जापानको उत्तरपूर्वी क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जारी गरिएको सुनामीको चेतावनी हटाइएको छ।
जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले स्थानीय समय अनुसार सोमबार राति ११:४५ बजे होक्काइडोदेखि तोहोकु क्षेत्रसम्मका तटीय क्षेत्रका लागि जारी सबै चेतावनी र सल्लाहहरू फिर्ता लिएको हो।
चेतावनी हटे पनि अर्को शक्तिशाली भूकम्प जान सक्ने जोखिमलाई ध्यानमा राख्दै एजेन्सीले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। होक्काइडोदेखि चिबासम्मका सात प्रान्तका १८२ नगरपालिकाहरूमा एक हप्तासम्मका लागि सतर्क रहन भनिएको छ। मौसम एजेन्सीले मानिसहरूलाई आफ्नो दैनिक तयारी जाँच गर्न समेत भनेको छ।
भूकम्पको केन्द्रबिन्दु ३९.८ डिग्री उत्तर अक्षांश र १४३.२ डिग्री पूर्व देशान्तरमा रहेको थियो। भूकम्पपछि होक्काइडो, आओमोरी र इवाते प्रान्तका प्रशान्त तटीय क्षेत्रमा सुनामीका छालहरू देखिएका थिए। इवातेको कुजी बन्दरगाहमा ८० सेन्टिमिटर र मियाको बन्दरगाहमा ४० सेन्टिमिटर अग्लो छाल रेकर्ड गरिएको थियो।
भूकम्पका कारण विभिन्न स्थानमा मानिसहरू घाइते भएका छन्। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार सुरक्षालाई ध्यानमा राख्दै होक्काइडो, आओमोरी, इवाते, मियागी र फुकुशिमा प्रान्तका १,७०,००० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
प्रधानमन्त्री साने ताकाइचीले सरकारले संकट व्यवस्थापन टोली गठन गरेको र भूकम्पको प्रभावको मूल्यांकन गर्न काम गरिरहेको जानकारी दिइन्। पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘तपाईंहरू जो चेतावनी जारी गरिएका क्षेत्रहरूमा बस्नुहुन्छ, कृपया उच्च जमिन जस्ता उच्च, सुरक्षित स्थानहरूमा सर्नुहोस्।’ उनका अनुसार अधिकारीहरू अझै पनि कुनै हताहत वा सम्पत्तिमा क्षति भएको छ कि छैन भनेर पुष्टि गर्ने प्रयास गरिरहेका छन्।
यस विपद्का बीच राहतको कुरा यो छ कि क्षेत्रका कुनै पनि आणविक ऊर्जा केन्द्रमा क्षति पुगेको छैन। आओमोरी र मियागीका हिगाशिदोरी र ओनागावा प्लान्ट तथा फुकुशिमाका दाइची र दैनी आणविक ऊर्जा प्लान्टहरूमा कुनै असामान्य अवस्था नदेखिएको उनीहरूका सञ्चालकहरूले बताएका छन्।
जापान विश्वकै सबैभन्दा बढी भूकम्प जाने देशहरूमध्ये एक हो। यहाँ हरेक वर्ष लगभग एक हजार ५०० पटक भूकम्पका धक्का महसुस गरिन्छ, जसले विश्वको कुल भूकम्पीय गतिविधिको करिब १८ प्रतिशत हिस्सा ओगट्छ। सन् २०११ मा उत्तरपूर्वी जापानमा आएको ९ म्याग्निच्युडको विनाशकारी भूकम्प र सुनामीले १८,५०० मानिसको ज्यान लिएको थियो भने फुकुशिमा आणविक प्रकोप निम्त्याएको थियो।
हालैका वर्षहरूमा जापानको दक्षिणमा रहेको ८०० किलोमिटर लामो नानकाई ट्रफमा शक्तिशाली भूकम्प जान सक्ने जोखिमलाई लिएर अधिकारीहरूले गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन्। एजेन्सी
प्रकाशित: ८ वैशाख २०८३ ०६:५९ मंगलबार





