नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विभाजन अन्त्य गर्दै पार्टीमा संवाद, सहकार्य र एकता सुदृढ गर्ने उद्देश्यसहित युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गरेका छन्। अभियानअन्तर्गत आगामी साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा अभियानको घोषणा गर्दै नेपाली काग्रेसका नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसप्रति जनताको भरोसा बढेको बताए। उनले लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसभित्रको एकता अपरिहार्य रहेको भन्दै पार्टीले जनअपेक्षाअनुसार आफूलाई सुदृढ बनाउनुपर्ने बताए।
महरले नेपाल अहिले विभिन्न राजनीतिक, सामाजिक र आर्थिक चुनौतीको सामना गरिरहेको भन्दै यस्ता बेला जनताले कांग्रेसबाट जिम्मेवार भूमिका अपेक्षा गरेको बताए। उनका अनुसार कांग्रेसभित्रको आन्तरिक मतभेद अन्त्य गरी साझा उद्देश्यका साथ अघि बढ्न सके मात्रै लोकतान्त्रिक प्रणाली थप सुदृढ हुने विश्वास गरे।
अभियान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको हो। आयोजकका अनुसार पार्टीका विभिन्न धारबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्दै संगठनलाई थप मजबुत बनाउने उद्देश्यले देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी राष्ट्रिय एकता भेलाको तयारी गरिएको छ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विज्ञप्तिमा लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बनेको उल्लेख गरिएको छ। कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक प्रणालीसमेत कमजोर हुने र त्यसबाट प्रतिगामी शक्तिलाई फाइदा पुग्ने भएकाले पार्टी एकता राष्ट्रिय आवश्यकता भएको अभियानकर्ताहरूको निष्कर्ष छ।
विज्ञप्तिमा सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, त्यसबाट जनधनको क्षति भएको तथा आर्थिक मन्दी, बेरोजगारी, युवापलायन र सुशासनको संकट गहिरिँदै गएको उल्लेख गरिएको छ। यस्ता राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको जनगुनासो बढिरहेका बेला प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने आफ्नै आन्तरिक विवादमा अल्झिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
अभियानका अगुवाहरूले ‘देश र कांग्रेस जोड्ने अभियान’ कुनै व्यक्ति, गुट वा पदका लागि नभई पार्टीको संस्थागत सुदृढीकरण, लोकतान्त्रिक मूल्यको संरक्षण र जनतासँगको सम्बन्ध पुनर्जीवित गर्ने साझा प्रयास भएको स्पष्ट पारेका छन्।
साउन २० गते हुने राष्ट्रिय एकता भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, आगामी कार्ययोजना सार्वजनिक गर्ने तथा लोकतन्त्र र राष्ट्रिय हितका पक्षमा कांग्रेसको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता रहेको छ।
प्रकाशित: १७ श्रावण २०८३ १३:०० आइतबार





