वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र दक्ष जनशक्ति नभएको बताएका छन्। नेपालमा आगलागीको जोखिम कम गर्न र विद्युतीय सुरक्षासँग सम्बन्धित नयाँ प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा आइतबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो कुरा उल्लेख गरे।
मन्त्री ठकुरीले वन डढेलो नियन्त्रणका लागि सरकारसँग दमकल बाहेक अन्य विकल्प नभएको बताए। सरकारले वन डढेलोलाई गम्भीर रूपमा लिएर विभिन्न विकल्पबारे सोचिरहे पनि जटिल भूबनावटका कारण सरकार एक्लैले यो समस्या समाधान गर्न नसक्ने उनको तर्क छ। सबै सरोकारवाला पक्षको सहकार्य र समन्वय जरुरी रहेको उनले जोड दिए।
उनले भने, ‘नेपाल सरकारले वन डढेलोलाई गम्भीर रूपमा लिएको छ। तर यो समस्या कम गर्न सरकारको मात्र प्रयासले पुग्दैन। वन डढेलो नियन्त्रणका लागि सबैको साथ चाहिन्छ। सरोकारवाला निकाय, नागरिक समाज, स्थानीय समुदाय र युवाहरूको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। वन तथा वातावरण मन्त्रालयले यसलाई ठूलो विपद्का रूपमा लिएर काम गरिरहेको छ। राज्यका सबै संयन्त्रहरू डढेलो व्यवस्थापनमा लागेका छन्। केही हदसम्म वन डढेलो कम भएको छ। तर दमकल बाहेक हामीसँग अरू विकल्प छैनन्। हामी नयाँ विकल्पहरू खोजिरहेका छौँ।’
उपकरण र दक्ष जनशक्तिको कमीले नेपालमा वन डढेलोले ठूलो जनधनको क्षति पुर्याउने गरेको उनले बताए। यसबारे सबै सचेत हुन जरुरी रहेको उनको बुझाइ छ। सोमबारसम्म चल्ने यो सम्मेलनमा १४ देशका विज्ञहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन्।
प्रकाशित: २४ चैत्र २०८१ १४:०२ आइतबार