यतिबेला विश्वका केही मुलुक यसरी अशान्त छन् कि जुनसुकै भेला युद्ध भड्किन सक्ने भय छ। विशेषगरी मध्यपूर्वमा देखिएको उन्मादले राम्रो संकेत दिइरहेको छैन। त्यसैगरी रुस–युक्रेन युद्ध र यही कारण दुई ध्रुवमा बाँडिएको विश्व पनि अर्को खतराका रूपमा देखिएको छ। एकले अर्कोका विरुद्ध लिने पक्षधरता बढ्दै जाँदा स्थिति झन् झन् विकराल बन्दै गइरहेको अवस्था छ। कतिपय मुलुक अहिले नै युद्धका कारण चौपट भइसकेका छन्।
यही क्रममा इजरायलले अहिले जस्तोखालको बर्बरता निम्त्याइरहेको छ, त्यो कसैका लागि पनि सुखद छैन। आफूलाई प्यालेस्टाइन विद्रोही समूह हमासले आक्रमण गरेको भन्दै उसले हमास सिध्याउने नाममा जे जस्ता कर्तुत गरिरहेको छ, त्यो प्यालेस्टाइन जनताको नरसंहारतर्फ लक्षित छ। त्यसैगरी लेबनानको विद्रोही समूह हिजबुल्लाह र यमनको विद्रोही समूह हुथीविरुद्ध पनि ऊ एकसाथ जाइलागेको छ। यसरी हेर्दा अहिले विश्वमा कुनै एक दिन छैन जहिले इजरायली सेनाले मानिस मारेका नहोउन्। फरक संख्या कति भन्ने मात्र हो।
अर्कोतर्फ हमास, हुथी र हिजबुल्लाहको आतंक पनि विश्व शान्तिका लागि उत्तिकै खतराको विषय हो। हुन त यिनको नामै विद्रोही समूह र जन्मै विद्रोहका लागि भएको हो। त्यसैले यिनीहरूका माग र समस्या बुझेर यिनलाई तह लगाउन सकिने बाटा कायमै छन्।
भनिन्छ– हरामदेखि राम पनि डराउँछन्। त्यसैले यिनीहरूलाई सखाप पारेर हैन, यिनीहरूसँग समन्वय गरेर मात्र विश्व शान्ति सम्भव हुन्छ। अवश्य यिनका पनि केही चाहना र माग छन् तर यिनलाई पूर्ति गर्न दबाब दिने बाटो मात्र गलत देखिएको हो। त्यसैले यिनले आतंकको मार्ग छाडेर वार्ताको बाटो रोज्नुको विकल्प छैन।
अर्कोतर्फ रुसले युक्रेनमाथि गरेको आक्रमण पनि चाँडै सकिने छाँटकाँट देखिन्न। रुस युक्रेनलाई बिरालोले मुसोलाई झैँ झन् जिस्काइ जिस्काइ घाइते बनाएर सिध्याउने अभियानमा देखिन्छ भने युक्रेन पनि पश्चिमा राष्ट्रहरूको गतिलो धापका कारण पछि हट्ने अवस्था देखिएको छैन। यो युद्धकै कारण युक्रेनबाट लाखौँ मानिस विस्थापित भइसकेका छन्। कैकयौँ मारिएका छन्। जसको असर चौतर्फीरूपमा परिरहेको छ।
सर्सर्ती हेर्दा अहिले मध्यपूर्वको युद्ध इजरायल र हुथी, हिजबुल्लाह, हमासबीच देखिए पनि यो यतिमा सीमित छैन। यी सबै विद्रोही समूह इरान समर्थित भएकाले यो युद्धमा इरान सोझै जोडिएको छ। त्यसैगरी यी सबै सिया मुसलमान समुदायका समूह भएकाले विश्वभरका सिया समुदाय पनि प्रत्यक्ष÷अप्रत्यक्षरूपमा जोडिने नै भए। त्यसैले यही युद्धका कारण कुनै पनि बेला इरान–इजरायल युद्ध भड्कन सक्ने सम्भावना टड्कारो देखिएको छ।
अर्कोतर्फ युक्रेन–रुस युद्धमा पनि पक्षधरता स्पष्टै देखिएको छ। विशेषगरी रुसको पक्षमा इरान, चीन, उत्तर कोरियालगायत शक्तिशाली राष्ट्रहरूसमेत छन्। अर्कोतर्फ इजरायल र युक्रेन दुवैलाई विश्व शक्तिको मान्यता पाएको अमेरिकाले राम्रैसँग काँध थापेको छ। त्यसैले यी युद्ध प्रत्यक्षरूपमा देखिए जस्तै सहज छैन। यो फैलिएर यसले उग्र र विशाल रूप लिन सक्ने मुख्य आधार पनि यही हो।
यस्तो अवस्थामा सन् १९४५ मा स्थापना भएको विश्व संस्था संयुक्त राष्ट्र संघको ७९औँ स्थापना दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। तर यसरी कार्यक्रम मनाउने क्रममा माथि उल्लिखित युद्ध रोक्न यो विश्व संस्थाको भूमिका खोजी भइरहेको छ। जसको स्थापना नै विश्वभर शान्ति, एकता र मेलमिलाप कायम राख्न पहल गर्ने मुख्य उद्देश्यबाट भएको थियो, आज उद्देश्य पूर्तिमा यो संस्थाको पहलकदमी खड्किरहेको छ। जुन आमविश्वका लागि चिन्ताको विषय हो।
युद्ध शक्ति हुनेले नसक्नेविरुद्ध लाद्ने कार्य हो। बलियोले निर्दोलाई सिध्याउन रच्ने खेल हो। शक्ति हुनेले जे पनि गर्न पाउने हो र उसलाई रोक्न नसकिने वा रोक्न नहुने हो भने संयुक्त राष्ट्रसंघ जस्ता निकायको आवश्यकता किन पथ्र्यो ? त्यसैले यो संस्थाले आफ्नो औचित्य पुष्टि गर्न पनि अहिलेको मौनता तोड्दै सक्रिय हुन जरुरी छ। जहाँसम्म शक्ति राष्ट्रहरूले उसलाई नमान्ने कुरा छ, त्यसका लागि पनि पर्याप्त प्रयास अपुग देखिन्छ।
युद्ध यस्तो अवस्था हो जसले मानव जातिको अस्तित्व नै समाप्त पारिदिन सक्छ। विज्ञान र प्रगतिको शिखर चुमिसकेको वर्तमान विश्वका लागि युद्ध विशाल कलंक हो। युद्धले कुनै वर्ग, समुदाय, जाति, वर्ण, रंग, ढंग कसैलाई पनि बाँकी राख्दैन किनकि यसको विशेषता नै सिध्याउने हो। त्यसैले यो वास्तविकता बुझेर युद्धरहित विश्व कायम राख्न संयुक्त राष्ट्र संघको भूमिका महŒवपूर्ण छ र हुनु पनि पर्छ। राष्ट्र संघको बडापत्रको प्रस्तावनामै पनि युद्धबिहीन विश्वको परिकल्पना उल्लेख भएको सन्दर्भमा यो काम संघको मुख्य दायित्वभित्रै पर्नुपर्छ। विडम्बना, यतिबेला यो संस्थाको यहीखाले सक्रियतामा कमजोरी देखिएको छ।
अहिले त स्थिति यतिसम्म बिग्रिसक्यो कि युद्धमा प्रत्यक्ष सामेल नभएका हजारौँ मानिसले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ। महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिक आदि दिनदिनै मारिइरहेका छन्। अस्पताल, विद्यालय मात्र हैन, अनाथाश्रमहरूसमेत बम र बारुदको निशाना बनिरहेका छन्।
अझ अचम्म त यो छ कि यस्तै युद्ध, अशान्तिबीच शान्ति कायम गर्ने र सबै पक्षबीच समन्वय गर्ने भनेर राष्ट्र संघले नै पठाएको शान्ति मिसनका कार्यालयमा समेत इजरायलले लगातार आक्रमण गरिरहेको छ। त्यसैले पनि राष्ट्र संघको विशेष सक्रियता अनिवार्य भएको हो।
केहीलाई लाग्न सक्छ-यो युद्ध युक्रेन र रुस वा इजरायल र मध्यपूर्वका केही देश वा विद्रोही समूहको मात्र चासो र चिन्ताको विषय हो। यस्तो सोचिएको छ भने यो सय प्रतिशत गलत छ। किनकि रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको छ जसको प्रत्यक्ष असर हामीसमेत भोगिरहेका छौँ।
त्यसैगरी इजरायल–विद्रोही समूह युद्धको असर लालसागर हुँदै ओसारपसार गरिने उपभोग्य सामग्रीलगायत अन्य धेरै विषयमा पर्दा त्यसको मार पनि हामी सहन बाध्य छौँ। युक्रेनमा होस् या इजरायलमा, नेपालीसमेत मारिएका घटना ताजै छन्। त्यसैले युद्धले माथि भनिएझैँ केहीलाई वा कुनै ठाउँमा मात्र नभई सबैलाई र सबै ठाउँमा ध्वस्त पार्ने हैसियत राख्छ। यही कारण पनि यसको फैलावट तत्काल रोकिनुपर्छ। जसका लागि संयुक्त राष्ट्र संघले नै पहलकदमी लिनुपर्छ भनिएको हो।
सर्वप्रथम राष्ट्र संघले रुसलाई युक्रेनमा र इजरायललाई विभिन्न देश र समुदायमाथिको आक्रमण तत्काल अन्त्य गर्न दबाब नै दिनुपर्छ। दबाब यस कारण कि अब उसको आग्रहले मात्र पुगेन र पुग्ने अवस्था पनि छैन। यसका लागि सदस्य राष्ट्रहरूको भेला बोलाएर वा सल्लाह गरेर सुझावसमेत लिन सकिन्छ। इजरायल र रुसले पनि संयुक्त राष्ट्र संघको आग्रह मान्नैपर्छ।
त्यति मात्र हैन, विद्रोही समूहहरू पनि यो विश्व संस्थाको आग्रहमा सहमत हुनैपर्छ। सहमत भए भने अहिले उनीहरूमाथि लादिएको एकोहोरो आपराधिक क्रियाकलापविरुद्ध विश्व सहानुभूति मिल्ने सम्भावना रहन्छ। यसो भएमा युद्ध तत्काललाई रोकिनेछ र वार्ता तथा सहकार्यका लागि आधारभूमि तयार हुनेछ। जसलाई प्रस्थान विन्दु मानेर युद्धलाई सदाका लागि बिदा गर्ने र विश्वमा शान्ति कायम गर्ने कार्यको श्रीगणेश हुन सक्छ।
-बराल मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति हुन्।
प्रकाशित: ८ कार्तिक २०८१ ०९:११ बिहीबार