१४ फाल्गुन २०८० सोमबार
विचार

महेन्द्र, बिपी र नरहरिनाथ

२०१७ साल नेपालको इतिहासमा एक ऐतिहासिक घटना हो। श्री ५ महेन्द्र, बिपी कोइराला, योगी नरहरिनाथबीचका कल्पित घटना इतिहासमा बिर्सन सकिँदैन। नेपालको प्रजातान्त्रिक इतिहासमा बिपी कोइराला एक स्मरणीय प्रजातन्त्रका सिद्धहस्त नेता हुनुहुन्थ्यो। तर परिस्थितिले बिपी र योगी नरहरिनाथबीचमा कपोलकल्पित घटनाका कारण २०१७ सालपछि इतिहासमा ठूलो हेरफेर हुन गयो। एउटा घटना स्मरण गरौँ। २०१७ साउनमा नेपाली कांग्रेसका कार्यकर्ता भनिएका तर गोर्खा परिषद्का व्यक्तिको नेतृत्वमा गोर्खामा ठूलै लुटपाट मच्चियो। कांग्रेस कार्यकर्ताको थिचोमिचो पनि बढ्दै गएको अवस्थामा कर्मवीर महामण्डलका अध्यक्ष योगी नरहरिनाथ पनि असोजतिर गोर्खा पुगेका थिए।

२०१७ कात्तिक ९ गते दिउँसो ३ हजार जति मानिसको जुलुस कर्मवीर महामण्डलको झण्डा लिइ “नेपाली कांगे्रस धोका हो, पक्षपाती सरकार मान्दैनौँ” भन्ने कांगे्रस विरोधी कडा नारा लगाउँदै अड्डाअगाडि जुलुस आउँदा प्रहरीसँग भिडन्त भयो। ढुङ्गामुढा, लाठी चार्जपछि गोलीकाण्ड भयो। जसमा ७ जना ठहरै मरेका र १० जना गोलीबाट घाइते भए। ७–८ जनाको हातखुट्टा भाँचिएकाले सम्हालिन नसक्ने आतङ्क सिर्जना भयो। यी सबै कुरा योगी नरहरिनाथको उघ्र भाषणका कारण भएको भनियो। कात्तिक ९ गते गोर्खाकाण्ड भयो। नरहरिनाथलाई पक्राउ गर्ने आदेश पनि भयो। तर गोर्खामा योगीजी कतै भेटिएनन्। गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो। जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नुभयो? यसैमा फेरि सबै रुमल्लिए। योगीजीलाई कत्तिले उड्न सक्ने क्षमता थियो पनि भन्ने गर्थे।

२०१७ सालको काण्ड हुन जाने कारणको एक घटनाको संझना आउँछ। राजा महेन्द्र बेलायत गएको अवस्था छ। ‘योगीलाई कांगे्रस मास्न राजदरबारले लिखत दिएर पठाएको छ’ भन्ने झुटा रिपोर्ट कानमा पार्न थालेकाले बिपी पनि त्यही कुरालाई विश्वास गरेर बोल्न थाल्नुभएको र बेलायतबाट राजा महेन्द्र फर्केर आएपछि योगीसँग मुछेर प्रधानमन्त्रीले दिएका वक्तव्यहरू सम्बन्धमा राजा महेन्द्रलाई चित्त नबुझेकाले प्रधानमन्त्रीलाई बोलाएर (बेलायतबाट ल्याएका उपहार श्रीमती प्रधानमन्त्री सुशीलालाई छालाको ब्याग, बिपीलाई टेपरिकर्डर, घडी, ब्रास्लेट राजाले दिँदै) पुस १ गतेभन्दा दुई दिनअगाडि राजाले सोधेको कुरालाई लिएर बिपीले आफ्नो आत्मवृत्तान्तमा भनेका छन्- ‘तपाईले हामीलाई किन मुछ्नुभो त्यो जोगीकाण्डमा? बिनाप्रमाण किन वक्तव्य दिनुभयो? हामीलाई दोष लगाउनुभयो?’ ‘सरकार ! मैले होइन, जोगीले मुछेको छ। जोगीलाई कारबाही हुँदैछ।’

‘तपाईँले त्यो कारबाही हुँदाहुँदै किन पब्लिक वक्तव्य दिनुभयो?’ भनेर राजाले गुनासो गरेको कुरालाई लिएर बिपीले आफ्नो आत्मवृत्तान्त पुस्तकमा भनेका छन्–‘महाराजाधिराजले मलाई आदेश बक्सेको छ कि यो धर्म नमान्ने प्रधानमन्त्री र त्यसका सरकारविरुद्ध विद्रोह गरे हुन्छ भनिकन ऊ हिँड्थ्यो।’ राजा महेन्द्र र प्रधानमन्त्री कोइरालाबीचको सम्बन्ध विच्छेदको अध्याय नै यहींँबाट सुरु हुन्छ।

गोरखाकाण्ड र योगी नरहरिनाथबीचको वास्तविकता त्यस्तो थिएन। ‘कर्मवीर महामण्डलले गरेको अनुरोधअनुसार रु.५०० चन्दा श्री ५ महाराजाधिराज सरकारबाट बक्सेको छ’ भन्ने कुरा राजा महेन्द्रका सैनिक सचिव शेरबहादुर मल्लले लेख्नुभएको कागज योगीजीले बोक्नुभएको र त्यही कागजलाई अरूहरूले पनि देखेका थिए। त्यसैलाई राजदरबारबाटै कांगे्रसको विरोधमा जनतालाई विद्रोह गराउन योगीलाई पत्र दिइ पठाइएको थियो भन्ने भ्रम खडा गराएर बिपीसमक्ष पोल पुर्‍याइएको थियो। त्यसै कारण राजा र प्रधानमन्त्रीबीचमा फाटो पार्नेे जालो बन्न गयो। अतः यस्ता षडयन्त्र नेपालमा राजनीतिक परिवर्तनको कारक बन्दै आएका पनि छन्। त्यही षडयन्त्रको जालो २०१७ सालको परिवर्तनभित्र पनि छ।

यहाँ योगी नरहरिनाथ को थिए र उनको नेपालमा के÷कस्तो योगदान छन् भन्ने कुरा र उहाँको जन्म र देहबसानको सन्दर्भ र अन्य घटनाक्रम उल्लेख गर्न चाहन्छु। योगी नरहरिनाथको जन्म १९७१ फागुन १७ गते भएको थियो र २०५९ साल फागुन १४ गते उहाँ स्वर्गीय हुनुभएको थियो। योगी नरहरिनाथ नेपालको एक अमूल्य निधि हुनुहुन्थ्यो। योगीजीका कृति, ऐतिहासिक खोज र अनुसन्धानहरू नेपालको इतिहासका खोजपूर्ण स्रोत हुन पुगेका छन्। उनी इतिहास निर्माणका योद्धा हुन्। २००८ सालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नुभएको र त्यसैगरी इतिहास प्रकाशन सन्धिपत्र–संग्रह–सात भागसम्म, शिखरिणीयात्रा, गोर्खा वंशावली, हिमवत्खण्ड, नेपालका चौध अञ्चल आदि इत्यादि ग्रन्थहरू प्रकाशित गराएर देशका लागि ठूलो योगदान गर्नुभएको छ।

योगी एक सफल अन्वेषक मात्र नभएर एक कुशल वक्ता पनि हुनुहुन्थ्यो। घण्टौँसम्म बोल्दा पनि उहाँ थाक्नु हुन्नथ्यो। दिव्य उपदेशमा पृथ्वीनारायण शाहले उसैबेला भनेका थिए–‘उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ। चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध) राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ। देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनिया कंगाल गरी छाडछन्।’ दिव्य उपदेशमा उल्लिखित मार्गदर्शनलाई नेपालको मूलनीति बन्न सक्नुपर्छ।

योगीजी थापाकुलमा जन्मिएर पनि विद्वान् ब्राह्मणभन्दा माथिको कहलिनुभयो भने डा. स्वामी प्रपन्नाचार्य पनि राई वंशमा जन्मिएर पनि सिद्धहस्त ब्राह्मणसरह मानिनुहुन्छ। स्वामी प्रपन्नाचार्य पनि वेदका प्रकाण्ड विद्वान् हुनुहुन्छ। उहाँले विद्यावारिधि वेदमै गर्नुभएको हो। योगीजी र इतिहाविद् नयराज पन्त, इतिहास शिरोमणि बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, धनवज्र वज्राचार्य, शंकरमान राजवंशी, नयराज पौडयाल आदि इतिहासकार र खोजकर्ताहरूसँग नरहरिनाथको छलफल हुन्थ्यो। यागीजी भन्नुहुन्थ्यो–सुनलाई कसी लगाएको जस्तै हो छलफलबाट निस्किएको निचोड। पछिका दिनमा योगीजीको स्वामी प्रपन्नाचार्यसँग संगत बढेको थियो। योगी नरहरिनाथ गाईका अत्यन्त भक्त थिए। योगीजीकोमा २०५९ सालतिर उनको कुटीमा सधैँ एउटा गाईको बाछा अंगरक्षकसरह रहने गथ्र्यो। उनी बिमार भएपछि त्यो बाछाले कहिले छोडेन। योगीजीको देहावसानपछि बाछाले आँसुका धारा चुहाइरह्यो। पछि योगीको समाधिस्थलमा दिनमा एकपटक गाईको बाछा घुम्ने गथ्र्यो। यसबाट गाईमा चेतनाको हिरण्मय शक्ति व्याप्त छ भन्न सकिन्छ।

योगीजी भन्नुहुन्थ्यो–‘कैलास–मानसरोवरदेखि हिन्दमहासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दु हो।’ विश्व विकासको जगज्येष्ठ हिमालय हो। मानव ज्येष्ठ हाम्रो दर्शन ज्येष्ठ हो। मनु यहीँ जन्मेका, वेद यही जन्मेका, उपनिषद् तराईमा बनेका हुन्। हाम्रा पुर्खा कतैबाट आएका भनिन्छ, हाम्रो मूल थलो यही हिमवत्खण्ड नेपाल हो। नेपाल नै सभ्यताको मूल थलो हो। मानव सभ्यताको थलो हिमालयको फेद हो। हामीले हाम्रो राष्ट्रियतालाई गौरव सम्झनुपर्छ। हामी यहीँका रेथाने हौँ, भगुवा होइनौँ। हाम्रो देशलाई हामीले नै समृद्ध बनाउन सक्नुपर्छ। विदेशी सहायताले हामीलाई बिगार्छ। काम गर्दा सानो हुन्छु भन्ने भावना राख्नुहुन्न।’

२००८ सालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नुभएको र त्यसैगरी इतिहास प्रकाशन सन्धिपत्र–संग्रह–सात भागसम्म, शिखरिणीयात्रा, गोर्खा वंशावली, हिमवत्खण्ड, नेपालका चौध अञ्चल आदि इत्यादि ग्रन्थ प्रकाशित गराएर देशका लागि ठूलो योगदान गर्नुभएको छ। योगी एक सफल अन्वेषक मात्र नभएर एक कुशल वक्ता पनि हुनुहुन्थ्यो। दिव्य उपदेश नेपालीका लागि मार्गदर्शन बन्न पुगेको छ। पृथ्वीनारायण शाहले भ्रष्टचारीका विषयमा भनेको थिए–नियानिसाफ बिगान्र्या भनेको घुस दिन्या र खान्या हुन् यी दुईको ता धन जीव (राष्ट्रियकरण) गरिलियाको पनि पाप लाग्दैन।  

प्रकाशित: १७ फाल्गुन २०७९ ००:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App