नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका पुराना नेताहरूलाई अभिभावक मान्दै आगामी १५औं महाधिवेशनमा सबै पक्षलाई समेटेर लैजाने बताएका छन्।
आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्र कसैलाई पनि निषेध नगर्ने र एकताको सन्देशसहित महाधिवेशन सम्पन्न गर्ने बताए।
महामन्त्री पौडेलले पार्टीका पाका र अनुभवी नेताहरूको योगदानलाई सम्मान गर्दै उनीहरूलाई सँगै लिएर हिँड्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे।
‘पुराना नेताहरूलाई हामी अभिभावक मान्छौं र उनीहरूलाई पनि सँगसँगै लिएर १५ औं महाधिवेशन सम्पन्न गर्नेछौं,’ उनले भने, ‘महाधिवेशनमा कसैलाई पनि नछुटाई सबैलाई सहभागी गराएर स्वच्छ प्रतिस्पर्धाको वातावरण निर्माण गरिनेछ।’
पार्टीभित्रको पछिल्लो शक्ति सन्तुलन र विशेष महाधिवेशनको वैधानिकताका सम्बन्धमा उठ्ने गरेका प्रश्नहरूको समाधान भइसकेको उनले सुनाए।
अदालतले समेत यस विषयमा निरूपण गरिसकेकाले अब कोही पनि रक्षात्मक हुनुपर्ने अवस्था नरहेको उनको तर्क थियो। पौडेलले यसलाई कसैको व्यक्तिगत जित वा हारका रूपमा नलिई पार्टीको बृहत्तर हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिए।
उनले १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताए।
‘पार्टीको विधान र विशेष महाधिवेशनको म्यान्डेटभित्र बसेर हामी सबै नेताहरूलाई सक्रिय र सहभागी बनाउनेछौँ,’ पौडेलले थपे, ‘अहिलेको समस्या हल गर्ने र पार्टीलाई सुदृढ बनाउने माध्यम नै १५ औं महाधिवेशन हो।’
प्रकाशित: ६ वैशाख २०८३ १६:०५ आइतबार




