अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विट्जरल्यान्डमा भएको पहिलो चरणको अमेरिका–इरान वार्ताले मध्यपूर्व युद्ध समाप्त गर्न अन्तिम सम्झौता गर्नका लागि राम्रो आधार तयार पारेको बताएका छन्।
‘हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौँ,’ बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भने। यो वार्ता आइतबार सुरु भएको थियो र राति अबेरसम्म चलेको थियो।
उनले भने, ‘मध्यपूर्वको शान्तिका लागि अन्तिम सम्झौता एउटा पूर्ण संरचना हो भने हामीले स्वीट्जरल्याण्डमा भइरहेको वार्ताबाट यसका लागि जग बसालेका छौँ। राम्रो ठाउँमा पुग्न सफल आधार तयार पारेका छौँ।’
‘हामी सबैले कति काम भयो भन्ने कुराको महत्व बुझ्नु आवश्यक छ, तर इमानदारीपूर्वक भन्नुपर्दा अझै धेरै काम बाँकी छ। हामीले आणविक वार्ता, आर्थिक वार्तामा प्रगति गरिरहेका छौँ, जलमार्गहरूबाट विस्फोटक पदार्थ हटाउने काम गरिरहेका छौँ र त्यहाँ यातायातको प्रवाह फेरि बढोस् भन्ने सुनिश्चित गरिरहेका छौँ। धेरै प्रगति भएको छ तर अझै केही काम गर्न बाँकी छ। हामी ठ्याक्कै त्यही गर्न प्रतिबद्ध छौँ।’
उनले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग ‘खुला रहेको’ बताए। विगतमा रोकिएको लाखौँ ब्यारेल कच्चा तेल र प्राकृतिक ग्यासको ढुवानी अहिले भइरहेको उल्लेख गरे।
पाकिस्तान र कतारको मध्यस्थतामा स्विट्जरल्यान्डको बुर्गेनस्टकमा यो अमेरिका–इरान वार्ता भएको हो। भान्सले पत्रकार सम्मेलनपछि अमेरिका फर्किने बताए।
यसैबीच, ‘प्राविधिक स्तरमा’ छलफलहरू आगामी दिन र हप्ताहरूमा बुर्गेनस्टकमै जारी रहने उनले बताए।
यदि मध्यपूर्व युद्ध समाप्त गर्नका लागि गरिने कुनै सम्झौताअन्तर्गत इरानी कोषहरू कहिल्यै फुकुवा भएमा पनि वाशिङ्टनले त्यस पैसाले आतङ्कवादलाई वित्तीय सहयोग नपुग्ने सुनिश्चित गर्न सक्ने उपराष्ट्रपति भान्सले जोड दिए।
‘यदि हामीले कहिले इरानी सम्पत्तिहरू फुकुवा गरे पनि, हामी सुनिश्चित गर्न सक्छौँ कि इरानी पैसा आतङ्कवादलाई कोष दिन नभई इरानका जनतालाई सहयोगका लागि जानेछ,’ बुर्गेनस्टकमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भने।
उनले स्विट्जरल्यान्डको उक्त रिसोर्टमा भएको वार्ताले यो सुनिश्चित गरेको बताए। ‘यदि इरानी रोक्का सम्पत्तिहरू कहिल्यै फुकुवा भए भने त्यो कोष अमेरिकी किसानहरूलाई धनी बनाउन र इरानका जनतालाई खाना खुवाउन जाने छ।’
प्रकाशित: ८ असार २०८३ १८:५६ सोमबार





