नेपाली समाज पछिल्लो समय नकारात्मक सोचतर्फ बढी नै उन्मुख भएको महसुस हुन थालेको छ। हो, आलोचनात्मक हुनुपर्छ। प्रश्न पनि गर्नुपर्छ। किनकि आलोचना र प्रश्न लोकतन्त्रका मुख्य विशेषताभित्रै पर्छ। तर हरकुरामा आलोचना गर्ने तथा प्रश्न गर्नुपर्ने नपर्ने सबैमा औँला ठड्याउने परिपाटी पछिल्लो समय निकै हुर्केको छ। यो समाज उत्थानका लागि हानिकारक छ ।
विशेष गरी हाम्रा सामाजिक सञ्जालहरू यस्तै नकारात्मकताले भरिभराउ देखिन्छन्। जहाँ कसैलाई देवत्वकरण गरिएको हुन्छ भने कसैलाई राक्षसीकरण। अनि दुई प्रवृत्तिविरुद्धको जुहारीले सत्यतथ्यलाई छायाँमा पारिरहेको छ। अहिलेको डिजिटल पुस्तामाथि यस्ता हर्कतले अन्याय पुगिरहेको कसैलाई पत्तै छैन किनकि सिर्जनशील र रचनात्मक हुनुपर्ने दिमागमा सामाजिक सञ्जालका यस्तै कुतर्कहरूले खिया लगाइदिइसकेका छन्। त्यही कारण उनीहरू पनि ‘यहाँ केही नहुने, यहाँका सबै खत्तम, बिग्रियो, भत्कियो’ भन्ने टिप्पणी/प्रतिक्रिया मात्र व्यक्त गर्न थालिसकेका छन्।
अझ विडम्बना त यो छ कि ठूला र मूलधारका सञ्चार माध्यमले समेत यस्तै नकारात्मक टिप्पणी गर्नेहरूलाई नै अन्तर्वार्ता र अन्य कार्यक्रममा प्राथमिकता दिन्छन्। जसले बढी गाली गर्न सक्यो, जसले ठूलो स्वरले नकारात्मक टिप्पणी गर्न सक्यो, उसैलाई महान् भन्ने संस्कृति नै बस्न लागिसकेको छ नेपालमा।जबकि उसले भनेको कुरा सही नै हुन्छ भन्ने छैन। तर हामी न आफू अनुसन्धान गर्छौँ न त ती सञ्चार माध्यम नै प्रमाणित गरेर मात्र प्रकाशन/प्रसारण गर्छन्।यस्तो अवस्थाले हामीलाई प्रत्येक दिन नकारात्मक बनाउँदै लगेको छ।
सामाजिक सञ्जाल र अझ त्यसमा पनि युट्युब र कतिपय अवस्थामा मिडिया नै जानीनजानी यो कुकृत्यको भागिदार भएको देखिन्छ।हरेक सिक्काका दुई पाटा हुन्छन्। समाजमा नराम्रो मात्र भइरहेको छैन। कतिपय राम्रा काम पनि भइरहेका छन्। तर सामाजिक सञ्जाल र मिडिया त्यसलाई देख्दैनन्। उनीहरू यिनलाई प्रोत्साहन दिने त के, उजागर गर्न पनि हिच्किचाउँछन्।जसले गर्दा नेपाली समाज नकारात्मकताको बाटोबाट गुज्रन बाध्य छ ।
युवा अहिले पनि परिवर्तन र विकासको पक्षमा हुन्छ।नेपालका युवा पनि अपवाद छैनन्। त्यसैले समाजका अगुवा र मिडियाले युवाको यो भावना र गतिमा साथ दिनुपर्ने हो। तर उसको अशिक्षितपन, उसको बेरोजगारी र उसको अभावमाथि खेलाँची गर्दै उसको तनाव बढाउने काम मात्र गरिरहेका छन्।
खासमा युवाहरू हाम्रा राजनीतिक दलहरूका संक्रमित भष्टाचार रोगका शिकार भएका छन्।त्यही कारण उनीहरू रोजगारी पाउन असफल छन्। अन्य अवसर पनि बन्देज छन्। यस्तो अवस्थामा उनीहरू कसरी यो समस्याबाट पार पाउन सक्छन् भन्नेबारे दीक्षित तुल्याउनुपर्ने हो तर यहाँ त उल्टै उनीहरूको कमजोरीमा खेलेर नकारात्मकताको खेती गर्ने क्रम तीव्र पारिनु कसैको पनि हितमा हुन सक्दैन।
यस्तो अवस्थामा पनि सरकारले युवा लक्षित कार्यक्रम दिन सकेको छैन । जसबाट सरकारप्रति आक्रोश बढ्दै कतै त्यसको निशाना हाम्रो लोकतन्त्र नै हुने त होइन भन्ने प्रश्न पनि गम्भीररूपमा देखापरेको छ। भर्खरै दोस्रो निर्वाचनको आधा समय सकिएको छ। यसबीचमा स्वतन्त्र उम्मेदवारप्रति देखिएको समर्थन र रुचिबाट पनि नेताहरू नचेत्नु अर्को खतराको संकेत हो। कतै नेपाली समाजले हाम्रै कमजोरीका कारण हाम्रै विकल्प खोजेको त होइन भनेर कहिले सोच्ने यिनले?
प्रश्नै प्रश्नको घेरामा नेपाली समाज प्रताडित बनिरहेको देखिन्छ। एकातर्फ रैथाने राजनीतिक दलहरूको प्रभाव घट्दै जानु अर्कोतर्फ नयाँ आएका दलमा धीरता नहुनुले नेपाली समाजको गन्तव्य अलमलमा परेको देखिँदैछ। खासमा राजनीतिक दलहरू कमजोर बन्दै जानु र उनीहरूप्रति वितृष्णा बढ्दै जानु भनेको लोकतन्त्र कमजोर बन्दै जानु हो। अहिलेका गतिविधि हेर्दा लाग्छ– हामीले परिवर्तनका लागि गरेको सात दशक लामो संघर्षको उपलब्धि काम नलाग्ने भएकै हो त? बहस जरुरी भएको छ।
त्यसो होइन भने राजनीतिक परिवर्तन आफ्नो जीवनको लक्ष्य बनाइ अगाडि बढेका युवाहरूले अब आफ्नै दलभित्र परिवर्तनका लागि एउटा विद्रोह गर्न ढिलो गर्न हुँदैन सुध्रनका लागि।संसारमा लोकतन्त्रभन्दा परिष्कृत अर्को व्यवस्था हुनै सक्दैन तर पनि हामी समृद्धिको हाम्रो यात्रामा जोडिन पनि सकिरहेका छैनौंँ भने समृद्ध मुलुकको हाम्रो चाहाना मात्र राजनीतिक दलहरूका जनतालाई भ्रमित गर्ने नारा मात्र बन्न पुगे। त्यसैले परिवर्तनको यो छोटो समयमा विकासमा हामीले फड्को मारेका छौँ तर यो कति दिगो रह्यो भन्ने प्रश्न पनि कायम छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम भएका छन्। बाटोघाटो पनि बनेका छन् तर जनताको आकांक्षाअनुसार भने हुन सकिरहेको छैन। यस विषयमा द्विविधा कतैबाट छैन। तर विडम्बना, सरकारी पक्षबाट र समाजका अगुवाबाट भएकै कामबारे पनि बुझाउन सकिएको छैन।सरकारहरू पहिले बन्न त्यसपछि टिकाउकै लागि समय खर्चन व्यस्त भएकाले पनि यो अवस्था आएको हुन सक्छ। तसर्थ भएका राम्रा कामको मात्र उजागर गर्न सके पनि नकारात्मक सोच न्यून हुन सक्छ।
मुख्य कुरा, नकारात्मकताले हामीलाई कहीँ पनि पुर्याउँदैन भन्ने बुझाउन जरुरी छ। विशेषगरी बुद्धिजीवीहरूको यसमा मुख्य भूमिका हुन्छ। यहीँ भएको सम्भावना देखाएर र समाजमा भएका असल गतिविधि प्रसारप्रसार गरेर नकारात्मकताको खेती कम गर्न सकिन्छ।मानिसलाई आशावादी बनाउन सकिन्छ जसले प्रगतिको ढोका खोल्छ। लोकतन्त्रकै लागि हानिकर हुने नकारात्मक प्रवृत्ति रोकथाममा सबै लाग्नु जरुरी भइसकेको मनन सबैतर्फ हुनै पर्छ।
– बराल मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष हुन्।
प्रकाशित: ६ माघ २०८१ ०६:२५ आइतबार