२३ भाद्र २०८१ आइतबार
image/svg+xml
विचार

के खाने? कति खाने?

धेरै खानु मानवजनस्वास्थ्य, वातावरण र खाद्य सुरक्षाको दृष्टिकोणले पनि खराब मानिन्छ। अझ बढ्दो वैश्विक जनसङ्ख्यालाई खुवाउनुपर्दा हरित गृह ग्यास उत्सर्जन बढ्ने, पानीका मुहानहरू सुक्ने/रित्तिनुका साथै प्राकृतिक विविधतामा खलल/नोक्सानी पुग्न जान्छ।

गलत खाद्य प्रणाली वा बानीले लगभग एक अर्ब भोकमरीको चपेटामा छन् भने लगभग  दुई अर्ब मानिस अत्यधिक गलत खाना खान्छन। संसारभरि हेर्दा ग्राहकलाई उपलब्ध गराएको खानेकुरा लगभग २० प्रतिशत धेरै खाएर वा नोक्सान भएर खेर जाने गरेका छन्। विश्व जनसङ्ख्याले आवश्यकभन्दा १० प्रतिशत बढी खाद्य खपत गर्छ जबकि लगभग नौ प्रतिशत त्यत्तिकै नोक्सान भएर जान्छ।

मानव सभ्यताको घुमन्ते र संग्रहकर्ताको युगबाट आज हेर्दा हामी रासका रास/ठुसी ठुसी/कोची कोची खानेमै पर्छौँभन्दा अत्युक्ति हुँदैन। पहिलेदेखि नै मानवले स्वादिलो खानेकुरालाई प्रशंसाले पुरस्कृत गर्दै आएका छन्, भलै त्यो पोषणको हिसाबले न्यूनतहकै किन नहोस्। उठेदेखि नसुतुन्जेलसम्म केही न केही कुचुकुचु खाइराख्ने, तीव्र गतिको जीवनशैलीमा हिँडडुल कम, बसाइ धेर त्यसमाथि पनि अत्यधिक बोसो/चिनी/नूनयुक्त खानाले धेरैको पेट पुटुक्क बाहिर निस्किएको देखिन्छ, अनि कम्मरको नाप पनि बढेकै हुनुपर्छ।

खानेकुरा उपभोगप्रति मान्छेको मनोवृत्ति पनि धेरै परिवर्तित भइसकेको छ। टेबलमा बसेर अरूसित खानुभन्दा कार/सार्वजनिक यातायात/डेस्कमै/हिँड्दाहिँड्दै/मोबाइल चलाउँदै/सिनेमा हेर्दै खानु सामान्य जस्तै भइसकेको छ। जसले गर्दा कति खाइयो भन्ने भेउ पाउनै छाडिसकेका छन्। थाहा पाइ/नपाइ सामान्यतः दिनमा चारपल्ट त खाइन्छ नै। तर अहिले पनि यस्ता धेरै देश छन् जहाँ भोकमरी छ।

गरिबी, भोकमरी र कुपोषण भन्नेबित्तिकै विकासशील देशहरूको पर्याय हुन आउँछ भने विकसित राष्ट्रचाहिँ अत्यधिक उपभोग गर्छन् भन्दा फरक पर्दैन। तर विडम्बना विकासशील देशहरूमा आश्चर्यजनक ढंगले अधिक वजन र मोटाइका मानिस बढ्दो छन्। भनौँ, विगत तीन चारदशकदेखि ती देशमा तीन गुणाले मोटो मानिसको सङ्ख्या बढेको छ। जो धनी देशको तुलनामा गरिब देशमा दुई गुना बढी रहेको अध्ययनमा पाइन्छ।

चीनको आर्थिक चमत्कार सँगसँगै स्वास्थ्यजन्य दुष्परिणामहरूमध्ये मधुमेह लागेकाको संख्या अन्य देशको तुलनामा १२ प्रतिशतभन्दा बढी देखिएको छ। बढ्दो औद्योगिकीकरण र शहरीकरणले धन वृद्धि गरेसँगै मानिस कम भौतिक क्रियाकलाप गर्ने तर अत्यधिक क्यालोरीयुक्त/अस्वस्थकर खानेकुरा (जस्तै-मासुजन्य, पिज्जा, बर्गर, चाउचाउ आदि) उपभोग गर्ने आमप्रचलन भइसकेको छ। जसमा यसका प्रकृतिअनुसार बोसो, चिनी र नूनको मात्रा आवश्यकभन्दा बढी नै हुन्छन्, जो विश्वभर बहुसंख्यक अल्प आयु/मृत्यु/रोगका कारण हुन् भने मोटाइ सबैभन्दा प्रमुख जोखिम तत्वमध्ये पर्छ। अधिक बोसो/मासु/चिनी/भाग खानेकुराले नसोचेको स्वास्थ्य समस्या निम्त्याउँछ।

विश्वमा गरिबी र कुपोषणले भन्दा नसर्ने रोगले मान्छे मर्ने सङ्ख्या अत्यधिक छ। विश्व स्वास्थ्य संगठनका अनुसार चार प्रमुख नसर्ने (मधुमेह, कार्डियोभास्कुलर, केही खाले क्यान्सर र दीर्घ छातीका) रोगहरू सूचीकृत गरेको छ। वैश्विक प्रवृत्ति हेर्दा केही खाले क्यान्सर, मधुमेह, मस्तिष्क/हृदय घात अत्यधिक बढ्ने देखिन्छ।

सन् २०१८ मा गरिएको एक अध्ययनअनुसार बेलायतका वयस्क (पुरुष र महिला) ले चाहिए भन्दा ५० प्रतिशत बढी क्यालोरीेयुक्त खानेकुरा उपभोग गर्ने गरेको भेटिएको थियो। साथै सार्वजनिक स्वास्थ्य पोषणको अध्ययनले अत्यधिक प्रशोधित खानेकुरा खरिदमा क्रमशः बेलायत (५०.७), जर्मनी (४६.२) र आयरल्यान्ड (४५.९) प्रतिशत तथ्याङ्क देखाएको छ।

बेलायतमा कुरकुरे जस्ता कुरुम कुरुम हुने खानेकुरा प्रतिवर्ष ६ बिलियन प्याकेट (लगभग प्रत्येक तीन मिनेटमा एक टन/प्रतिव्यक्ति १०० प्याकेट) उपभोग हुन्छ। अमेरिका र बेलायतका औसत नागरिकले जस्तै अरू देशका नागरिकले खाए भने त्यस मागलाई सामना/परिपूर्ति गर्न अरू ग्रह आवश्यक पर्ने देखिन्छ।

प्रचलित कथन छ-‘हामी सबै नै अत्यधिक खान्छौँ किनकि हामीसँग इच्छाशक्तिको कमी छ।’ अझ भनौँ, नाइँ/भयो/पुग्यो/खान्न भन्न हामीलाई धेरै गाह्रो लाग्छ किनकि थप्दा मानेन भने निम्त्याउनेले अपमानित महसुस गर्न सक्छ, कतै कतै बलजफ्ती थप्ने चलन पनि छ। ‘वैज्ञानिक दाबी नै त नभनौँ यस मामलामा हामीले इच्छाशक्ति गुमाएको सायद पाँच दशक भइसकेको छ’, अमेरिकी लेखक स्टिभ हेन्डरिक्स भन्छन्।

नेचर न्युरोसाइन्स जर्नलका अनुसार मस्तिष्कमा भएका केही न्युरोनहरू जो डर नियन्त्रण प्रतिक्रियामा उत्तरदायी छन्, हुनसक्छ तिनीहरू नै चिनी/बोसोयुक्त खाना खान जोड दिन्छन्। त्यस्तै केही यस्ता न्युरोनहरू पनि छन् जसले उत्तेजना र निर्णय लिन अनुभव गराउनुका साथै आनन्दित हुनैका लागि अत्यधिक/अस्वस्थकर खाना खान प्रेरित गर्दछ न कि शारीरिक शक्ति कायम राख्नका लागि।

अस्वस्थकर खाना भन्नाले रातो मासु, चिनी, संतृप्त बोसो आदि बुझिन्छ। यस्ता खानेकुरालाई ५० प्रतिशत घटाएर त्यसको साटो गेडागुडी, ड्राइ फ्रुट, फलफूल तथा तरकारी उपभोग शतप्रतिशत बढाएर बानी परिवर्तित गर्न सके संसारभर अल्प आयुको मृत्युलाई १९ देखि २३ प्रतिशत घटाउन मद्दत गर्नेछ। डेनमार्कमा बोसोयुक्त खानेकुरामा लगाउने बोसो कर, जर्मनीमा चिनी कर जस्ता नीतिगत व्यवस्थाले अस्वस्थकर उपभोगलाई हतोत्साहित गराई जनस्वास्थ्यमा अत्याधिक ध्यान पुर्‍याइएको छ।

कति मात्रा खाना खान सही हो? भन्ने सवालमा व्यक्तिको उमेर, क्रियाकलाप र मेटाबोलिज्ममा भर पर्दछ। सम्भवतः दैनिक एक सामान्य महिलालाई एक हजार सात सय र पुरुषलाई दुई हजार दुई सय क्यालोरी आउने जति खाना भए पुग्छ। औधी भए थप दुई सय क्यालोरी मध्यम स्तरको जरकमरक गर्नेले लिँदा हुने कुरा एक शोधले बताउँछ। अन्यथा धेरै खाने बानी/अस्वस्थकर खानाले बिरामी त गराउँछ नै, साथै सार्वजनिक तथा व्यक्तिगत खर्चमा उपचारका कारण अधिक भार पर्दछ किनकि बिरामी भएपछि सामान्यजनको आम्दानीले खर्च नधान्न सक्छ।

अन्त्यमा, मानिसको धेर खाने बानी/उपभोगले पृथ्वी माथि अधिक खाद्य उत्पादन गर्नुपर्ने दबाब सिर्जना हुन थालेको छ। यसले औषधि सेवन मात्रै बढाउँदैन, अपितु कृषि तथा वातावरण परिवर्तनमा समेत गम्भीर असर पुर्‍याउँछ।

प्रकाशित: ३१ असार २०८१ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App