१९ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

पोल्ट्री उद्योगमा प्रतिस्पर्धा

नेपालको परिवेशमा गाउँ, घर, सहर, टोल–टोलमा ह्याचरी खोल्ने प्रतिस्पर्धा छँदैछ। अझ लोकल (काठे) विभिन्न जाति प्रजातिका पालिएको भनेर पनि विज्ञापन पढ्न पाइन्छ। बजारमा नपाइए पनि अनुहार किताब यस्ता विज्ञापनले भरिएका देखिन्छ। टर्की, टुर्की, कडकनाथ, खडकनाथ आदि आफ्नै उत्पत्तिस्थलमा विलोप हुने स्थितिमा छन् तर नेपालमा सर्वसुलभ। यसै मेसोमा यस महिनाको सुरुका दिनबाट कुखुराका चल्ला, बोइलर, लेयरको चल्ला पाल्नबाट बिदा बसेको खबर अनुहार किताब अनि अनलाइनमा व्यापक भयो। बोइलर कुखुराको फुल १३ रुपियाँमा पाइरहेकामा अब अभाव होला कि? मासु ५००-६०० र फुलको भाउ त प्रतिगोटा २५-३० रुपियाँ पुग्ला जस्तो पनि लाग्यो। तर आश्चर्य त्यतिबेला लाग्यो जतिबेला मासु रु. दुई सय प्रतिकेजी र फुल प्रतिगोटा रु.१२ मा पो पाइने रहेछ काठमाडौँमा। कारण सोधिखोजी गर्दा थाहा भयो-बजारमा थल, जल आकाशबाट आपूर्ति हुने त वैदेशिक हो नि रे ! अब प्रश्न रह्यो, यी ह्याचरी खुल्नु, दाना उद्योग खुल्नुको औचित्य के रह्यो त?

अझ व्यक्तिपिच्छै खुलेका एग्रोभेट, त्यता पाइने अन्यत्र निषेध गरिएका दानापानी, हावामा नै मिसाइने थरी थरीका औषधिको थुप्रोको कथा त नियमनकारी निकायलाई नै थाहा होला। विश्व कृषि तथा खाद्य संगठनका अनुसार पछिल्ला केही वर्षहरूमा कृषि उत्पादनहरूले उल्लेखनीय विकास गरेका छन्। विश्व जनसमुदायहरू खाद्यान्नको बढ्दो मागको कारण विश्वको जनसंख्या बढ्नुलाई मान्छन्। साथै औसत आय वृद्धि तथा विश्वव्यापी बजारीकरणलाई पनि संयुक्त राष्ट्र संघले अनुमान गरेको छ। इ.सं. २०३० सम्म यस पृथ्वीमा ८ अरब मानिस हुनेछन् जसको आम्दानी प्रतिवर्ष २६ प्रतिशतले वृद्धि हुनेछ र कुखुरा उत्पादन उपभोग, माछा तथा पक्षीजन्य फुल प्रोटिनको मुख्य स्रोत रहनेछ। विविध आर्थिक/सामाजिक संवेदनशीलताका कारणले अवस्था यस्तै रहने पोषणविद् तथा चिकित्साकर्मीको पनि भनाइ छ।

यी मात्र कारण हैनन् जसले यो क्षेत्रमा पोल्ट्री उद्योगको विकास अनि दिगोपनलाई यस भेगका पोल्ट्री उद्योगले मात्र थेग्न सकून्। वैश्विकरूपमा यो सर्वविदित छ, समग्र एसिया क्षेत्रमध्ये नेपाल पनि एउटा लोभलाग्दो कुखुराजन्य उत्पादनको थलो हो जहाँ व्यावसायिक लाभका लागि सबै आतुर छन्। नेपालको कुखुरा पालन उद्योग यसबेला निर्णायक विन्दुमा छ भन्दा अतिशयोक्ति नहोला। आउँदा वर्षहरूमा वैश्विक कुखुरा पालन व्यवसायमा अप्रत्याशित बढावा हुने सम्भावना छ। परिवर्तनशील जनसमुदाय, विप्रेषणाबाट भएको आर्थिक वृद्धि, उपभोक्ताको खाने बानीमा आएको फरकपना, प्राविधिक एवं वैज्ञानिक विकास, घट्दै गएका स्रोतहरू र बढ्दै गएका उपभोक्ताका माग अनि खाद्य सुरक्षा र न्यूनतम पर्यावरणिय प्रभाव र सुदृढ पशु कल्याणका अवस्थाहरूले पोल्ट्री व्यवसायको आगामी दिशा तय गर्नेछ।

आउँदा दिनमा नियमले गुणस्तर माग्नेछ र नियमनकारी निकायले तथ्य आधारित निर्णय गरिने प्रणालीको चाहना राख्नेछ। यो परिदृष्यमा कुखुराजन्य उत्पादनहरूको खोजतलास अपरिहार्य हुनेछ। त्यो भनेको सतर्कतापूर्वक आपूर्तिकर्ता चयन हो जसमा चल्ला आफूर्तिकर्ता, दाना तथा अन्य जसमा औषधि आपूर्तिकर्ता हैन, सिफारिसकर्ता, कुखुरा विशेषज्ञ पनि नपर्लान् भन्न सकिन्न जसको मुख्य लक्ष्य मूल्य हैन, गुणस्तर मात्र हो।

जैविक सुरक्षा अनि बथानको स्वास्थ्य अनुगमन पोल्ट्री व्यवसायको पहिलो स्रोत मानिन्छ। नाफामूलक व्यवसायको व्यवस्थापन आउँदो वर्षको माग पनि हो। दाना उत्पादनका लागि प्रयोग गरिने कच्चा पदार्थको मूल्यले आगामी दिनमा कुखुरा पालनका लागि आउँदो केही वर्ष पिरोल्ला जस्तो छ। यसलाई कसरी समायोजन गर्ने भन्ने सघन अनुसन्धानकै विषय रह्यो। लागत खर्च व्यवस्थापन खर्चहरूबारे व्यापक अनुसन्धान हुनु आजको सघन क्षेत्र हुनुपर्छ। पोषण एवं खाद्य प्रविधिमा महत्वपूर्ण पक्ष त नानो टेक्नोलोजी तथा इन्जाइमहरूबारे तथा अपोषण तत्वहरूको असर हो जसमा कुखुराले पोषण एकाइको उपभोग न्यूनीकरण गर्नेछ।

दाना प्रशोधन अनि र दानाको कणका आकारले दानाको प्रभावकारिता निर्धारण गर्नेछ। वैज्ञानिक नयाँ प्रविधिमा न्युट्रिजिनोमिक पोषण अनुवांशिक अध्ययन प्राथमिकतामा पर्ने हुन्छ। यसले पोषण अनि अनुवंशको सम्बन्ध स्थापित गर्नेछ जसअनुसार कस्तो दाना कुन अनुवांशिक प्रजातिका लागि तयार पार्ने भन्ने संकेत गर्नेछ र उत्पादकत्वको आधार मापदण्ड तयार पार्नेछ। नत्र भने आज बोइलर त ५०० सिरिजका, दानाचाहिँ १०० समूहका दिने हो भने समस्या त आउने नै भयो।

अब आउँदा दिनमा यसबाहेक भन्न सकिन्छ कि अबका दिनमा जुनसुकै प्रजातिका कुखुरा पालन किन नहोस्, यसले उत्पादन परिस्कृतीकरण तथा उत्पादन विधिबीच समन्वय गर्नैपर्ने हुन्छ। नत्र आज जस्तै उत्पादन त प्रशस्तै तर उपभोक्ता नास्ती, मूल्य न्यूनको अवस्था रहिरहनेछ।

प्रकाशित: २ चैत्र २०७९ ००:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App