२२ चैत्र २०८१ शुक्रबार
image/svg+xml ९:१८ पूर्वाह्न
विचार

किन प्राथमिकता छैन कृषिलाई?

पछिल्लो समय हरेक सात दिनमा राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिको नयाँ रेकर्ड सार्वजनिक गरिरहेको छ। बैंकहरू ब्याज दर घटाएरै ग्राहकको खोजीमा जुटिरहेका छन् तर ग्राहक अर्थात लगानीकर्ता भेट्न सकिरहेका छैनन्। प्रतिपक्षमा रहेका दलहरू सरकारलाई युवा पलायन रोक्न चुनौती दिइरहेका छन् भने अर्कोतिर आमनागरिक थोरै पैसामा जीवनलाई मृत्युसँग साक्षात्कार गराइरहेका छन्। तातो बालुवामा यी सबै नेपालीले नजिकबाट नियालेका दृश्य हुन्। 

गाउँ–गाउँ खाली छन्। पहाड, मधेस, हिमाली भेग सबैबाट मानिस अवसरका खोजीमा हिँडिरहेका छन्। तर सरकार त्यही ठाउँमा रहेको सुनौलो रोजगारीको अवसरबाट बेखबर बनिरहेको छ। किन सरकार कृषिमा लगानीको वातावरण बनाउन सकिरहेको छैन? कृषिलाई चाहिने सिँचाइ, मल, बिउबिजन, औषधिसँगै लगानी सुनिश्चित गर्न सकिरहेको छैन। सरकार किन कृषि क्षेत्रलाई ठूलो रोजगारीको क्षेत्र बनाउनबाट पछि हटिरहेको छ? यिनै प्रश्न अनुत्तरित भएकै कारण युवाहरू विदेश पलायन भइरहेका बुझ्न कठिन छैन।

अर्कोतर्फ लाखौँलाख लगानी अन्यत्र क्षेत्रमा बिनाहिच्किचाहट गर्ने निजी क्षेत्र कृषिमा भने लगानी गर्नुको औचित्य नै देखिरहेको छैन। आफ्नो उत्पादनको बजार किन आफ्नै भूमिमा देख्न सकिरहेको छैन? सरकारी तथ्याङ्कलाई आधार मान्ने हो भने २०७८ देखि २०८१ सम्ममा १८ लाखभन्दा बढीले रोजगारीका लागि देश छाडेको देखिन्छ। यो स्थितिमा हामी र हाम्रो सरकार किन आयातमुखी संस्कृतिमा नै रमाइरहेका छौँ। के यसमा हामी सर्वसाधारण पनि जिम्मेवार छैनौँ?

सरकार ठोस नीतिका साथ कृषि क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न सकिरहेको छैन। चामल मात्र नभएर हाम्रा भान्छामा प्रयोग हुने ससाना सामानमा समेत हामी आत्मनिर्भर हुन सकिरहेको छैनौँ। कृषिप्रधान मुलुकले सामान्य रछानमै हुने धनियाँसमेत करोडौँ रुपियाँको आयात गर्नु हाम्रो शिर निहुराउने घटना हो। त्यसैले पनि कृषिप्रधान मुलुकका बासिन्दाका रूपमा अहिले मुलुकले बेहोरेको अवस्थामा हामी आमकिसान पनि जिम्मेवार छौँ भन्नै पर्छ। 

हाम्रो वातावरणीय अनुसन्धानले नै देखाएको छ कि हामीकहाँ नहुने कुनै त्यस्तो खाद्यान्न नै छैन। हाम्रो जस्तो मिश्रित वातावरण कतै छैन। हाम्रा प्रमुख बालीहरू, हामीले प्रयोग गर्ने तरकारी फलफूल हाम्रै माटोमा फलाउन सक्षम छौँ। तर पनि दिन/प्रतिदिन हामी छिमेकी राष्ट्रप्रति निर्भर बन्दै गइरहेका छौ“ खाद्यान्नमा। दुई शक्तिशाली राष्ट्रहरूका बीच उभिएका छौँ। हामी सामूहिक हिसाबमा कुनै पनि बेला चेपुवामा पर्न सक्छौँ। कूटनीतिक हिसाबमा हिजोदेखि परि नै रहेका पनि छौँ। यही कारण पनि हामी गम्भीर हुन जरुरी छ। 

केही समयअगाडि छिमेकी मुलुकमा पानी कम पर्न सक्ने समाचारकै आधारमा चामल निर्यातमा कोटा लगाइदिँदा महँगो मूल्य तिर्न हामी बाध्य भयौँ। यस्ता कैयौँ घटनाका साक्षी हामी र हाम्रो सरकार हुँदाहुँदै हामी आफ्नो स्थानबाट गर्न सक्ने कामसमेत गर्न सक्षम छैनौँ। यही कारण कृषि क्षेत्रमा प्रशस्त सम्भावना भएर पनि पछि परिरहेका छौँ। 

यस्तो अवस्थामा ठोकेरै भन्न सकिन्छ कि युवा पलायन हुनुको मुख्य कारण नै ग्यारेन्टीसहितको रोजगारी नभएर हो। कम्तीमा एउटा विश्वासको वातावरण निर्णायक तहबाटै सिर्जना गरेर कृषिमा भएको हाम्रो सम्भावनालाई उजागर गर्ने हो भने कोही पनि रोजगारीका लागि विदेशिने छैन। तर सरकार चलाउनेहरूले यही महत्वपूर्ण कुराचाहिँ बुझिरहेका छैनन्। जसले युवालाई दिनानुदिन घँचेटिरहेको छ। सम्भावनाको खोजीमा भौतारिनु आखिर मानिसको स्वभाव पनि हो, अझ त्यसमाथि पनि युवाको त नहुने कुरै भएन।

नेपाल कृषिमा अपार सम्भावना भएको मुलुक हो। जसले यो क्षेत्रमा ठूलो संख्यामा रोजगारीका अवसर सिर्जना गर्ने हैसियत राख्छ। तर आज यही सम्भावनाका बीच देशका युवा आफ्नो जमिन बाँझो राखेर अरबका तातो बालुवामा तरकारी फलाउन बाध्य बनाइएका छन्। आज उर्वर भूमि तराईको जमिन बाँझो छ। जबकि त्यहाँका विशेष पर्वहरूमा करोडौँ रुपियाँको केरालगायतका फलफूल बाहिरबाट आयात गर्नुपर्ने बाध्य सिजिएको छ। यस्ता उदाहरण धेरै छन्।

त्यसैले आमनागरिकको भविष्य जोडिएको कृषिमा व्याप्त अपार सम्भावनामा ध्यान दिन अबचाहिँ ढिलो गर्नुहुँदैन। यसका लागि राज्यले आवश्यक लगानी गर्नैपर्छ। अन्यथा आज विभिन्न कारणले जे/जति युवा मुलुकमा टिकेका छन्, ती पनि रित्तिने निश्चित छ। यही अवस्था कायम रहेमा अबका दुई दशकमा समग्र देश बुढ्यौलीमा जानेछ जुन राष्ट्रिय तथ्यांकले प्रमाणित गरिसकेको पनि छ। मुख्य कुरा हामीले आफ्नो युवा शक्तिसँग साटिएको विदेशी मुद्रामा रमाउने कि उनीहरूलाई यहीँ व्यस्त बनाएर यहीँ बसी बसी त्यस्तो मुद्रा आर्जन गर्ने भन्ने हो। जसको साँचो सत्ता चलाउनेहरूको हातमा छ। 

प्रकाशित: १६ पुस २०८१ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App