७ वैशाख २०८१ शुक्रबार
विचार

दिगो कृषि, पोषिलो आहार

प्रसङ्ग १

सिरहाको लहान नगरपालिका–१४, बस्तीपुरमा बस्छन् धनलाल यादव। ७ वर्षको उमेरदेखि उनको घरमा हरुवा बसेका लछुवा सदाय अहिले ६८ वर्षका भइसके तर पनि काममा उत्तिकै तल्लीन छन्। यसबीचमा धनलालले ट्रयाक्टर किने। लछुवाले जोत्नचाहिँ परेन। त्यसैले उनी हरुवाबाट चरुवामा परिणत भए तर दुःख छुटेन। तर न उनी ज्याला पाउँछन् न त घुक्र्याएर जाने ठाउँ नै कतै छ। सरकारले ज्येष्ठ नागरिकलाई दिने भत्ता ल्याउँछन् र त्यो पनि मालिककै नाति÷नातिनालाई मिठाइ खुवाएर सिध्याउँछन्।

प्रसङ्ग २

धनुषाको भडरियास्थित मुसहरी टोलमा ६६ परिवार बस्छन्। उनीहरू सबैको काम अरूको खेतीपाती सुनिश्चित गरिदिनु हो। जसबापत पाउने ज्याला नै उनीहरूको जीविकोपार्जनको मुख्य आधार हो। २–३ धुरमा ठडिएका झुपडी नै उनीहरूको सम्पत्ति हो जसको जग्गा धनी पुर्जा पनि यिनीहरूसँग छैन। तर विडम्बना, यिनीहरूको झुपडीमै ठेस्सिन आइपुगेको बिघौँ जमिन भने बाँझै छ।

प्रसङ्ग ३

सप्तरीका कपिलदेव पासवान सुरुङ्गा नगरपालिका–७ स्थित पोखरिया बसानपट्टीका रवीन्द्र चौधरीको हरुवा रहँदै आएका छन्। ६ बिघा जग्गाको खेतीपाती सुनिश्चित गरिदिनुपर्ने भएकाले उनले कहिल्यै फुर्सद पाउँदैनन्। मालिककै कामको बोझका कारण जँचाउन लैजाने फुर्सदसमेत नभएपछि उनकी श्रीमती अकालमै मरिन्,७ वर्षअघि।  

हरुवा अर्थात जमिनवालाको खेतीपाती सुनिश्चित गरिदिने र त्यसबापत ठेकिएको ज्याला वा गरिखान केही जमिन पाउने प्रथा अझै पनि छ्याप्छ्याप्ती छ। पशुपन्छी चराउने सर्तमा राखिएको व्यक्तिले पाउने नामचाहिँ चरुवा हो। विशेषगरी तराईमा अहिले पनि खेतीपाती सुचारु गर्ने प्रणाली यही हो भन्दा फरक पर्दैन।

यसरी हरुवा/चरुवा बस्नेचाहिँ को हो त ? उत्तर सहज छ– आफ्नै जमिन नहुनेहरू। हो, जमिन नभए पनि खान त प¥यो। त्यसैले आफ्नो र परिवारको भेट भर्नकै लागि अरूको खेती ऊर्वर बनाइदिने र उसैलाई पोस्ने मानिस हो हरुवा÷चरुवा। जसले जमिनदारको भकारी भरिदिन्छन् र आफूचाहिँ दयामायाले उसैले दिएको अनाज ल्याएर मिलिजुली बाँडेर खाए जस्तो गर्छन्।  

भूमिमा स्वामित्व

यसरी हरुवा÷चरुवा बस्नेमा अपवादबाहेक सबै नै दलित छन्। यसको कारण के हो त ? गरिखान आफ्नो जमिन छैन। रोजगारीको विकल्प कतै भेटिन्न। तराई क्षेत्रमा ४४ प्रतिशत दलित पूर्णरूपमा भूमिहीन भएका तथ्याङ्क एकातिर छ भने अर्कोतर्फ दलित समुदायसँग १ प्रतिशत मात्र कृषि जमिन भएको अर्को तथ्याङ्क पनि छ। पछिल्लो जनगणनाले मुलुकमा दलितको सङ्ख्या १३ प्रतिशत देखाउने तर उनीहरूसँग खेतीयोग्य जमिन भने १ प्रतिशत मात्र हुनु नै हरुवा÷चरुवा बस्नुपर्ने बाध्यताको उपज हो।

दलित समुदायसँग जोडिएका तथ्याङ्क अझै डरलाग्दा भेटिन्छन् खोज्दै जाँदा। त्रिभुवन विश्वविद्यालयको एक सर्वेक्षणले भन्यो कि ७५ प्रतिशत मुसहरसँग घर÷जग्गा नै छैन। अनि यस्ता डोमको सङ्ख्या ७१.७ प्रतिशत छ। जमिन भएका दलितमध्ये पनि ९० प्रतिशतसँग जीविकोपार्जनका लागि आवश्यक पर्ने जमिन छैन। यस्तो अवस्थामा उनीहरू जस्तोसुकै शोषण÷उत्पीडन सहन पनि बाध्य हुनुपर्ने अवस्थालाई अन्यथा मान्न मिल्दैन।

जमिन नै किन ?

मानिस भन्छन्– ‘सबैलाई जमिनै किन चाहियो ?अरू काम गरेर खाए भइहाल्यो नि।’ जो पुर्खौँदेखि भूमिहीन छ, उसले कहिले फुर्सद पाउने पढ्न ?, कसरी सिक्ने सिप ?, कसले बेहोरिदिने उसको पढाइ शुल्क ? पढाइ र सिप नै नभएपछि कहाँ पाउने जागिर ? त्यसैले उसले त्यही माटोसँग पौँठेजोरी खेल्नुप¥यो जुन पुर्खाले पनि गर्दै आएका थिए। त्यसैले हरुवा÷चरुवा बाध्यता बन्यो, रहर हैन।

मजदूरी गर्दा पनि टन्न खान त पुग्नुपर्ने हो तर त्यो अवसर पनि कहिल्यै पाएनन् यो समुदायले। धनुषास्थित कटैयाकी लीलादेवी मण्डलकी सासू गाउँकै एक जमिनदारको घरमा भाँडा माझ्ने काम गर्छिन्। तर यसबापत उनले पाउने भनेको वर्षमा ६ पसेरी अर्थात ३० किलोग्राम धान र २ वटा जडाउरी सारी मात्र हो। एक जनाले वर्षभरमा पाउने ज्याला यत्ति हो ? बोलिदिने कसले ?

सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित गहेडी टोलमा भेटिएका ढलाइ सदा महेश मण्डलको ३ बिघा जमिन खनजोतदेखि सबै काम गर्छन्। यसबापत उनले पाउने भनेको वर्षको १० मन धान मात्र हो। यसलाई अहिले चलनचल्ती मूल्यका हिसाबले पैसामा रूपान्तर गर्दा दैनिक २० रुपियाँ पर्न आउँछ। तर पनि उनी महेशकै काम गर्न बाध्य छन् किनकि उनीसँग यसबाहेकको विकल्प नै छैन।

त्यसैले सबैलाई जमिन चाहिन्न भनेर वकालत गर्नेहरूले कि धरातलीय यथार्थ बुझेकै छैनन् कि त बुझ पचाइरहेका छन्। अर्थात सोझो अर्थमा भन्ने हो भने यो सिरानमा लालपुर्जा राखेर अरूलाई अर्ती दिनेहरूको रवाफ मात्र हो। जुन देशमा आफ्नो झुपडीमा धारा जडान गर्न, विद्युत् मिटर राख्न अनि प्रकोपका कारण भत्केको झुपडी बनाउने सरकारी सहयोग पाउनसमेत लालपुर्जा देखाउनुपर्ने नियम छ, त्यो देशमा जमिनै किन चाहियो र भन्नेहरूलाई स्वस्थ मान्न कदापि सकिन्न।

पोषिलो आहार

पोषिलो आहारको अगाडि लाग्ने विशेषण हो। यस अर्थमा जब आहार उपलब्ध हुन्छ त्यसपछि मात्र यसअघि नाता जोड्न आइपुग्ने विशेषणको महत्व हुने गर्छ– रसिलो, मीठो, स्वादिलो, भरिलो...आदि। यहाँ त पहिले आहारकै समस्या छ। वर्षभरि भाँडा माझेर ३० किलोग्राम ल्याउने लीलादेवीकी वृद्ध सासूले यति धानबाट कसरी पेट भरुन् ?डाक्टरले भनेका १० हजार रुपियाँ जुटाउन नसक्दा श्रीमती गुमाउन पुगेका सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–४ सखुवा टोलका गुलेती सदाले कसरी पोषिलो आहार भेटुन् ?

जुन देशमा उचित खानपानकै अभावका कारण ५ वर्षमुनिका प्रत्येक ३ बालबालिकामध्ये १ जना पुड्कोपन वा ख्याउटेको सिकार हुन्छन्, जुन देशमा अहिले पनि गिठ्ठा र भ्याकुरको भरमा जीवन निर्वाह गर्ने समुदाय जिउँदै छ, त्यस्तो देशमा पोषिलो आहारको नारा नदी नै नभएको ठाउँमा पुलको बखान भन्दा पृथक हुनै सक्दैन।

समाधान

नेपाल मात्र हैन, विश्वले नै अघिल्लो साता ४० औँ खाद्य दिवस सप्ताह मनायो– ‘हाम्रो पहल ः दिगो कृषि, पोषिलो आहार’ ब्यानरमुनि। तर नेपालमा भने यही ब्यानरले आयोजकदेखि स्रोता÷दर्शकसम्मलाई खिज्याइरहेको महसुस भएरह्यो।प्रश्न उठ्छ– के त्यसो भए अब दिगो कृषिको कुरै नगर्ने त ? अवश्य गर्ने हो। तर मुख्य सवाल कृषि कर्म कसले गर्छ भन्ने हो। कृषि दलित समुदायका कारण थेगिएको छ। कृषि भूमिहीनले थामेका छन्। कृषि साना किसानले जोगाएका छन्। कृषि महिलाले धानेका छन्। कृषि पढ्न÷लेख्न नसकेकाले काँध थामिदिएका छन्। तर विडम्बना, यिनैसँग आफूले खेती गर्ने जमिनको स्वामित्व छैन। जोसँग उक्त जमिनको स्वामित्व छ उसले भने आफ्नै जमिन पनि चिनेको छैन। त्यसैले प्राथमिकता माटोमा जोतिनेसँग उक्त जमिनको स्वामित्व भयो भने मात्र कृषि दिगो हुन्छ भन्नेतर्फ पर्नुपथ्र्यो। हामीले मुख्य खुड्किलो नै फड्क्यौँ यसर्थ।  

त्यसैले सबैभन्दा पहिले जसले खेती गर्छ उसको स्वामित्वमा जमिन उपलब्ध गराउने÷हुने वातावरण सिर्जना गर्नुपर्छ। त्यसका लागि वकालत र लबिङ जरुरी छ। त्यसपछि मात्र कृषि दिगो हुन सक्छ। अर्काको जमिनमा, त्यो पनि खाली पेट र बाध्यताबश बगाइने पसिना सधैँ सिँचाइमा परिणत हुन सक्दैन। यो त विकल्प फेला नपरुन्जेलका लागि मात्र हो। त्यसैले विकल्प पर्खिरहेको पेसा दिगो हुनै सक्दैन। वास्तविकरूपमा खेती धानिरहेको ठूलो समुदायलाई बेवास्ता गरेर दिगो कृषिको नारा लगाउनु भनेको गन्त्व्य निश्चित नभएको यात्राको थालनी मात्र हो।

पोषिलो आहार अर्को त्यस्तैहतारिएको विषय बन्न पुगेको छ। पोषिलो विशेषण थप्नुअगाडि आहारकै प्रबन्ध मिलाउनेतर्फ सबैको ध्यान जानु जरुरी छ। जब पेट पर्न पुग्ने आहार उपलब्ध हुन्छ त्यसपछि बल्ल रसिलो÷पोषिलो/भरिलो के के थप्नुपर्छ, त्यही त्यही विषय उठान गरौँला। दिनभर घोटिएबपात प्राप्त हुने एकाध माना कनिकामा नून, पानी र खोर्सानी घोलघाल पारेर ८–१० जनाको पेट तातो पार्नुपर्ने बाध्यता रहेसम्म पोषिलो आहार सपना मात्रै रहिरहने निश्चित छ।

प्रकाशित: ४ कार्तिक २०७७ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App