१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

‘काम गर्न सकेन भन्ने गुनासो आउन दिने छैन’

विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला निर्वाचित भएका छन्। कोइरालाले महानगरको डुबान समस्या समाधान गर्ने घोषणापत्रमै उल्लेख गरेका थिए। उनले विराटनगरको खानेपानी समस्याको समाधान गर्ने पनि घोषणापत्रमा उल्लेख गरेका थिए। निर्वाचनका बेला गरिएका प्रतिबद्धता र अबको प्राथमिकता तथा कार्ययोजनाका विषयमा मेयर कोइरालासँग नागरिककर्मी विनोद सुवेदी र चुमन बस्नेतले गरेका कुराकानीः 

सांसदमा उठ्ने चर्चा चलिरहेका बेला मेयर नै किन रोज्नुभयो?

तत्कालै सांसदमा उठ्ने मेरो सोच थिएन। तर पार्टीका साथीहरूले मोरङ ५ बाट प्रदेश सभा सदस्यमा उठ्न अनुरोध गरिरहनु भएको थियो। सांसदमा उठ्न साथीहरूबाट प्रस्ताव आए पनि आफू जन्मेहुर्केको विराटनगर नै भएकाले पहिले यसलाई बनाउनुपर्छ भन्ने मलाई लाग्यो।

यहाँका धेरैजसो समस्याका विषयमा आफू जानकार भएको र विराटनगर बनाउने स्पष्ट भिजन पनि भएकाले विराटनगर महानगरपालिका बनाउनुपर्छ भन्ने लागेर उमेदवारी दिएको हुँ। आधुनिक विराटनगर बसाउने क्रममा हाम्रा पिता पुर्खाको पनि महत्वपूर्ण योगदान छ। विराटनगरस्थित कोइराला निवाससँगको सम्बन्ध पनि नजिकको छ। पिताजी कृष्णप्रसाद कोइरालाले नै विराटनगरमा हाम्रा हजुरबुबा डिठ्ठा दधिराम कोइरालालाई ल्याउनुभएको हो। हजुरबुबा नारायणप्रसाद कोइराला राजनीतिमा चासो राख्नुहुन्थ्यो। उहाँकै प्रेरणाबाट म राजनीतिक क्षेत्रमा आएको हुँ।

निर्वाचित भएपछि कस्तो अनुभव भइरहेको छ?

मेयरको काम एकदमै महत्वपूर्ण रहेको महसुस गरेको छु। विजय ¥यालीमा जाँदा चोक चोकमा जनताले रोकेर राखेका अपेक्षा र मायाले मलाई जनताको अपेक्षा तथा चाहना पूरा गर्ने चुनौती थपेको छ। नागेशले जादुको छडी घुमाएर विराटनगरको विकास गर्छ भन्ने आमअपेक्षा रहेको मैले पाएको छु। जादुको छडी घुमाए जसरी विकास हुने र विद्यमान समस्या समाधान हुँदैन। तर जनताले मबाट राखेका अपेक्षा भने पूरा गर्ने कोसिस गर्नेछु। जनताले राखेका सबै अपेक्षा पूरा गर्न नसकुँला तर ५ वर्षमा मैले गरेको कामबाट जनताले निराश हुनुपर्ने छैन।

अब तपाइँको मुख्य प्राथमिकता के हो?

डुबान समस्या समाधान गर्न नसकेसम्म विराटनगरको विकास संभव छैन। विराटनगरको सबै भन्दा ठूलो समस्या भनेकै डुबान हो। विराटनगरमा केही वर्ष पहिलेसम्म यस्तो समस्या थिएन। विकास पूर्वाधार थपिँंदै गएका, सहरीकरण बढ्दै गएसँगै विराटनगरमा डुबानको समस्या चुनौतीपूर्ण बन्दै गएको छ। विराटनगरमा सामान्य वर्षा हुँदा पनि डुबान हुन थालेको छ।

तीव्ररूपमा भइरहेको सहरीकरणले प्राकृतिकरूपमा पानीको निकास हुने ठाउँहरू थुनिएका कारण हो, सडक, पूर्वाधार निर्माणका क्रममा पानीको निकासलाई ध्यान नदिइएका कारण वा पानीको प्राकृतिक निकासहरू अतिक्रमणमा परेर डुबान भएको हो। डुवान के कारणले भइरहेको छ भन्ने पहिचान गरेर त्यसको उचित निकास खोज्ने मेरो योजना छ।

पहिले विराटनरको डुबानको कारण पत्ता लगाउने र के गर्दा पानीको निकास हुन्छ भन्ने उपयासमेत पत्ता लगाउने त्यसपछि डुबानको समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्ने मेरो सोच छ। डुबानको समस्या समाधानका लागि विज्ञहरूको राय सुझाव लिएर अघि बढ्ने योजना बनाएको छु। यस्तै अर्को प्राथमिकता भनेको विराटनगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नु हो। अहिले विराटनगरमा वितरण भइरहेको धाराको पानी पिउन योग्य छैन। विराटनगरको मानगढ खानोपानी योजनाले वितरण गरेको र अन्य क्षेत्रमा वितरण गरिएका धाराको पानी पिउन योग्य छैन।

नेपाल खानेपानी संस्थानको पानी र विराटनगरका अन्य क्षेत्रमा वितरण गरिएका धाराको पानीलाई ५ वर्षभित्रमा यहाँका बासिन्दाले ढुक्कसँग पिउन सक्ने बनाउने मेरो योजना छ। विराटनगरमा बिछ्याइएका खानेपानीको पाइपलाइन धेरै पुरानो भइसकेको छ। पुराना फलामका पाइपबाट पानी वितरण गर्दा प्रदूषित पानी घरका धारामा पुगिरहेको छ।

पुरानो पाइपलाइन पूर्णरूपमा परिवर्तन गर्नुपर्ने देखिन्छ। यस्तै विराटनगरको मानगढ खानेपानी योजना यस क्षेत्रमा नमुनाका रूपमा रहेको छ। खानेपानी संस्थानमार्फत वा उपभोक्ता समितिमार्फत जुन मोडलमा भए पनि विराटनगरको धाराको पानी पिउन योग्य बनाएर विराटनगरवासीका घर–घरमा पुर्‍याउने योजना छ।

राजधानीको संरचनाका लागि जग्गा व्यवस्था गर्न महानगरले सहयोग नगरेको गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ?

राजधानीको संरचना निर्माणका लागि महानगरपालिकाले गर्न सक्ने सबै किसिमको सहयोग गर्न तयार छ। प्रदेश सरकारले सहयोग र सहकार्यका लागि आग्रह गरेको खण्डमा महानगरपालिकाको तर्फबाट गर्ने सहयोगबाट पछि हट्ने छैन। विराटनगरमा प्रदेशको राजधानीका संरचना निर्माण हुनुपर्छ भन्नेमा महानगरपालिका दृढ छ। विराटनगरमा प्रदेशका स्थायी संरचना तयार भए मात्रै प्रदेशको राजधानीले पूर्णता पाउने भएकाले प्रदेशका स्थायी संरचना बनाउने विषयमा महानगर प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न सधैँ तत्पर छ।

विराटनगर विमानस्थल विस्तारका लागि महानगरपालिकाले पनि १० प्रतिशत लगानी गर्ने सम्झौता गरेको छ। यो आयोजना कसरी अघि बढाउनुहुन्छ?

विराटनगर विमानस्थल विस्तारका लागि महानगरपालिकाले १० प्रतिशत लगानी गर्ने विषय म व्यावहारिक देख्दिन। विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न मात्रै १६ अर्ब खर्च हुने अनुमान छ। महानगरले १० प्रतिशत बेहोर्दा १ अर्ब ६० करोड रूपैयाँ बेहोर्नुपर्ने देखिन्छ। यतिधेरै रकम महानगरपालिकाले लगानी गर्न सक्छ जस्तो मलाई लाग्दैन। १ अर्ब ६० करोड रूपैयाँ त महानगरपालिकाले उठाउने एक वर्षको कर भन्दा धेरै गुणा बढी हुन्छ अनि कसरी लगानी गर्ने?

विराटनगरको औद्योगिक साख फर्काउने विषयमा निर्वाचनमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब, कसरी अघि बढाउनुहुन्छ?

विराटनगरको औद्योगिक विकासका लागि विशेष आर्थिक क्षेत्र वा व्यवस्थित औद्योगिक क्षेत्रको आवश्यकता छ। जसका लागि केन्द्र सरकारसँग कुरा पनि भइरहेको छ। विशेष आर्थिक क्षेत्र वा औद्योगिक क्षेत्र बनाउन महानगरपालिका एक्लैले नसक्ने भएका कारण केन्द्रीय सरकारको सहयोगमा अघि बढाउने सोच बनाएको छु। यस्तै विराटनगर जूटमिललाई आधुनिक उपकरण जडान गरेर पुनः सञ्चालन गर्ने वा सो क्षेत्र भाडामा लिएर ओद्योगिक ग्राम निर्माण गरी नयाँ उद्योग खोलेर सञ्चालन गर्ने भन्ने विषयमा विज्ञहरूको राय लिएर काम अघि बढाउने योजना बनाएको छु।

५ वर्षभित्रमा विराटनगरमा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने सोच छ। प्रस्तावित औद्योगिक प्रदर्शनी केन्द्र निर्माणमा जग्गा विवादका कारण समस्या देखिइरहेको छ। उक्त जग्गामा संभव नभए नयाँ स्थानमा औद्योगिक प्रदर्शनी केन्द्र स्थापनाका लागि जग्गाको व्यवस्था गरी निर्माण गर्ने योजना छ। उद्योग क्षेत्रमा देखिएका समस्या समाधानको पहल गरी विराटतनगरमा नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विराटनगरको गुमेको औद्योगिक शाख फर्काउने योजना छ।

बुधनगरमा विराटराजाको दरबार निर्माण गर्ने र वैजनाथपुरमा सभाहल बनाउने आयोजना अलपत्र छन्। यी आयोजना कसरी अघि बढ्छन्?

विराटनगर–१८ स्थित विराट राजाको दरवार क्षेत्र पौराणिक भएकाले सो स्थानलाई संग्रहालयमा परिणत गरेर काम अघि बढाउने योजना छ। विराटराजाको क्षेत्र झापा, मोरङ र सुनसरीका राजवंशीहरूको उद्गमस्थल पनि भएकाले यस क्षेत्रको संरक्षण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्नु आवश्यक छ। वडा नम्बर–१९ को सभाहलका विषयमा जानकारी नभएकाले उक्त योजना ल्याइएको तर कार्यान्वयन नभएको अवस्था भए आवश्यक अध्ययन गरी निर्माण अघि बढाइनेछ। 

अन्त्यमा विराटनगरबासीलाई केही भन्नु छ?

मलाई विश्वास गरेर विराटनगर बनाउने जिम्मा दिनुभएको छ। नगरबासीले मलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नेछु। काम गर्न सकेन भन्ने गुनासो आउन दिने छैन। महानगरपालिकाबासीका समस्या समाधान गर्न विज्ञ टोलीको सहयोग लिएर काम अघि बढाउने छु। पदभार ग्रहण गरेदेखि नै कर घटाउने निर्णय गरेर महानगरबासीलाई राहत दिने कामको सुरुवात गरेको छु। महानगरका समस्यालाई क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्छु।

प्रकाशित: १२ जेष्ठ २०७९ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App