५ वैशाख २०८१ बुधबार
विचार

धर्म र जातीयताको राजनीतीकरण

जात, धर्म, भाषा, संस्कृति मानव समाजका अत्यन्त संवेदनशील पहिचान हुन। यिनीहरूलाई स्वतःस्फूर्त र समाज विकासको प्राकृतिक प्रक्रियाबाट अगाडि बढ्न दिनुपर्छ। अन्यथा यसले धेरै जटिलता ल्याउन सक्छ। अझ धर्म, भाषा र जातीयतालाई राजनीतिक स्वार्थमा उपयोग गर्दा जटिल द्वन्द्व सिर्जना भई समाज क्षतविक्षतसमेत हुन सक्छ।

धर्मको दुरूपयोग नहोस् भनेर ‘परोपकाराय पुण्याय्, पापाय परपिडनम्’ भन्ने सार खिचिएको हो र यो द्वन्द्व समाधानको मूल मन्त्र हो। अहिले हाम्रो देशमा देखिएको धार्मिक तनावको एक प्रमुख कारण यही  मान्यता लत्याएकाले पनि हो। अर्को महत्वपूर्ण कारण चाहिँ तत्कालीन नेकपा (माओवादी)ले २०५२ सालमा सुरु गरेको सशस्त्र द्वन्द्वमा र त्यसपछि पनि धर्म र जातीयताको राजनीतीकरण गरेको कारणले हो। त्यो १० वर्षे सशस्त्र द्वन्द्वको बहुआयामिक सकारात्मक र नकारात्मक परिणाममध्येको एउटा दीर्घकालीन दुष्परिणाम राजनीतिक स्वार्थका लागि धर्म र भाषा, भूगोल र जातीयताको राजनीतीकरण हो। राजाले धर्मको राजनीतीकरण गरे भन्ने माओवादी आफैँले धर्म, भाषा, भूगोल र जातीयताको समेत राजनीतीकरण गर्‍यो। यसैको परिणाम हो, अहिले धरानलगायत देशका विभिन्न भागमा देखिएको तनाव र द्वन्द्व।

द्वन्द्वका मूल कारण

द्वन्द्व मनोसामाजिक र मनोवैज्ञानिक चिन्तनको उपज हो र यो व्यक्तिको मनमस्तिष्कबाट सुरु भई दुई वा दुई भन्दा बढीव्यक्ति भएपछि सार्वजनिकरूपमा प्रष्फुरण हुन्छ र यसैको सामाजिकीकरण भई समाजमा द्वन्द्व सिर्जना भएको देखिन्छ। द्वन्द्व मनोवैज्ञानिक र मनोसामाजिक चिन्तनको उपज भएकाले यो अहंसँग, हीनताबोधसँग, अन्यायको अनुभूतिसँग, प्रतिशोधको भावनासँग, धनी शक्तिशाली–प्रभावशाली हुने अति महत्वाकांक्षासँग, शक्ति स्रोत र सत्तामा पहुँच र नियन्त्रणसँग प्रत्यक्ष जोडिएको हुन्छ र यो नै द्वन्द्वको आधारभूत कारण हो।

जातीय र धार्मिक सवालहरू अत्यन्त संवेदनशील र वैयक्तिक हुने हुँदा यसलाई राजनीतिक रूपमा दुरूपयोगको अभ्यास तत्काल बन्द गर्नुपर्छ।

हरेक व्यक्तिको यही मनोवैज्ञानिक अवस्थालाई बाहिरी (वा भित्री) स्वार्थ समूहले उपयोग गरी (थाहा नभइकनसमेत) समाजमा द्वन्द्व सिर्जना गराउँछन्। द्वन्द्व अवधारणागत रूपमा आफैँमा खराब मात्र हुँदैन। यो त सिर्जनात्मक प्रयोजनका लागि रूपान्तरण र परिवर्तनका लागि अपरिहार्य आवश्यकता हो। जब द्वन्द्वलाई माथि उल्लेख गरिएका निहीत स्वार्थका लागि अरूलाई परपीडा दिने गरी दुरूपयोग गरिन्छ यो खराब बनिदिन्छ। त्यसैले द्वन्द्वलाई निरपेक्षरूपमा नकारात्मक रूपमा मात्र अर्थ्याउनु हुँदैन।

हरेक व्यक्तिको यही मनोवैज्ञानिक अवस्थालाई बाहिरी (वा भित्री) स्वार्थ समूहले उपयोग गरी (थाहा नभइकन समेत) समाजमा द्वन्द्व सिर्जना गराउँछन्। द्वन्द्व अवधारणागतरूपमा आफैँमा खराब मात्र हुँदैन।

संसारका विभिन्न देश र भौगोलिक क्षेत्रहरूमा भएका द्वन्द्वहरूको अध्ययनको संश्लेषण गरी द्वन्द्वको प्रकृतिको वर्गीकरण गरिएको छ। जसअनुसार आवरणमा देखिने द्वन्द्वहरूमा क) राजनीतिक द्वन्द्व, ख) आर्थिक द्वन्द्व र ग) सामाजिक द्वन्द्व, घ) जातीय द्वन्द्व, ङ) धार्मिक द्वन्द्व र च) पृथकतावादी द्वन्द्व।

सामाजिक द्वन्द्व समाधानका लागि तुलनात्मक रूपले सहज हुन्छन् तर यी जातीय द्वन्द्व, धार्मिक द्वन्द्व र पृथकतावादी द्वन्द्व सुरु भएपछि यसको व्यवस्थापन सामाजिक–आर्थिक–राजनीतिक द्वन्द्व समाधानभन्दा ज्यादै जटिल हुन्छन्। यो यथार्थ नेपालका जातीय–धार्मिक द्वन्द्व बढाई राजनीतिक लाभ लिन्छु भन्ने नेताहरूले बुझिदिए यसको व्यवस्थापन धेरै सहज हुने थियो।

नेपालमा बहुलता र द्वन्द्व

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र उच्च सामाजिक सहअस्तित्व स्वीकार्ने समाजहरूबाट निर्मित राष्ट्र हो। विगतका सम्भाव्य विकराल परिणाम ल्याउन सक्ने गतिविधि समाजको यही चरित्रका कारण नै निस्तेज भएका थिए। यथार्थमा बहुलता भएको कुनै पनि समाजमा द्वन्द्व भड्काउन सजिलो छैन।

नेपालमा १३० भन्दा बढी जातजाति र १२९ भन्दा बढी भाषाभाषी भएकाले यी जाति र भाषासँग जोडिएका धार्मिक, सांस्कृतिक, ऐतिहासिक विविधता नेपालको शान्ति प्रबद्र्धनका आधार हुन। यसै भएर हाम्रो देशमा विगतमा उग्र जातीय, धार्मिक र भाषिक द्वन्द्व बढाउन खोजेर पनि ती प्रभावकारी र निर्णायक नभएका हुन्।

जातीय द्वन्द्व

थोरै मात्र जातीय समूह भएका ठाउँमा भने जातीय द्वन्द्व बढेका प्रमाण सर्वत्र पाइन्छन्। उदाहरणका लागि हालै भारतको मणिपुर राज्यमा मैतेई र कुकी जाति बीचको द्वन्द्व, दक्षिण अफ्रिकाको काला र गोराबीचको द्वन्द्व, रुवान्डाको हुतु र तुत्सीबीचको आमनरसंहार तथा बाल्कन, चेचेनिया, श्रीलंका, इराक, इन्डोनेसिया, मिन्दनाव (फिलिपिन्स) लगायतका संसारका धेरै ठाउँमा जातीय तनावमा धर्म मिसाउँदा ठूला द्वन्द्व सिर्जना भएका छन्।

भारतको अयोध्यामा भएको हिन्दु–मुस्लिम द्वन्द्व, उत्तरी आयरल्यान्ड, फिलिपिन्सलगायतका द्वन्द्वहरू धार्मिक अतिवादका कारण भएका थिए भने अहिले इथोपियाको अम्हारा प्रदेशमा जातीय तनावले उग्र रूप लिएको देखिन्छ। इरिट्रिया इथोपियाबाट छुट्टिँदा भएको द्वन्द्व पृथकतावादी चरित्रको अर्को उदाहरण हो।

नेपालमा देखिएको धार्मिक र जातीय विद्वेष

नेपालमा अहिले किन धार्मिक र जातीय विद्वेष बढाइँदैछ? नेपालमा अहिले जुनखालका जातीय र धार्मिक विद्वेष बढाइँदैछ यसको ४–५ वटा महत्वपूर्ण अन्तर्सम्बन्धित कारण छन्। पहिलो, माओवादी सशस्त्र द्वन्द्वको समयमा उसले जातीय र धार्मिक सवाललाई आफ्नो प्रभाव बढाउने माध्यमका रूपमा लिएको गलत रणनीति र पछिसम्म पनि दोधारे मानसिकताका देखाएकै कारण जुन समुदायमा गयो त्यसैको राज्य, त्यही धर्ममाथि अन्याय भएको भन्ने जस्ता सस्ता अभिव्यक्तिले उग्र सोच राख्नेहरूमा पुगेको सहयोग। यसका उदाहरणले केही समयपहिले प्रधानमन्त्रीले एउटा जनजातिको भेलामा आफ्नो पार्टीलाई अर्को चुनावमा बहुमत दिए जातीय पहिचानको राज्य दिने भन्ने तर यता कोसी प्रदेशको संसद्मा आफ्ना पार्टीका सांसदलाई कोसी प्रदेश नामाकरणको पक्षमा मतदान गर्न लगाउने रणनीति।

जाति, धर्म जस्ता संवेदनशील सवालमा गरिने यस्ता द्वैध व्यवहारबाट जटिलता मात्र थपिन्छ, स्थिति भड्किन्छ र कालान्तर यसले देशलाई अप्ठेरो बाटोतर्फ लैजान्छ। विशेष परिस्थितिमा जातीय र धार्मिक सवाल उठे पनि यिनीहरूलाई एकीकृत शान्ति सम्झौता र नेपालको संविधान र प्रदेश संसद्हरूले टुंग्याइसकेका छन्। फेरि यसलाई उठाउनु भनेको देशमा तनाव सिर्जना गर्नु र अशान्तिको बिउ रोप्नु मात्र हो।

अवश्य पनि जातीय, क्षेत्रीय, लैंगिक, आर्थिक सामाजिक विभेद नेपालमा सही तरिकाले सम्बोधन भएको छैन र यसको सम्बोधन हुनै पर्छ। तर जातीय राज्य बनाएर वा एउटा धर्मको पक्ष या विपक्षमा उभिनु कदापि ठीक होइन।

विद्वेष न्यूनीकरणको रणनीति

जब मानिसको मनोभावनामा नकारात्मक प्रभाव पर्छ, तनाव हुन्छ, अहं बढ्छ, हीनताबोध बढ्छ, प्रतिरोधको भावना र अन्यायको भावना बढ्छ, त्यसलाई सम्बोधन गर्न त्यही समस्या सापेक्ष शैली र अभ्यास आवश्यक छ।

सामाजिक सद्भाव प्रबद्र्धनका तत्कालीन, मध्यकालीन र दीर्घकालीन उपायहरूको एकीकृत अभ्यास आवश्यक छ। दीर्घकालीन र मध्यकालीन उपायहरूमा देशका नमिलेका कानुनी, नीतिगत र संरचनागत सुधार (जातीय, क्षेत्रीय, धार्मिक विभेदका अवशेषहरूको अन्त्य, सामाजिक न्यायसहितको समानुपातिक सहभागिता) र तत्कालीन उपायहरूमा धार्मिक र जातीय संवेदनशीलता बुझी यसलाई राजनीतिक लाभहानिका लागि प्रयोग नगर्ने, सामाजिक अगुवा, अन्तरधार्मिक सञ्जालका नेताहरू, धर्मगुरुहरू, समाजमा प्रभाव रहेका प्राध्यापक, शिक्षक, वकिल, पत्रकार लगायतले हिंसा भड्काउने गतिविधिविरुद्ध र सामाजिक सद्भावमा हामी एक रूप आह्वान गर्ने तथा हिंसा उग्र भड्किने अवस्था देखिएमा प्रशासनिक उपायहरूको सावधानमूलक रूपले उपयोग गर्नुपर्छ। अन्त्यमा, जातीय र धार्मिक सवालहरू अत्यन्त संवेदनशील र वैयक्तिक हुने हुँदा यसलाई राजनीतिक रूपमा उपयोग गर्ने अभ्यास तत्काल बन्द गर्नुपर्छ।  

प्रकाशित: १७ भाद्र २०८० ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App