२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

'जुवाडे' प्रहरी अधिकृतलाई निलम्वन प्रक्रिया सुरु

नेपालगन्ज–जुवा खालबाट पक्राउ परेका प्रहरी निरीक्षक भरतसिंह राठौरलाई निलम्बन गर्न प्रहरीले प्रक्रिया अगाडि बढाएको छ।

भेरी अञ्चल प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले नेपालगन्ज सुर्खेतरोडस्थित होटल सिटी प्यालेसमा मंगलबार राति जुवा खालमा छापा हान्दा इलाका प्रहरी कार्यालय धनौली खजुराका ईन्चार्ज प्रहरी निरीक्षक राठौरसहित ९ जना पक्राउ परेका थिए।

अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातको नेतृत्वमा पुगेको प्रहरीले उक्त जुवा खालबाट २ लाख ९५ हजार २ सय १० रुपैयाँ बरामद गरेको थियो । पक्राउ लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएका प्रहरी निरीक्षक राठौरसहित नेपालगन्ज–१६ का प्रकाश शाह, नेपालगन्जका अनय शर्मा, रामजी यादव, नेपालगन्ज–५ का दुर्गा अर्याल, विष्णु अर्याल, हेमन्त केसी, दाङ तुलसीपुरका प्रेम शाहविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाइएको मुद्दा शाखा इन्चार्ज हिक्मत बोहराले जानकारी दिए। 'पक्राउ मध्ये आठ जना विरुद्ध हामीले जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाएका छौं,' उनले भने ।

प्रहरी स्रोतका अनुसार प्रहरी निरीक्षक राठौरमाथि दुई वटा कारबाही हुने भएको छ। एउटा जुवा ऐन अन्तर्गत र अर्को विभागीय कारबाही हुनेछ। राठौरलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्तासँगै निलम्बन गर्न पनि प्रक्रिया अगाडि बढाइएको अञ्चल प्रहरी प्रमुख बस्न्यातले बताए। राठौरलाई निलम्बन गर्न विभागीय रुपमा अनुसन्धान भइरहेको उनको भनाइ छ। 'जुवा खालमै पक्राउ परिसकेपछि राठौर निलम्बन हुन्छन,' हामीले विभागीय रुपमा प्रक्रिया अगाडि बढाइसकेका छौं,' बस्न्यातले भने 'कानुनको पालना गर्न सिकाउने प्रहरी अधिकृत आफैले कानुन उल्लंघन गरेपछि कुनैपनि हातलमा उनी कानुनी कारबाहीबाट उम्कन पाउँदैनन्।'

यसैबीच बाँके, सोनपुर–६ स्थित कलौसन गाउँबाट पक्राउ परेका पाँच जना जुवाडे विरुद्ध पनि मुद्दा चलाएको छ । सोनपुरस्थित नसुरुद्धिन खाँको घरमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले ६२ हजार ३ सय ८३ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको थियो। पक्राउ जुवाडे विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेको बताएपनि प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।

प्रकाशित: २५ कार्तिक २०७२ २२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App