इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोतम खड्कले अमर ग्यासका संचालकले डिलरहरुमार्फत बिक्री नगरी मोटो रकम असुलेर सिधै उद्योगबाटै ग्यास विक्री गर्दै आएको बताए। उद्योगबाट शानिवार राती १४ किलो ग्यास भरिएका २० वटा सिलिण्डर ना.४ त १९५१ नं.को ट्रेक्टरमा लोड गरी बिरगञ्जतर्फ लाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो।
ट्रयाक्टर चालक सञ्जय पटेलको बयानका आधारमा अनुसन्धान गर्दा उद्योगले १४ किलो ग्यास भरिएको सिलिण्डरको छ हजार पाँच सयमा बिक्री गर्दै आएको कुरा खुलेको थियो। त्यसपछि उद्योगका संचालक र जिम्मेवार कर्मचारी पक्राउ गरिएको निरीक्षक खडकाले बताए।
एक बुलेट ग्यास उद्योगले ल्याउँदा सरकारले तोकेको ७ किलो प्रति सिलिण्डरमा विक्री गर्दा २४ सय उपभोक्ताले पाउने गर्छन्। उद्योगले सात किलो ग्यास बिक्री नगरी बढी मूल्यमा प्रतिसिलिण्डर १४ किलोसम्म बिक्री गर्दा सर्वसाधारणले पाउन नसकेको गुनासो आएपछि उद्योगको बारेमा पहिलादेखि नै निगरानी बढाइएको खड्काले बताए ।
उद्योगका संचालक घनश्याम क्याल र ग्यासलाई महंगो मूल्यमा किनेर ट्रेक्टरबाट लैजादै गरेको विरगंज उपमहानगरपालिका १९ का विनोद दुबे र उद्योगका कर्मचारी सप्तरी बथनाहा ४ बस्ने रविन्द्र कुमार दास पक्राउ लगायत चार जनालाई पक्राउ गरी कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइएको कुरा खड्काले बताए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक विनोद शर्माले अमर ग्यासबाट पहिलादेखि नै बजारमा ग्यासको अभाव भएको समयमा कालो बजारी गरी महँगो मूल्यमा बिक्री गर्दै आएको सुनाए।
उद्योगका संचालक र जिम्मेवार कर्मचारीहरुको संलग्नतामा शुक्रवार राती ३० वटा १४ किलो ग्यास भरिएको सिलिण्डरहरु हेटौडा पठाइएको खुलेको छ। सर्वसाधारणलाई उद्योगले आफूसँग ग्यास नभएको बताउँदै आएको थियो।
उद्योग गोदाममा १४ किलो ग्यास भरिएका ६० सिलिन्डिर प्रहरीले बरामद गरेको छ। उद्योग हातामा रहेको बुलेटमा दुई सय सिलिन्डर भर्न सक्ने क्षमताको ग्यास रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रकाशित: २० मंसिर २०७२ ०३:५० आइतबार





