‘यो बास कुनै हो मेरो नित्य जीवन मार्गको,
म कतैतिर हिँड्ने छु स्वप्न पूरा भएपछि।’
५५ वर्षअगाडि माघमा म नाट्यसम्राट बालकृष्ण समलाई भेट्न ज्ञानेश्वर पुगेँ। समजीको प्रवेशद्वारको ढोकामा फलामका अक्षरले लेखिएको उनको मन परेको रचनामध्येको एक हो यो। पहिलोपटक समजीलाई भेट्न जादा मैले उक्त कविता डायरीमा लेखेर भित्र पसेँ। स्वयम्भूको स्वरूपको आँखा भएको निवासको ढोका ढक–ढक गरेँ। लामो कोट लगाएका खाइलाग्दा उज्यालो महापुरुषले ढोका खोलेर सोध्नुभयो– कताबाट? मैले भनेँ– हजुरको दर्शनका लागि आएको आठराईबाट। मैले आठराईबाट ल्याएको एउटा राम्रो खुकुरी समजीलाई उपहार दिन बोकेको थिएँ। मलाई भित्र लिएर जानुभयो। बसाउनुभयो। मैले उपहारस्वरूप ल्याएको खुकुरी समजीको हातमा दिँदै मेरो उपहार भनेँ। उहाँले आठराईको खुकुरी अत्यन्त खुसी भएर लिनुभयो। समले भन्नुभयो– मलाई आठराई जान साह्रै मन छ तर अहिलेसम्म जान पाएको छुइन। २०२४ साल माघ २४ गते दश–एघार बजेतिर मेरो पहिलो भेट थियो ती महान साहित्यकारसँग। त्यो दिन समजीको जन्म दिन रहेछ। नेपालको एउटा मुर्धन्य व्यक्तित्वसँगको पहिलो भेट उहाँकै जनम दिन परेकामा मैले पछि मेरो अहोभाग्य ठानेँ। त्यो दिन भित्र हाम्रो कुरा सुरु भयो। समजीका नाटकका धेरैजसो कविता मलाई कण्ठ आउँथे। मैले मुटुको व्यथाका केही हरफ भनेपछि समजीले पनि बडो नाटकीय पाराले कवितात्मकरूपमा सुनाउन थाल्नुभयो।
‘स्वर्गबाट यहाँ ओर्ले भने अमर मर्दछन्, चिन्ताको रापले सुक्दै किता पत्थर बन्दछन्। समजीको ‘मुटुको व्यथा’ नाटकमा व्यक्त यो कविताको व्याख्या गरेर मैले सुनाएँ। निचोडमा ‘बुद्धले पनि पाप गरे भने नरक पुग्छन्’ भन्ने अर्थ थियो। समजी मसँग असाध्यै प्रभावित हुनुभयो। मैले समलाई भेट्न पाउँछु कि पाउँदिन भन्ने चिन्तामुक्त भएको सुनाएँ। डेढ घण्टाको भेटपछि समजीबाट मलाई एक पुस्तक ‘नियमित आकस्मिकता’ हस्ताक्षर गरेर उपहार दिनुभयो। मैले नियमित आकस्मिकता पढेपछि समजीबाट गरिएका सांसारिक चित्रण र मानवीयताका सम्वेदनशील कुरा अध्ययन गर्दा त्यो गहिराइमा छट्पटिएर म यति मोहित भएँ कि बालकृष्ण सम नेपालको साहित्यको भण्डार र देशको ठूलो सम्पत्तिका रूपमा मैले सम्मान गरेँ। त्यसपछि म हरेक शनिबार भेट्ने समय दिएपछि बडो गौरवका साथ मैले त्यो दिन बिताएँ। महान् व्यक्तित्वहरूलाई भेट्नु भनेको ठूलो उपलब्धि हात लाग्नु हो। एकदिन ढिला भएछ। ती महान् व्यक्तिले म नआउने बुझेर लेख्न थाल्नुभएछ। ढोका खोल्दै तपाईँ नआउने होला भन्ने ठानेर लेख्न थालेको थिएँ भन्दै लेखेका केही अंश सुनाउनु पनि भयो। अर्को दिन व्यस्तताले गर्दा समजीलाई भेट्न जान ढिला भयो। क्षेत्रपाटी सातचोक दरबारको माथिल्लो कोठामा बस्छु भनेर समजीलाई मैले पहिला भनेको थियो। त्यो दिन अपराह्न म ज्ञानेश्वरतर्फ लाग्दा उहाँ रिक्सा चढेर क्षेत्रपाटी आउँदै हुनुहँुदोरहेछ। म छक्क परेँ र समजीलाई भेटेर नमस्ते गर्दै त्यो दिनको कारण बताएँ। समजीले भन्नुभयो– तपाईँलाई के पर्यो भनेर खोज्दै आएको।
समजी अभिनय गर्नमा पनि त्यत्तिकै ओस्ताद हुनुहुन्थ्यो। बहुमुखी प्रतिभाका धनी बालकृष्ण सम नेपालका अविस्मरणीय महान् स्रष्ट हुनुहुन्छ। साहित्य र संगीत राष्ट्रको सम्पत्ति हो। संगीत विश्वको भाषा हो भने साहित्य सिर्जना हो। यी दुई वर्तमान र भविष्यका ऐना हुन्। साहित्य र संगीतले युगको प्रतिनिधत्व गर्ने गर्छ। साहित्यबारे कालीदासले भनेका छन्– “कवि करोेती काब्यानि, रस जानन्ति पंडिता”। कविले काव्यको रचना गर्दछन्, त्यसको रस विद्वान्हरूले लिन्छन्। यो सत्य हो कि साहित्य भनेको मानवलाई असली पे्रममय रसस्वादन गराउने शास्त्रीय बाटो हो। बालकृष्ण समले आफ्ना अनेकौँ नाटक र काव्यबाट नेपाललाई धनी बनाए। समको एउटा महाकाव्य– ‘चिसो चुल्हो’ मा सन्ते दमाईँले माथिल्लो जातकी गौरीसँगको प्रेमको उजगार गरेर नेपाली समाजलाई बन्धनबाट मुक्त गराउने सन्देश दिन सके। समले विभिन्न विधाका कैयौँ पुस्तक लेखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुभयो। त्यो महान् व्यक्तित्व हाम्रो सामु नभए पनि समजी अमर हुनुहुन्छ। ‘उनी बोल्दासाथ साहित्यका फोहरा फुट्थे। ‘ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ’– कति गहिराई छ समजीका कवितामा।
बालकृष्ण सम, नाटककार, चित्रकार, निवन्धकारका रूपमा नेपाली समाजमा प्रतिविम्बित छन्। समजीबाट तयार गरिएका चित्र प्रसन्सनीय छन्। गेहेन्द्रमान अमात्यले लेखेका छन्– नेपाली सेनाका कर्नेल थिए सम, कर्नेल पदबाट राजीनामा गरेर नेपाली साहित्यको सेवामा अर्पित भए र राणाशाहीको विरोधमा स्वतन्त्रताको पक्षमा लेख्न थाले। नेपाली साहित्यका अग्रणीमध्येका आदिकवि भानुभक्त, लेखनाथ पौडयाल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, हृदयचन्द्रसिंह प्रधान, भवानी भिक्षु, भीमनिधि तिवारी, धरणीधर कोइराला, महानन्द सापकोटा, सिद्धिचरण श्रेष्ठहरू नेपालको राष्ट्रिय एकताका द्योतक हुन्, यथार्थ। देशको स्वाभिमानप्रति आबद्ध भएरै उनीहरू विश्व साहित्यसँग दाँजिन पुगे। ‘क्यै हारे झैं, क्यै बिर्से झै, को त्यो पथमा आइरहेको ? सत्य नचिन्ने, झुट अँगाल्ने, गिर्र्दै तल तल म उठेँ भन्ने, मान्छे हो तर आत्माहीन, को त्यो पथमा आइरहेको ?’ युगकवि सिद्धिचरण श्रेष्ठको उक्त कवितापछि नाट्य सम्राट बालकष्ण समले त्यसको जवाफमा ‘केही जिते झैं, केही संझै झैं को त्यो पथमा गाइरहेको ? मानिस जस्तै सुरु सुरु हिँड्दैको त्यो पथमा गाइरहेको’ भन्ने सिद्धिचरणको ‘मेरो प्रतिविम्ब’ र समजीको ‘प्रतिविम्बप्रति’ को कवितात्मक वादविवादले नेपालका नवोदित साहित्यकारहरूलाई सिर्जनात्मक बाटोमा प्रेरित गरेको थियो। साहित्य एउटा सिर्जना हो। मानिसको जीवनमा कुनै न कुनै गहिरो छाप नपरी असल साहित्यको सिर्जना हुन सक्तैन।
‘क्यै हारे झैं, क्यै बिर्से झै, को त्यो पथमा आइरहेको ? सत्य नचिन्ने, झुट अँगाल्ने, गिर्र्दै तल तल म उठेँ भन्ने, मान्छे हो तर आत्माहीन, को त्यो पथमा आइरहेको?’ युगकवि सिद्धिचरण श्रेष्ठको उक्त कवितापछि नाट्य सम्राट बालकष्ण समले त्यसको जवाफमा ‘केही जितेझैँ, केही संझैझैँ को त्यो पथमा गाइरहेको ? मानिस जस्तै सुरु सुरु हिँड्दै को त्यो पथमा गाइरहेको’ भन्ने सिद्धिचरणको ‘मेरो प्रतिविम्ब’ र समजीको ‘प्रतिविम्बप्रति’ को कवितात्मक वादविवादले नेपालका नवोदित साहित्यकारहरूलाई सिर्जनात्मक बाटोमा प्रेरित गरेको थियो। साहित्य एउटा सिर्जना हो। मानिसको जीवनमा कुनै न कुनै गहिरो छाप नपरी असल साहित्यको सिर्जना हुन सक्तैन। समलाई सेक्सिपिएरसँग दाज्नेहरू पनि धेरै छन्। समजी अत्यन्त देशभक्त थिए। ‘देशभक्त त मर्दैन, चुत्थै देश भए पनि’ सन्देश मुकुन्द इन्दिरा नाटकमार्फत दिएका छन्। ती महान् व्यक्तित्व सधैँ स्वदेशी पहिरन ग्रहण गर्ने गर्थे। उनले देशभक्ति जगाउन अनेकौँ प्रयत्न गरे। नेपालमा प्रजातन्त्र उदयपछि उनी गोरखापत्रका प्रमुख सम्पादक पनि बने। नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको उपकुलपति हँुदै राजसभा स्थायी समिति सदस्यका रूपमा रहेको अवस्थामा पनि अनेकौँ पुस्तक नेपाली समाजलाई दिलाए। राष्ट्रिय विभूतिको पुस्तक २०२४ सालमा समजीबाटै लेखिएको हो ।
dirgharakprasai@gmail.com
प्रकाशित: २४ माघ २०७९ ००:१४ मंगलबार