देवी प्रतिभा पाशुपत क्षेत्रमा जारी श्री पशुपति कोटिहोम १०८ श्रीमद्भागवत् विश्व कल्याण मासिक ज्ञान महायज्ञकी एक चर्चित पात्र हुन्। भारतको धार्मिक थलो वृन्दावनस्थित राष्ट्र सेवा परिवारमा आबद्ध उनी कोटिहोम आयोजकको निम्तालु भएर पशुपति भित्रिएकी हुन्। उनको कथा प्रवचन प्रत्यक्ष र अप्रत्यक्ष सुन्नेहरू लाखौँ नाघेका छन्। मर्मस्पर्शी मानेर आँसु बगाउनेहरू उत्तिकै छन्।
उनी भारत पुगिसकिन् तर उनका शब्द, वचन र अनुहार अनि मन्त्रमुग्ध वाणीहरू अझै मोबाइल, कम्प्युटर र टेलिभिजनका स्क्रिनमा छाइरहेका छन्। तर लाखौँले देखेका उनका यी खुबी ‘केही’ का लागि जलनको विषय भयो। उनको बिहे/सम्बन्ध विच्छेद, उनका सुरक्षाकर्मी, उनको लवाइ र उनको रूपमा पुगेर अड्कियो यिनका नजर। देवी प्रतिभाले कति डोको पैसा लग्लिन् भन्नेमा केन्द्रित भयो चक्षु। अनि उनका गल्ती र कमजोरी कतिबेला फेला पर्छन् भनेर चौबीसै प्रहर खडा गराइए इन्द्रियहरू।
देवी प्रतिभा कथा वाचिका हुन्। उनले भन्ने कथा हिन्दू धर्मग्रन्थमा आधारित हुन्छन्। कथा सबै वास्तविक हुनै सक्दैनन्। अझ त्यसमा पनि धार्मिक कथा धर्मकै प्रबद्र्धनका लागि तयार पारिएको हुन्छ। जसलाई सम्बन्धित धर्ममा आस्था राख्नेले विश्वास गर्छन् र पत्याउँछन् पनि। यसलाई दुनियाँका सबैले कर्णप्रिय मान्नुपर्छ भन्ने नै छैन। तर कथालाई कथाकै रूपमा लिन नसक्नु र कथाभन्दा बाहिर गएर बझ्न खोज्नु देवी प्रतिभाको समस्या हुँदै हैन। अझ कथान्तरहरूको समेत महत्त्व बझ्न नसकेर उल्टै उनीमाथि खनिनु अल्पज्ञको परिचय सार्वजनिक गर्नु मात्र हो।
अर्की वाचिका पनि आएकी छिन् कोटिहोममा–चन्द्रकला सखी। उनले पनि कथा वाचन गरिरहेकी छिन्। उनका पछाडि पनि उत्तिकै लागेका छन् मानिस। मानौँ, यिनलाई बदनाम गराउन सकिएन भने जिन्दगी नै बर्बाद हुन्छ। उनका शब्द/शब्दको शल्यक्रिया गरिरहेका छन्, त्यसको अर्थ के हुन सक्छ र उनलाई उल्याउँ भनेर। आफूलाई थाहा नभएका विषय र शब्दको समेत आफूखुसी अर्थ लगाएर उनको खिल्ली उडाउने काम भइरहेको छ। लाग्छ, एउटा जमात नै खडा गरिएको छ उनको खिसीट्युरी गर्न।
देवी प्रतिभा र चन्द्रकलाका पछौटेहरू यतिबेला भागवत् वाचिका नौ वर्षीया अनुराधा पाण्डेको कमजोरी पत्ता लगाउन साम, दान, दण्ड र भेद जस्ता कूटनीतिक उपायका साथ लागिपरेका छन्। र, यो कार्यमा असफलता हात परेमा पृथ्वी नै रसातलमा भासिने भ्रमले उनीहरूको दिमागमा बास गरिरहेको छ। अझ विशेष गरेर ‘छोरी वाचिकाहरू’ को हुर्मत लिन ‘आमा वर्ग’ कै एउटा जमात पाखुरै सुर्केर लागिपरेको देखिन्छ, त्यो पनि नियोजित रूपमा।
देवी प्रतिभा, चन्द्रकला र अनुराधा यतिबेला शब्द चयन, बुझाउने शैली, नम्र बोली र धाराबाहिकताका कारण हिन्दू धर्मावलम्बीको मनमनमा विराजमान हुन सफल भएका छन्। हजारौँ दर्शकसामु बिनाहिच्किचाहट अविरल प्रवचन दिन सक्ने उनीहरूको आत्मविश्वासको प्रशंसाका लागि शायदै कुनै शब्द फेला पर्ला। तर ती पेशेवर निन्दक, जसका लागि यी पक्षको कुनै अर्थ भएन। उनीहरूको शालीनता र मृदुल स्वभाव मूल्यहीन बन्यो। त्यसैले त निरन्तर समाजलाई दिग्भ्रमित तुल्याउने कर्ममा लागिरहे, प्रतिस्पर्धाकै शैलीमा।
मानौँ, देवी प्रतिभाले एक पटक मात्र हैन, तीन पटक नै बिहे गरेकी रैछिन् रे। अरूलाई के फरक पार्छ त्यसले? उनले उमेर ढाँटेर २३ भनेकी रैछिन्, खास उमेर ३० वा ३५ नै रैछ रे। त्यसले के बिगार्छ हाम्रो ? उनले पढाइ, जन्मथलो, उमेर आदि ढाँटिन रे। के जान्छ हाम्रो? उनले दक्षिणा वा भनौँ, पारिश्रमिकका रूपमा ५० लाख रुपियाँ नै लगिन् रे। कसलाई किन टाउको दुखाइ?
आखिर नेपाली समाज किन यति धेरै आरिसे भइरहेको छ? किन हरेक कुरामा खोट मात्र खोज्न माहिर छ? किन यतिविघ्न नकारात्मकता छरिरहन उद्यत छौँ हामी? के नकारात्मकता समाज समृद्धिको पाटो हो ? नकारात्मकताको भर्याङ चढेर कुनै पनि मुलुक माथि उक्लेको इतिहास आजसम्म पढ्न पाइएको छ ? यी यस्ता प्रश्न हुन् जसले नेपाली समाजलाई सभ्य भनाउन आनाकानी गरिरहेका छन्। तर पनि हामी भने यस्ता पक्ष बझ्न अरूचि देखाइरहेका छौँ ।
जसको प्रवचन, कथा वाचन, गतिविधि, लेखनका कारण दुनियाँले तनाव बेहोर्नुपरेको छैन, जसको नित्तान्त वैयक्तिक मामलाका कारण अरूलाई हानि पुगेको छैन, जो जे उद्देश्यले आएको छ र त्यसमा ऊ सफल छ भने उसका अन्तरङ्गी कारणहरू खोतल्ने आवश्यकता कसलाई र किन पर्छ? यो दुनियामा कमजोरी नभएको कोही व्यक्ति आजसम्म जन्मेको अभिलेख छ? खोज्नेले जे खोज्यो त्यही पाउने हो। मौरीले फूल खोजेर हिँड्छ त्यही पाउँछ। झिँगाले फोहर खोज्दै हिँड्छ, त्यही फेला पार्छ। त्यसैले माथि उल्लिखित कथा वाचिकाका खोट खोजेर उनीहरूलाई उल्याउने, अपमानित गर्ने र कमजोर देखाउने प्रयास उचित छैन।
उनीहरू कथा वाचिका हुन्। तिनका कथा, उपकथा र लघुकथाका मर्म र सन्देश बझ्न चाहने हो भने आफ्नै मस्तिष्कलाई त्यति तनाव हुँदैन। जब कथाभित्र निबन्धका नियम खोजिन्छ, जब धार्मिक सभामा उपस्थित भएर कानुनी शब्दकोश पल्टाइन्छ, तब मस्तिष्कले दुःख आफैँ उत्पत्ति गर्छ। त्यसैले त शास्त्रमै भनिएको छ कि मानिसले बेहोर्नुपरेको दुःखको मुख्यकर्ता ऊ आफैँ हो।
ठीक छ, उनीहरूले भनेका केही कुराले कसैलाई आपत्ति हुन सक्छ। त्यसलाई किन लिइरहनु पर्यो? तपाईँले जिन्दगीमा कति पढ्नुभयो, कति भाषण सुन्नुभयो। सबै लिनुभयो? अहँ सम्भवै छैन। आफ्नै बाबु/आमाका अर्ती उपदेशसमेत सबै ग्रहण गर्नुभएन। त्यसैले कथा वाचिकाका पनि मन परेका भनाइ ग्रहण गरिदिएर आफूलाई मन नपरेका वा अपाच्य लागेका सबै त्यहीँ छाडिदिए यो तनावको अनावश्यक भारीबाट मुक्त हुनुहुन्छ। यो सजिलो उपाय अपनाउन छाडेर किन दुनियाँभरका वाचकले भनेका कुराको खण्डन गर्दै हिँड्ने वा अपजस देखाउने ठेक्का लिएर हिँड्नुहुन्छ? यसको टेन्डर नै परेझैँ।
जे कुरामा पनि अपजस देखाउन खप्पिस एउटा किसान खेतमा काम गर्न गएछ। दिउँसो श्रीमतीले श्रीमान्का लागि खाजाबापत दुई वटा अण्डा उसिनेर लगिछिन्। श्रीमान्ले हातमा अण्डा खेलाउँदै श्रीमतीलाई गाली गरेछ मलाई पकाएको मन पथ्र्यो, जान्ने भएर उसिनेर ल्याइछे। भोलिपल्ट त्यसैगरी खाजा लाने क्रममा श्रीमान्लाई पकाएको मन पर्छ भनेर पकाएर लगिछ। भोलिपल्ट फेरि पकाएको अण्डा हातमा खेलाउँदै श्रीमतीलाई गाली गरेछ– आज उसिनेको खान मन थ्यो, पकाएर मरिछ। त्यसपछि श्रीमान्को बानीबाट वाक्कदिक्क भएकी श्रीमतीले तेस्रो दिनचाहिँ एउटा अण्डा पकाएर र एउटाचाहिँ उसिनेर लगिछिन्। अनि ठानिछिन्, आज त श्रीमान् खुसी हुनेछन्। मलाई रिसाएर अपजस दिने ठाउँ पाउने छैनन्। त्यसपछि श्रीमान्ले एउटा हातमा उसिनेको र अर्को हातमा पकाएको अण्डा खेलाउँदै श्रीमतीलाई हकारेछन्– मर्न नसकेकी आइमाई, कस्तो बुद्धि नभएकी, पकाउनुपर्नेलाई उसिनिछे, उसिन्नुपर्नेलाई चाहिँ पकाइछे।
हामी नेपाली धेरै यस्तै अपजसप्रेमी भयौँ। जसले अपजसको खेती गर्छ उसलाई वाहवाही गर्ने भयौँ। खासगरी सञ्चारका नयाँ माध्यम दुरूपयोग गरी मुलुकमा अपजस र नकारात्मकताको खेती गरिरहेकाप्रति बढी नै विश्वस्त हुन थाल्यौँ।
आफ्नै आँखाले देखेको, आफ्नै छोरा/नातिले भनेको नमान्ने तर एकजनाले चटके शैलीमा सञ्चारको नयाँ माध्यममा हाउभाउसहित प्रस्तुत गरेको कुरामा भने सय प्रतिशत विश्वास गरिहाल्ने ठूलै जमात खडा गर्यौँ। अहिले आआफ्नो क्षेत्रमा राम्रो प्रख्याति कमाएका बालिका र युवा कथा वाचिकाहरू ‘ट्रोल’ को शिकार हुनु यसैको परिणामबाहेक अरू केही होइन।
जेरुसेलम मुस्लिम, इसाई र यहुदी तीन धर्म मान्नेहरूका आस्था केन्द्र हो। मक्का र मदिना मुस्लिमहरूको सबैभन्दा ठूलो तीर्थ हो। बौद्धमार्गी लुम्बिनी पुगिरहेका हुन्छन्। भारतकै सयौँ थलोमा विभिन्न धर्मावलम्बीका विशाल गतिविधि निरन्तर भइरहेका हुन्छन्। जहाँ शान्तिको खोजीमा दैनिक हजारौँ आस्थावान तड्पिरहेका हुन्छन्।
विश्वभरका हिन्दू धर्मावलम्बीका सबैभन्दा ठूला देवका पनि देव मानिने महादेव विराजमान भएको ठाउँ हो पशुपति क्षेत्र। यहाँ अहिले भएका जस्ता गतिविधि निरन्तर भइरहनु सिङ्गो मुलुकका लागि फाइदाजनक छ। सोझो अर्थमा भन्दा पशुपतिनाथकै कारण नेपाल धार्मिक पर्यटनको विश्व केन्द्र बन्ने सम्भावना राख्छ। यस्तो ठाउँमा भएको कोटिहोमको विरोध गरेर हामी कसको सेवा गर्दैछौँ?
अर्को कुरा, उच्चासनमा बसेर प्रवचन गर्ने, भाषण गर्ने, अर्ती/उपदेश दिने व्यक्तिभन्दा साथ पुरुष नै आउने नेपाली दिमागको छवि बदलिदिएर के गल्ती गरे यी वाचिकाले ? ठीक छ, बोल्दा केही शब्द तल–माथि पर्यो रे। के आकाशै खसाल्यो त्यसले ? तर यसैलाई अपराध करार गरेर हामी कस्तो न्यायिक समाज निर्माण गर्न खोज्दैछौँ ? के विश्व सम्पदा सूचीमा सूचीकृत भूमिमा बसेर उनीहरूले नेपाललाई विश्वमा चिनाएर गल्ती गरे? के भारत छिरेका नेपाली ‘कान्छा’, ‘कान्छी’ र ‘दरबान’ भन्दा माथि उठ्न मिल्दैनथ्यो ? हैन भने उनीहरूसँग आएका अङ्गरक्षक हाम्रा लागि गर्वको विषय हुनुपर्ने हैन र? नेपाली समाजमा हुर्कँदै गएको परपीडकपन यतिबेला यस्ता थुप्रै प्रश्न बोकेर बसेको छ जसले उसलाई अघि बढ्न गाह्रो तुल्याइरहेको छ।
कुरा आयोजकको पनि छ। केहीले आयोजकले धर्मका नाममा ठगी गरेको, पैसा कमाउने उपाय गरेको आरोप पनि लगाउँदै आएका छन्। यसमा पनि खासै चिन्ता लिनुपर्ने देखिन्न। यो मुलुकमा ठगी गर्नेहरूको अनुसन्धान गर्ने र कारबाहीसमेत गर्ने कानुन र वैधानिक निकाय दुवै छन्। त्यसैले बरु ठगी गरेको भए प्रमाणसहित त्यता उजुरी हाल्दा पनि टाउको दुखाइको औषधि सेवन गरिरहनुपर्ने झन्झट नहोला।
अन्त्यमा,
कतै पढेको प्रसङ्ग– एक दिन एउटा सर्पले जूनकीरीलाई निकै लखेटेछ। जूनकीरी थकित भएर रोकियो। त्यसपछि आक्रमण गर्नुअघि नै सर्पलाई रोक्यो र आग्रह गर्यो– ठीक छ मलाई आक्रमण गर तर पहिले मेरो केही प्रश्नको उत्तर देऊ। सर्पले सहमति जनायो। त्यसपछि जूनकीरीले सोध्यो– के म तिम्रो आहारा हो? सर्पले जूनकीरी खान्छ? सर्पले भन्यो– खाँदैन। जूनकीरीले फेरि सोध्यो– मैले तिम्रो केही नाश/बिगार गरेको छु ? सर्पले भन्यो– छैन। जूनकीरीले तेस्रो प्रश्न राख्यो– त्यसो भए मलाई किन लखेटिरहेछौँ? अनि सर्पले भनेछ– तँ किन चम्किएर हिँड्छस् त ? त्यही ईर्ष्या लागेर।
बडो चिन्ताको विषय, कतै हाम्रो समाज पनि त्यही सर्पले बोकेको परपीडक सिद्धान्तप्रति नतमस्तक हुँदै त छैन?
प्रकाशित: २५ श्रावण २०८१ ०७:४७ शुक्रबार