सुर्खेतबाट माघ १६ गते नागरिक दैनिकमा प्रेषित समाचारमा ११ वर्षअघि काँक्रेविहार पुर्याइएको बुद्धको मूर्ति तत्कालीन जिल्ला वन कार्यालयले राख्न अनुमति नदिएपछि प्रहरीले नियन्त्रणमा लिएको घटनालाई के भन्नु, पढेपछि हृदयविदारक, मार्मिक ! मुटु छेद काव्य। कहनु न सहनु। कौतूहलमय ! अवाक् अवाक् टोलाइरहनु। निष्ठुरीले घोचेको घोच। आक्रान्त आक्रान्त! विवेक हराएको न्याय। बुद्ध–मूर्ति सहिष्णुताको प्रतीक। मूर्ति अलाप्दैन, लगाउन्न पनि कोलाहलमय नारा– जिन्दावाद! मुर्दावाद ! आफैंमा बन्दी छन् निरीह, निष्प्राण मूर्ति। संवेदनशील, भावुक मनमस्तिष्कलाई शब्दवाण लाग्छ। मौन अलाप्छ मौन आलाप कहालिलाग्दो मर्माहत।
२०४०–२०४७ सालसम्म सुर्खेत, दैलेख, जुम्ला सेरोफेरो काम गर्दाका अनुभूति। २०८१ माघका दीर्घ अवधि।
९० वर्षे कुप्रे तन्नेरी बैंस। डोलायमान गर्न सार्थक। मन डोल्यो। तन डोल्यो कसोकसो। आलटालमा अलमलिए ! बल्लतल्ल कमर कस्दै मनलाई बाँधेँ। फलेको फलले रुखलाई निहुराए। प्रकृतिको नियम। त्यसमै नियति हाम्रो। मन त भन्छ उडेर जाऊँ कि गुडेर? उड्ने र गुड्ने तागत कहाँ? सबै सबै यथावत राख्न सक्दिनँ। लाटी कोइलीको दुर्दशा यस्तो हुँदो भएरै ठाउँ गाउँ नै अवाक् अवाक्! त्यसताका कलात्मक बौद्ध शिखरशैली मन्दिर–स्तुप यथावत पुनर्निमित भए। यो झन्डै जीर्ण देह ढल्नै लागेको बुढो खोक्रो रुखै समान !
सुर्खेतको स्मृति। स्मारकमा दुई मन–मस्तिष्क आँखैमा झलझली। नाचिरहन्छ बुर्लुकबुर्लुक उफ्रीउफ्री। एक घण्टाघर, सिद्धपाइला दोस्रो। सिद्धपाइला सुर्खेत उत्तरी पहाडको खोँच खोँचमा। लाग्छ, सिद्धपाइला झन्डै पाइलाकै बिम्बबोधक।
लाग्छ, पहाडबाट बर्खेभरिका धारले तल्तिरको ढुंगामा बज्रेर पारेको अंकण ! मेला भर्छन् स्थानीय नरनारी वासिन्दा। प्रकृतिको महिमा लीला बन्छ। लीला मेलामा परिणत हुन्छ। मेला संस्कार। संस्कार स्थानीय संस्कृति। संस्कृति राष्ट्रको गौरवगाथा।
सोच्दा सोच्दै मन तरंगिन्छ। स्थानीय चन्दा संकलन गरी थाइल्यान्डमा बुद्धको बिम्बस्वरूप निर्माण गराएको पढेँ। जानेँ मनज्ञ। मनै त हो, पिङझैं डोलायमान बन्छ। आफ्नै नेपालभूमिभित्र पनि त बन्न सक्छन्। किन यो थाइल्यान्डसम्म कुद्नुपरेको? परिवहन सुविधा रकम बुद्धकै मूर्तिस्थल निर्माणमा सदुपयोग हुन सक्थ्यो।
वन कार्यालयले बुद्ध–प्रतिमा प्रतिस्थापन गर्नुको कारण के? वनमै तपस्या गरी सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेथे। नेपालका बुद्ध सिद्धार्थले आफ्नै जन्मभूमिका ‘सुरखेत’ वीरेन्द्रनगरको काँक्रीविहारमा वास नपाउनु कत्रो विडम्बना! वयोवृद्ध स्वस्थ मनको आवेश यो। विद्रोह होइन कदापि। चेतना जगाउने अभियान मात्र। मनभित्र थिग्रिएको अन्तरआलाप श्रद्धेय सहृदय पाठकवृन्द महानुभावमा ! लाग्छ मनमा महान् महान् उच्च घरानाका सोचपूर्ण जन नै बन्छन् महान्। आक्षेप आक्रोशका पटारो पहिरनेहरू होइनन् किमार्थ !
प्रकाशित: ७ फाल्गुन २०८१ ०७:५९ बुधबार