जातीय विभेदकै कारण दलित समुदायहरूले राजधानीमा कोठा भाडा नपाएको भन्दै दलित समुदायका युवाहरूले माइतीघरमा अनशन बसेका छन् । दलित भएकै कारण कोठा भाडा नपाइएको र पाए पनि निष्कासित हुनुपरेको भन्दै उनीहरूले आइतबार अनशन बसेका हुन् ।
दलित युवती तथा अभियन्ता दीपा नेपाली, पूर्वसांसद विमला विक, चमार नेपालको तर्फवाट डा. दिनेश चमार, अपाङ्गताको तर्फबाट युवराज रसाइली र धना परियार, लेखक सञ्जीव अनशन बसेका छन् ।
कठमाडौंमा अध्ययन गर्न आएदेखि नै कोठामा जातीय विभेद भोगेको र अहिले पनि चरम विभेद भोग्नु परेको कारण धर्नामा बस्नु परेको अभियन्ता दीपा नेपालीले नागरिकलाई बताइन् । उनको अनुसार ०७६ सालमा राजधानी छिरेदेखि घरबेटीले जात थाहा पाएपछि डेराबाट निकाला गरेको, जहाँ गए पनि थर सोध्ने र थर बताएपछि बहाना गरी कोठा दिन अस्वीकार गरेको र हालै पनि जातकै कारण कोठा नपाएपछि अनशन बस्नु परेको बताइन् । ‘अहिले पनि कोठा पाइन, अरूको शरणमा बसेकी छु’ उनले भनिन् ।
नेपालीले राजधानी बसाइको क्रममा जातकै कारण डेरामा धेरै पटक अपमान र विभेद भोगेकी छिन्। सुरुमा बालाजुमा सरकारी कर्मचारीकै घरमा जात थाहा पाएपछि डेराबाट निकाला गरेपछि मुद्दा लडेकी थिइन् भने पछिल्लो समय कीर्तिपुरमा यस्तै विभेद भोगेपछि जातीय छुवाछुत तथा विभेद सम्बन्धी मुद्दा लडिरहेको जानकारी दिइन् ।
पूर्व उद्योग तथा आपूर्ति राज्यमन्त्री तथा सांसद विमला विकले हालै राजधानीमा एजेन्ट मार्फत फल्याट भाडामा सम्झौता गरेको र जात सोधपछि घुमाउरो रूपमा अस्वीकार गरेपछि पीडित बनेको सुनाइन् । ‘सबै सम्झौता भएको थियो, पछि उहाँले अस्वीकार गर्नु भयो, पछि कसरी अस्वीकार हुन्छ, घरमा उहाँ नै निर्णयकर्ता हुनुहुन्छ’, विकले भनिन् ।
पूर्व सांसद विकले राजधानीमा डेरामा सोधिने जात र थरको समस्या र विभेदले आफू सहित थुप्रै दलित समुदायका व्यक्तिहरूले विभेद झेलिरहेको कारण यसलाई अब राष्ट्रिय रूपमै हल गर्न अनशन बसेको बताइन् ।
अनशनमा बसेका अन्य दुईजना अपाङ्गता भएका व्यक्तिहरू धना परियार र युवराज रसाइलीले पनि अपाङ्गता भएकै कारण कोठा नपाएपछि अनशन बस्नु परेको बताए ।
यस्तै, गैर दलित लेखक कार्की भने जातीय विभेदले जन्माएको समस्या हल गर्ने दायित्व सबैको भएकोले अनशनमा सामेल भएको बताए ।
राजधानीसहित देशैभरी जात थर सोधेर मात्र कोठामा भाडामा दिने प्रवृत्ति अन्त्यको लागि कानुनी व्यवस्थाको माग र कानुन विपरीत काम गर्नेलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
प्रकाशित: ६ वैशाख २०८३ १६:४१ आइतबार





