२ वैशाख २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका-इरान वार्ता असफल भएपछि पाकिस्तानले भन्यो: युद्धविरामको प्रतिबद्धता नतोडियोस्

पाकिस्तानको मध्यस्थतामा भएको अमेरिका र इरानबिचको त्रिपक्षीय ‘इस्लामाबाद वार्ता’ कुनै ठोस सम्झौता बिना नै टुङ्गिएको छ। २१ घण्टा लामो गहन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार पाकिस्तानबाट फर्किएका छन्।

उपप्रधान एवं विदेशमन्त्री इशाक डारले इस्लामाबादमा सञ्चारकर्मीसँग कुरा गर्दै वार्तामा दुवै देशका प्रतिनिधिमण्डलले भाग लिएको बताए। उनले सेना प्रमुख सैयद आसिम मुनीरसँग मिलेर दुई पक्षबिचको रचनात्मक वार्तामा मध्यस्थता गरेको जानकारी दिए।

डारले भने, ‘पाकिस्तानको तर्फबाट, म युद्धविरामका लागि पाकिस्तानको प्रयास र मध्यस्थकर्ताको भूमिकाको कदर गरेकोमा दुवै पक्षलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु। हामी आशा गर्छौं कि दुवै पक्षले सम्पूर्ण क्षेत्र र बाहिर दिगो शान्ति र समृद्धि प्राप्त गर्न सकारात्मक भावनाका साथ अगाडि बढ्नेछन्।’ उनले पक्षहरूले युद्धविरामको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिनु अत्यावश्यक रहेको कुरामा जोड दिए।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता सकारात्मक भए पनि सम्झौता हुन नसकेको स्वीकार गरे। उनले इरानले आणविक हतियार नबनाउने ग्यारेन्टी दिनुपर्ने अमेरिकाको सर्त तेहरानले नमानेको बताए। भान्सले पाकिस्तानी आतिथ्यको प्रशंसा गर्दै वार्ता असफल हुनुमा पाकिस्तानको कुनै दोष नरहेको प्रस्ट पारे।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले भने वार्तामा होर्मुज जलडमरूम, आणविक मुद्दा, प्रतिबन्ध र क्षतिपूर्तिजस्ता विषयमा छलफल भएको बताए। उनले भने, ‘यस कूटनीतिक प्रक्रियाको सफलता विपक्षी पक्षको गम्भीरता र असल विश्वासमा निर्भर गर्दछ।’ इरानी पक्षले अमेरिकी सर्त जटिल भएका कारण सम्झौता हुन नसकेको टिप्पणी गरेको छ।

मध्यस्थकर्ता पाकिस्तानले २४ घण्टासम्म दुई देशबिचको संवादलाई सहज बनाउन भूमिका खेलेको थियो। वार्तामा प्रतिबन्ध हटाउने, कोषमा पहुँच र क्षेत्रीय द्वन्द्व अन्त्य गर्ने विषयमा प्रस्तावहरू आदानप्रदान भएका थिए। यो वार्ता फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका-इजरायल र इरान द्वन्द्वका बिच भएको दुई हप्ताको युद्धविरामको अवधिमा भएको हो।

वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व जेडी भान्स र इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरेका थिए। एजेन्सी 

प्रकाशित: २९ चैत्र २०८२ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App