प्रहरीले आफ्नो घरमा भाडामा बसोबास गर्ने व्यक्तिहरूको विवरण अभिलेख राख्न घरधनीहरूलाई अनुरोध गरेको छ।
अपराध नहोस् र भइहालेमा व्यक्तिको पहिचानमा सहजता होस् भन्ने उद्देश्यले घरमा भाडामा बस्ने व्यक्तिहरूको विवरण राख्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए।
‘फौजदारी कसुरमा कैद भुक्तान गर्नुपर्ने फैसला भएका व्यक्ति पनि हाम्रो घरमा बस्न आउन सक्छन्। त्यसैले हाम्रो घरमा को बस्छन्, कस्ता व्यक्ति बस्छन् भन्ने जानकारी पाउने अधिकार घरधनीको भएकाले कोठा भाडामा बस्न आउने व्यक्तिको विवरण माग्नुपर्छ भन्ने हाम्रो आग्रह हो,’ उनले भने।
आफू सुरक्षित रहन, समाजलाई सुरक्षित बनाउन र अपराधीलाई खुलेआम हिँडडुल गर्न नदिन यस्तो विवरण माग गर्न आग्रह गरिएको प्रहरी उपरीक्षक भट्टराईले स्पष्ट पारे।
घरधनीले आफ्नो सम्पत्ति, घर, कोठा वा जग्गा कसैलाई उपलब्ध गराउँदा अपराधमा संलग्न, फरार वा कैद भुक्तान गर्नुपर्ने व्यक्तिहरू नपरून् भन्नका लागि सचेत रहनुपर्ने उनको भनाइ छ। ‘किनभने एकपटक अपराध गरिसकेका व्यक्तिले पुनः अपराध गर्दैनन् भन्ने सुनिश्चितता हुँदैन। त्यस्ता व्यक्तिहरूले पुनः घरधनीलाई नै जोखिममा पार्न सक्छन्। उनीहरूले अपराध गरी फरार हुँदा घरधनीलाई झन्झट व्यहोर्नुपर्छ,’ उनले भने।
घरधनीले आफ्ना घरमा बस्ने व्यक्तिहरूसँग प्रहरी प्रतिवेदन (पुलिस क्लियरेन्स रिपोर्ट) समेत माग गर्न सक्ने उनको भनाइ छ।
‘एउटै घरमा डेरामा बसेको चार–पाँच वर्ष भइसकेको हुन्छ, तर सोही व्यक्तिले कुनै अपराध गरेपछि सोधपुछ हुँदा घरधनीलाई केही थाहा हुँदैन। यस्ता घटना दोहोरिन नदिन पनि भाडामा बस्नेहरूको विवरण राख्न अनुरोध गरेका हौँ। यो बाध्यकारी भने होइन,’ उनले थपे।
प्रकाशित: ६ वैशाख २०८३ १६:५१ आइतबार




