१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
विचार

भन्ने समाजवाद, गर्ने वंशवाद

राजनीतिक दलमा वंशवाद हाबी हुँदै गइरहेको छ। पार्टीमा बसेर अहोरात्र काम गर्नेहरू छायाँमा परेका छन्। संघारमा आएको उपचुनावमा राजनीतिक दलहरूले उठाएका उम्मेदवारहरूलाई हेर्दा वंशवादको गन्ध ह्वास्सै आउँछ।

नेकपा एमालेले इलाम २ मा हुन लागेको उपचुनावमा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ। कानुनी पेसामा रहेका सुहाङ बुबाको विरासत जोगाउन एकाएक राजनीतिमा आउँदैछन्। एमालेमा दोस्रो वरियताका नेता उनको गत भदौमा मृत्यु भएको थियो। संविधानसभाको अध्यक्षसमेत भएका उनी २०५६ सालदेखि इलाम २ बाट लगातार विजय हुँदै आएका थिए।

बझाङ १ एकको उपचुनावमा पनि नेपाली कांग्रेसले वंशवादलाई नै पछ्याएको छ। त्यहाँ स्वर्गीय पृथ्वीबहादुर सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरिसकेको छ। कांग्रेसको प्रभावशाली नेताको रूपमा चिनिने पृथ्वीबहादुर सवारी दुर्घटनामा परी निधन भएको थियो। सिंहका छोरा अभिषेक नेपाल विद्यार्थी संघको राजनीतिमा थिए। २०७९ को स्थानीय तहको निर्वाचनमा जय पृथ्वी नगरपालिकामा वडा अध्यक्षमा चुनावसमेत लडेका अभिषेक कांग्रेसको वंशवादलाई सार्थकता दिन्छन् या दिँदैनन्, चुनावको परिणामले देखाउला नै।

राजनीतिक दलहरूले बुबाको मृत्युपछि छोरा, श्रीमानको मृत्युपछि श्रीमतिलाई अघि सार्नु, हजुरबुबाको मृत्युपछि नातिलाई अघि सार्नु कुनै नौलो अभ्यास हैन तर मुख्य कुरा भनेको गलत अभ्यास, गलत प्रवृत्तिको संस्थागत सिकार भावी पुस्ता हुनुहुँदैन भन्ने हो। मुलुकको शासन सञ्चालन गर्ने एक मात्र निकाय भनेको राजनीतिक दल हो।

प्रत्रातान्त्रिक अभ्यासमा मुलुकको सत्ता सञ्चालनमा राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुन्छ। जनताको मतबाट चुनाव जितेर सत्ताको साँचो राजनीतिक दलको हातमा पुग्छ। जनताको समृद्धि र मुलुकको सुशासनलाई अब्बल बनाउने जिम्मेवारी सत्तासीन दलको हुन्छ।

नेपालमा राजनीतिक दल जनमुखी विकासप्रेमी समृद्धिकेन्द्रितभन्दा पनि वंशकेन्द्रित, नातावाद, कृपावाद, अवसरवाद, दलमुखी बन्दै गएका छन्। राजनीतिलाई उत्कृष्ट समाजसेवा बनाउनुपर्ने भनिन्छ तर कमाइखाने साधन बनाउनेहरूको भिड बढिरहेको छ। नीति र सिद्धान्तभन्दा पनि दलहरू स्वार्थी अवसरमा रमाउँदै गएका छन्। पाटीभित्रै प्रजातन्त्रको अभ्यासलाई राजनीतिक दलहरूले निष्क्रिय बनाएका छन्। 

पार्टीमा त्याग र समपर्णबाट आजीवन काम गर्नेहरूलाई पाखा लगाउने अभ्यास दलभित्र तीव्र छ। समावेशिता, समता भन्ने कुरा दलहरूका लागि चराको नाम बनिरहेको छ। पार्टीभित्रका विषय विज्ञ जनस्तरको समस्या नजिकबाट बुझेका समाधानसहितको समस्या देखाउनेहरू पार्टीको नजरभन्दा टाढा हुन्छन् र अवसरमा पर्दैनन्।

आफूले गर्दाचाहिँ सबै ठीक हुने अरूले गर्दा बेठीक हुने देशको समस्या जनस्तरको समस्या कसैले भन्न थाल्यो वकालत गर्न थाल्यो भने राजनीतिमा त्यो छट्टु हुन्छ। नयाँ भर्खरको मान्छे राजनीतिमा उदायो भने जनताले पत्याएर भोट दिइहाले भने पनि अल्लारेहरू केही समय कराउँछन्, आफैँ हराउँछन् भन्दै खिल्ली उडाउने गरिन्छ।

तर आफूले चाहिँ जे गर्दा पनि ठीक गरेको भन्नेहरूले राजनीतिक दलको नैतिकता धरापमा पारिरहेको देखिन्छ। चुनावमा कृपावाद, नातावाद, वंशवादभन्दा पनि विज्ञवाद, अनुभववाद, पार्टीमा रहेर देखाएको सक्रियतावाद, जनतामा पारेको प्रभाववादलाई महत्त्व दिनु पार्टीभित्रको रूपान्तरण उजागर गर्नु हो। पार्टीभित्र जब रूपान्तरणको अभ्यास सुरु हुन्छ, यसले सिंगो पार्टीको गरिमा बढाउन त मद्दत गर्छ नै, आजीवन पार्टीका लागि समय बिताएकाहरूले अवसर पनि त्यत्तिकै पाउने अवस्था आउँछ।

सांसद भनेको पार्टीको ह्विपमा हात उठाउने मात्रै हैन, अल्पमत र बुहमतको जोडघटाउमा टाउको गणना गर्ने साधन मात्रै हैन, सांसद भनेको अब्बल ऐन कानुनका लागि विचार र नीति दिने संस्था पनि हो। त्यसैले दलहरूले लहडमा चुनावका लागि उम्मेदवार उठाउने प्रवृत्तिलाई सँधैका लागि अन्त्य गर्न जरुरी छ। जोसँग जे विज्ञता छ, ऊसँग त्यही विशेषताको अपेक्षा गर्नुपर्दछ। विज्ञताभन्दा बाहिरको कुराको अपेक्षा गरेको भएर नै जनमुखी नेताको खडेरी बढिरहेको हो।

जब जब नेतृत्वले राजनीतिक आदर्श, सिद्धान्त र विचारलाई अवसरवादमा बदल्ने प्रयत्नमा देखिन्छ भने त्यसबाट जनमुखी अपेक्षा र आकांक्षामाथी गम्भीर धोका दिएको ठानिन्छ। नेतृत्वले पार्टीभित्रका संघर्षका योद्धाहरूलाई गुमनाम पार्ने अभ्यासमा आफूलाई सिद्धान्त र विचारको संवाहक ठान्छ भने त्यो जत्तिको गद्दार नेतृत्व कोही हुन सक्दैन। 

प्रकाशित: २६ चैत्र २०८० ०७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App