खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन–२०८३’ सात बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ।
तीन दिनसम्म चलेको सम्मेलनले जैविक विविधता संरक्षण, प्रकृतिमा आधारित जीविकोपार्जन, रोजगारी सिर्जना, दिगो विकास, पर्यापर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा स्थानीय–अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने प्रतिबद्धतासहित ‘दिक्तेल घोषणापत्र–२०८३’ सार्वजनिक गरेको हो।
दिक्तेल बजारस्थित सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा आयोजित सम्मेलनले परम्परागत अभ्यास, वैज्ञानिक ज्ञान र अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै सहभागितामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ। परम्परागत ज्ञान, सीप र अभ्यासलाई आधुनिक प्रविधिसँग जोडेर प्रकृतिमा आधारित समाधानमार्फत जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ।
बाँदरलगायत वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, उपयुक्त छेकबार, समुदायमा आधारित बीमा तथा क्षतिपूर्ति व्यवस्था, कम क्षति हुने खेती प्रणाली तथा सामुदायिक द्रुत प्रतिकार्य टोली गठन गरी मानव–वन्यजन्तु सहअस्तित्व कायम गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले वन्यजन्तुको नियमित अनुगमन, आहार–विहारसम्बन्धी अध्ययन अनुसन्धान तथा हिमाली जैविक विविधताको संरक्षण, संवर्द्धन र ज्ञान अभिवृद्धिमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालसहित भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीका प्रतिनिधिहरू सहभागी सम्मेलन जलवायु परिवर्तनको असर न्यूनीकरण, लोपोन्मुख वन्यजन्तु संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए।
उनका अनुसार सम्मेलन आयोजना गर्न प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा त्रिभुवन विश्वविद्यालयको सहकार्य रहेको थियो।
नगरप्रमुख भट्टराईले प्रथमपटक आयोजित सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै सहयोगी संस्था, साझेदार र व्यक्तिहरूलाई धन्यवाद दिएका छन्। उनले सम्मेलनले राष्ट्रिय नीति निर्माण, स्वरोजगार प्रवर्द्धन, स्थानीय सीपको उपयोग तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
सम्मेलनमा विभिन्न मुलुकका विज्ञ प्रतिनिधिहरूले १० वटा विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए। जैविक विविधता संरक्षण, दीर्घकालीन योजना निर्माण, संरक्षित क्षेत्रको प्राथमिकता निर्धारण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिबद्धतासम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।
सम्मेलनस्थलमा बाँसबाट बनाइएका लोपोन्मुख वन्यजन्तु रेडपाण्डा र थारका कलात्मक चित्रहरू सहभागीका लागि विशेष आकर्षण बनेका थिए। ती कलाकृति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कलाकार शम्भू राईले तयार गरेका हुन्।
वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन भएको सम्मेलन उद्घाटनअघि दिक्तेल बजारमा र्याली, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा रेडपाण्डा संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको थियो। सम्मेलनको उद्घाटन प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. दिलीप सुब्बाले संयुक्त रूपमा गरेका थिए।
प्रकाशित: ६ वैशाख २०८३ १५:५६ आइतबार





