बलियो दाबेदारी

पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणमा सुरु गरेको बढुवा प्रक्रिया विवादमा आउने देखिँदै छ। ११औं तहको कार्य सम्पादन मूल्यांकनअनुसार विनोद न्यौपाने पहिलो, बाबुराम पौडेल दोस्रो वरीयतामा भए पनि तेस्रोमा रहेका प्रदीप अधिकारी पनि यसका बलिया दाबेदार बन्ने देखिँदै छन्। बढुवाका अर्का प्रतिस्पर्धी टेकनाथ सिटौला सिफारिसमै छुटेका छन्।

अधिकारी यसअघि नै प्राधिकरणको महानिर्देशकका रूपमा सेवारत रहेको उनले यो प्रक्रियामा सहभागी हुन पाउँदैनन् भन्ने तर्क पनि एकथरीको छ। तर सिफारिस समितिका संयोजक प्रेमनाथ ठाकुरले महानिर्देशक अधिकारीलाई सिफारिस गर्न मिल्ने बताए। ‘लोकसेवा आयोगलाई बढी थाहा हुन्छ, अहिले डिजी ११औं तहमा हुनुहुन्छ। १२औं तहमा सिफारिस गर्न सके समस्या हुन्छ र?’ ठाकुरले भने। 

११औं तहमा कार्यरत रहेको एक वर्षको मात्र कार्य सम्पादन मूल्यांकन (कासमु) रहेको र तीन वर्षको कासमु महानिर्देशकको देखाई दुई वटा पदको कासमु जोडी १२औं तहमा बढुवाका लागि अधिकारी तेस्रो नम्बरमा सिफारिस भएका छन्। एउटा सिटमध्ये तीन जना सिफारिस गर्न सकिन्छ। एउटै पदमा रहेका टेकनाथ सिटौला पनि यसमा पर्नुपर्नेमा परेनन्। 

‘महानिर्देशक अधिकारीलाई सिफारिस गर्न नियमले बन्देज गरेको छैन। महानिर्देशकको जिम्मेवारीमा गए पनि पुल दरबन्दीमा हुने ठानेर अधिकारीलाई प्रतिस्पर्धी बनाइएको हो। दुई वर्षअघि पनि उहाँको सिफरिस भएको थियो। उहाँले वृत्तिविकास खोज्नु भएको होला,’ प्रतिस्पर्धीमध्येका एक कर्मचारीले भने। प्राधिकरण स्रोतका अनुसार विनोद न्यौपाने, बाबुराम पौडेल र टेकनाथ सिटौला हुनुपर्नेमा प्रदीप अधिकारीलाई ल्याएपछि सिटौला छुटेका थिए।

प्राधिकरणको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को नियम ३.३ को उपनियम १ बमोजिम प्राधिकरणको सेवामा रिक्त रहेको पदमा उपयुक्त उम्मेदवारको छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न गठन हुने पदपूर्ति समितिमा हालका महानिर्देशक अधिकारीलाई महानिर्देशकबाट १२ तहमा बढुवा गर्न उपमहानिर्देशक ठाकुरको संयोजकत्वमा गठित पदपूर्ति समितिमा मन्त्रालयको प्रतिनिधिका रूपमा पर्यटन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रामकृष्ण लामिछाने सदस्यका रूपमा थिए। 

सो पदपूर्ति समितिले गत पुसको अन्तिम साता बैठक बसी बढुवा हुनेको सूची तयार गर्ने काम भएको थियो। पोखरास्थित नागरिक उड्डयन कार्यालयमा कार्यरत उपमहानिर्देशक नवीना कर्माचार्य यही पुस ५ गते अनिवार्य अवकाशमा गएपछि खाली भएको १२औं तहमा उनीहरूको सिफारिस भएको हो। प्राधिकरणको नियमावलीको नियम ६.१४ अनुसार १२औं तहमा बढुवा गर्न पदपूर्ति समितिले कार्य सम्पादन क्षमताका आधारमा रिक्त पदको उपलब्ध भएसम्म तेब्बर संख्यामा सम्भावित उम्मेदवारहरूमध्येबाट कार्य सम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गर्नेलाई सिफारिस गर्नेछ भन्ने उल्लेख छ। 

तर प्रदीप अधिकारी २०७८ माघमा ११औं तहबाट महानिर्देशक भएको नियमावलीको नियम ३.१ को उपनियम ६ मा प्राधिकरणको सेवामा बहाल रहेको कुनै कर्मचारी महानिर्देशक पदमा नियुक्त भए निज बहाल रहेको पदको पदाधिकार स्वत: समाप्त हुनेछ र निजको पदाधिकार पुल दरबन्दीमा स्थानान्तरण हुनेछ भन्ने नियम उल्लेख छ। हाल प्रचलित कुनै पनि नियममा ११औं तह र महानिर्देशक गरी दुई तहको कासमु जोडी बढुवा हुने कहीँ पनि उल्लेख छैन। यसरी कहीँकतै नियममै नभएको बढुवा प्रक्रियालाई अगाडि बढाउन मन्त्रालय तयार भएको छ।

गत माघको अन्तिम साता प्राधिकरणको बोर्ड बैठक मन्त्री पाण्डेको अध्यक्षतामा बसेकोमा सदस्य–सचिवमा महानिर्देशक रहनेमा महानिर्देशककै १२औं तहमा बढुवा गर्ने अजेन्डा रहेकाले १२औं तहमा हाल कार्यरत रहेकामध्ये तेस्रो जुनियर उपमहानिर्देशक हंसराज पाण्डेलाई सदस्य–सचिव बनाई बैठक राखिएको थियो। बैठकमा पर्यटन मन्त्रालयको प्रतिनिधिका रूपमा सहभागी प्राधिकरणको भलो चिताउने सहसचिव इन्दु घिमिरेले महानिर्देशकलाई १२औं तहमा बढुवा गर्न नमिल्ने प्रचलित ऐननियमले नदिने लोकसेवा तथा कानुनसमेतको राय लिनुपर्ने भनेपछि रोकिएको थियो।

प्राधिकरणको नियमानुसार ११औं तहबाट १२औंमा बढुवा हुन लगातार चार वर्षको कासमुमा सबैभन्दा बढी अंक प्राप्त गरेको हुनुपर्छ। महानिर्देशक अधिकारीका हकमा ११औं तहबाट महानिर्देशकमा नियुक्त भएपछि निजको ११औं तह समाप्त भएको र महानिर्देशकको कासमु जोडी १२औं तहमा बढुवाका लागि सिफारिस समितिबाट तेस्रो नम्बरमा सिफारिस हुनुलाई प्राधिकरणभित्रैको एक समूहले स्वाभाविक ठानेको छैन।

प्रकाशित: २६ चैत्र २०८१ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App