२१ चैत्र २०८१ बिहीबार
image/svg+xml २२:९ अपराह्न
विचार

मुक्कुमलुङ विकासमा नागरिक सहभागिताको सवाल

ताप्लेजुङमा अवस्थित पाथीभरा मुक्कुम्लुङ जाने केवलकार निर्माणको विवाद चरम उत्कर्षमा पुगेको छ। हालसम्म उक्त क्षेत्रमा स्थानीयबासी र सुरक्षाकर्मीबीच विभिन्न झडप भएका छन्। झडपमा दर्जनौँ घाइते भएका छन्। यस विषयले संसद्मा समेत चर्चा पाएको छ। सरकारले विवाद समाधानका लागि वार्ताको प्रयास गरिरहेको भए तापनि समाधान हुन सकेको छैन। यस क्षेत्रमा केवलकार निर्माणको विवादले विकास आयोजना सञ्चालनमा स्थानीय जनसहभागिताको महत्व र मूमिका कस्तो हुने भन्ने बहस पैदा गरेको छ।

सामान्यतया विकास आयोजना सञ्चालन गर्दा स्थानीय जनताको सहभागिता र सहमति हुनुपर्छ भन्ने आधुनिक विकासको अवधारणा हो। नागरिकको सहभागिताविना सञ्चालन भएको जुनसुकै विकास आयोजनामा पारदर्शिता, मितव्ययिता र दिगोपना हुँदैन भन्ने गरिन्छ।

अहिले नेपालले अवलम्बन गरेको विकासको अवधारणा पनि यसैअनुरूपको हो। त्यसैले पाथिभरा मुक्कुम्लुङ क्षेत्रमा स्थानीयबासीको तीव्र विरोध हुँदाहुँदै पनि सरकारले निजी कम्पन मार्फत किन केवलकार परियोजना अगाडि बढाउन खोज्दैछ भन्ने आमचासोको विषय बनेको छ। पाथिभरा देवीको मुक्कुम्लुङप्रतिको आस्था, विश्वास, इतिहास र त्यहाँको पर्यावरणीय महत्वको विषयमा सोसँग जानकारले लेख्ने र बोल्ने गरिरहेका छन्। यस आलेखमा मूलतः विकास आयोजना सञ्चालन गर्दा सरकारले अपनाउनुपर्ने भूमिकाबारे चर्चा गर्न खोजिएको हो।

कुनै पनि विकास आयोजना सञ्चालन गर्दा आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई प्राथमिकता दिइएको हुन्छ। सफल आयोजनाले यी तीनवटा तत्वबीच सन्तुलन गर्नु आवश्यक हुन्छ। आर्थिक लाभका लागि सामाज र वातावरणमा हानि पुर्‍याउनु हुँदैन भन्ने मान्यता छ। विकास आयोजनाकै कारण समाज द्वन्द्वमा फस्यो वा वातावरण तथा जैविक प्रणालीमा असर पुग्यो भने त्यसले सिंगो पृथ्वीलाई नै हानि गर्छ। कैयौँ आर्थिक लगानी गर्दासमेत त्यसको परिपूरण नहुन सक्छ।

लोकतान्त्रिक व्यवस्था भएका देशहरूले ठूला विकास आयोजना सञ्चालन गर्दा अपनाउने विकासको नीति यही हो। यसै मान्यतालाई आधार बनाएर शान्ति संवेदशील विकास योजना अवधारणा अवलम्बन गर्ने गरिएको छ। तर त्यसो भन्दैमा लोकतान्त्रिक भनिएका देशका सबै सरकारले विकासको यही नीति लागु गर्छन् वा गरेका छन् भन्न सक्ने अवस्था छैन।

तत्कालीन आर्थिक लाभ, राजनीतिक लोकप्रियता र राजनीतिक पहुँचको निरन्तरताका लागि समाज र वातावरणलाई बेवास्ता गरेर सरकारले निर्ममतवरले पनि परियोजना सञ्चालन गर्ने गर्दछ। विकासको अवधारणा स्पष्ट हुँदाहुँदै आखिर सरकारले किन यस प्रकारको निर्ममता अपनाउने गर्छ भन्ने विषयलाई सार्वजनिक नीतिको दृष्टिकोणबाट विमर्श गर्नुपर्दछ।

विकास आयोजनामा सरकारले अप्रिय कदम चाल्नुमा दुईवटा परिस्थिति हुने गर्छन्। पहिलो नीति क्षमता र दोस्रो नीति स्वार्थ। पहिलो परिस्थितिअन्तर्गत सरकारको निर्णय क्षमता, उपलब्ध स्रोत/साधन, विषय तथा क्षेत्रसँग सम्बन्धित दक्ष जनशक्तिको अवस्था, बाह्य दबाब र प्रभावलाई थेग्न वा इन्कार गर्न सक्ने क्षमता, सरकारप्रति नागरिकको विश्वासको अवस्था, दलबीचको एकतालगायतको विषय अन्तरनिहित हुने गर्दछ।

यस्तो अवस्थामा परियोजना आर्थिक, सामाजिक तथा वातावरणीयतवरले लाभान्वित हुने भए तापनि नीति क्षमताको अभावका आयोजना सफल हुन सक्दैन। विवाद र समस्याको दलदलमा फस्ने खतरा हुन्छ। दोस्रो परिस्थिति विकास परियोजना कसको स्वार्थमा केन्द्रित छ भन्ने कुरामा निर्भर हुन्छ। प्रमुख सवाल कुनै पनि आयोजना लक्षित वर्गको हित र स्वार्थभन्दा फरक हुनु हुँदैन तर आयोजना डिजाइनकै क्रममा लक्षित समुदाय कसलाई किन बनाइयो भन्ने विषय जोडिएको हुन्छ।

सार्वजनिक नीति अध्ययनमा नीति मुद्दाहरूको समस्याकरण भन्ने अवधारणा छ। यसको अर्थ सामाजिक मुद्दाहरूलाई कसरी समस्याकरण गरिन्छ भन्ने कुराले नीति निर्माण र कार्यान्वयनको अवस्था एकिन हुन्छ भन्ने हो। सीमित स्वार्थ समूह वा सम्भ्रान्त वर्गलाई मात्र फाइदा पुग्नेगरी नीति मुद्दाहरूको समास्याकरण गरियो भने पनि स्थानीय नागरिकको समर्थन, अपनत्व र स्वामित्व हुँदैन। तथापि उक्त समूहको दबाबमा सरकारले विकास आयोजनाहरू निर्ममतवरले अगाडि बढाउने गर्दछ।

प्रायः कमजोर सुशासन भएका देशमा यस प्रकारको स्थिति पैदा हुने गर्छ। यसका साथै केही सामाजिक तथा वातावरणीय अवस्थामा असर गरे तापनि मुलुकले ठूलो आर्थिक लाभ लिने अवस्था छ जसको कारणबाट धेरैभन्दा धेरै रोजगारी सिर्जना हुने र आर्थिक रूपान्तरण हुने अवस्था छ भने पनि आर्थिक विकासको बृहत्तर हित र दीर्घकालीन फाइदाका लागि समाज र पर्यावरणलाई कम प्राथमिकता दिई सरकारले विकास आयोजना कडाइका साथ लागु गर्ने गर्दछ।

पाथीभरा मुक्कुम्लुङ केवलकार निर्माणको सवाल भौतिक सुखभोग तथा आर्थिक क्रियाकलापमा आधारित विकासलाई प्राथिमकता दिने कि स्थानीय संस्कृति तथा सभ्यता, सनातन धार्मिक आस्था र दुर्लभ पर्यावरणको संरक्षण गर्दै स्थानीय मौलिक शासकीय प्रबन्धमा आधारित विकासमा जोड दिने भन्ने विषयमा बहस तथा विवाद केन्द्रित भएको देखिन्छ। व्यापारिक दृष्टिले हेर्दा सुविधायुक्त पूर्वाधार, भौतिक सुखभोग तथा विशुद्ध आर्थिक क्रयाकलाप नै विकास हो। यस दृष्टिकोणअनुसार जुनसुकै मूल्यहरू चुकाएर भए पनि पूर्वाधार विकास र आर्थिक क्रियाकलाप गरियो भने विकासले फड्को मार्छ भन्ने मान्यता हो।

अर्कोतर्फ धार्मिक आस्था र स्थानीय संस्कृति तथा पहिचान, परम्परा र पर्यावरणलाई संरक्षण गरी मौलिक अभ्यासको माध्यमबाट पनि विकासलाई अगाडि बढाउन सकिन्छ भन्ने बलियो मत छ। पाथिभरा मुक्कुम्लुङमा हाल स्थानीय आदिवासी लिम्बू जातिलगायत समुदायले केवलकार बनाउनुहुँदैन भनेर उठाउँदै आएको आवाज पनि यही विकासको ढाँचामा केन्द्रित भएको देखिन्छ।

विकासको यो ढाँचाले सरसर्ती हेर्दा आधुनिक विकास तथा परिवर्तन विरोधी देखिए पनि धार्मिक आस्था, स्थानीय संस्कृति, परम्परा, पर्यावरणीय संरक्षणको दृष्टिले सत्यताको नजिक छ। किनभने धार्मिक तथा परम्परागत मान्यतामा आधारित ठाउँहरू भौतिक सुखभोगभन्दा पनि आध्यात्म तथा परम्परागत विश्वास र आस्थामा आधारित हुन्छन्। सोही आस्था तथा विश्वास नै यहाँको मौलिकपन हो जसले गर्दा मान्छेले उक्त आस्थाका लागि जुनसुकै कष्ट सहेर पनि उक्त ठाउँमा पुग्ने गर्छ।

यदि भौतिक सुख र पूर्वाधारलाई प्राथमिकता दिएर धार्मिक तथा परम्परागत ठाउँहरूको मौलिकतामा चोट पुर्‍याउन थालियो भने ती ठाउँको आस्था र आकर्षण हराउँदै जान पनि सक्छ। यही विषयलाई केन्द्रित गर्दै विकसित देशहरूले पनि यस्ता स्थानमा भौतिक विकास तथा सूचना प्रविधिको प्रयोग गर्दा होसियारी अपनाउने गरेका छन्। त्यसैले स्थानीय नागरिकको आस्था र प्रत्यक्ष विश्वास भएका स्थानमा विकास आयोजना सञ्चालन गर्दा संवेदनशील हुनैपर्छ।

भौतिक पूर्वाधारको विकास गरेर धनी तथा सुखी हुने अभिलाषामा मौलिक ज्ञान, संस्कृति, संस्कार र सभ्यतालाई नै नजरअन्दाज त गरेका छैनौँ भन्ने प्रश्न उब्जिएको छ। गरिबी अन्त्यका नाममा धर्म परिवर्तन गराउन खोज्नेसम्मका क्रियाकलाप पनि हुने गरेका तथ्य समय समयमा बाहिर आउने गरेकै छन्।

गौतमबुद्धको जन्मस्थानलाई लिएर विगतमा केही विदेशी मिडियामा भ्रामक समाचार आएको पनि अवगत भएकै हो। त्यसैले पाथिभरा मुक्कुम्लुङ स्थानीयबासीको ऐतिहासिक परम्परा, संस्कृति तथा सभ्यता र हिन्दु धर्मावलम्बीको धार्मिकस्थललाई आस्थाको रूपमा मौलिक पहिचानसहित कायम नराखेर सुविधा सम्पन्न पर्यटकीयस्थलका रूपमा मात्र विकास गर्ने भन्ने सोच हाम्रो आन्तरिक ज्ञान उत्पादन हो कि बाह्य स्वार्थ पनि छ? कतै हामी नजानिँदोतवरले त्यतातिर बहकिइरहेका त छैनौँ भन्ने तवरले पनि सोच्नु आवश्यक छ।

प्रकाशित: २५ फाल्गुन २०८१ ०८:४० आइतबार

खुशी 50 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 25 %
क्रोधित 25 %
Download Nagarik App