११ वैशाख २०८२ बिहीबार
image/svg+xml २२:२९ अपराह्न
अन्तर्राष्ट्रिय

२ अर्ब डलर घोटालाको आरोप लागेका भारतका हीरा व्यापारी बेल्जियममा पक्राउ

भारतको पञ्जाब नेशनल बैंक ऋण ठगी मुद्दामा फरार अभियुक्त मेहुल चोक्सी पक्राउ परेका छन्। उनलाई बेल्जियम प्रहरीले भारतीय अनुसन्धान एजेन्सीहरूको अनुरोधमा पक्राउ गरेको हो। पक्राउपछि उनलाई हिरासतमा राखिएको छ। भारतले बेल्जियमसँग मिलेर सुपुर्दगी प्रक्रिया सुरु गरेको छ। 

चोक्सीले खराब स्वास्थ्यको कारण देखाउँदै जमानत मागेका छन्। उनले उपचारका लागि बेल्जियम पुगेको दाबी गरेका छन्। उनी श्रीमती प्रीति चोक्सीसँग एन्टवर्पमा बस्दै आएको बताइएको छ। उनकी श्रीमती प्रीति बेल्जियमकी नागरिक हुन्। चोक्सीमाथि १३ हजार ८५० करोड भारतीय रुपैयाँ (झण्डै २ अर्ब डलर) घोटालाको आरोप छ। 

स्रोतका अनुसार, उनी स्विट्जरल्यान्ड भाग्ने तयारीमा रहँदा पक्राउ परेका हुन्। उनका वकिल विजय अग्रवालले जमानतका लागि अपिल गर्ने र सुपुर्दगीको विरोध गर्ने बताएका छन्। चोक्सीको क्यान्सर उपचार र भारतीय जेलको खराब अवस्थालाई कारण देखाएर सुपुर्दगी रोक्ने तर्क गरिने वकिलले उल्लेख गरेका छन्। 

चोक्सीले सन् २०२३ मा बेल्जियमको रेसिडेन्सी कार्ड लिएको बताइएको छ, तर नक्कली कागजात प्रयोग गरेको आरोप छ। उनले सन् २०१७ मा एन्टिगुआको नागरिकता लिएर सन् २०१८ मा भारत छोडेका थिए। भारतमा उनको सम्पत्ति जफत गरिएको छ। 

उनका भान्जा नीरव मोदी पनि पञ्जाब नेशनल बैंक घोटालाका अभियुक्त हुन्। लन्डनमा रहेका नीरवलाई भारत प्रत्यर्पण गर्ने प्रक्रिया चलिरहेको भारतीय अधिकारीहरूले बताएका छन्।

प्रकाशित: १ वैशाख २०८२ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App