१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml १६:२६ अपराह्न
अन्तर्राष्ट्रिय

इन्डोनेसियाको माउन्ट लेवोटोबीमा ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबीमा ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ।

पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेसको दुर्गम टापुमा रहेको ज्वालामुखीमा सयौँ भूकम्प आएका छन् र पछिल्लो सात दिनमा दृश्यमान ज्वालामुखी गतिविधि उल्लेखनीय रूपमा बढेको छ।

अधिकारीहरूले विस्फोटको चेतावनीलाई उच्चतम स्तरमा बढाएका छन् र खतराको क्षेत्रलाई क्रेटरबाट सात किलोमिटरबाट आठ किलोमिटरमा विस्तार गरेका छन्।

विस्फोटका कारण केही एयरलाइन्सले अस्ट्रेलिया र इन्डोनेसियाको पर्यटकीय द्वीप बालीका बीचको उडानहरू रद्द गरेका छन् भने टापुमा अन्य अन्तर्राष्ट्रिय र घरेलु उडानहरू ढिलाइ भएका छन्।

ज्वालामुखीबाट निस्कने नदीहरूमा लाभा प्रवाहलाई उत्प्रेरित गर्ने भारी वर्षाको बारेमा बासिन्दाहरूलाई सतर्क रहन चेतावनी दिइएको इन्डोनेसियाको भूगर्भीय एजेन्सीले एक विज्ञप्तिमा बताएको छ।

नोभेम्बरमा माउन्ट लेवोटोबी लाकी लाकीको विस्फोटमा नौ जनाको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए।

एक हजार पाँच सय ८४ मिटर उचाइको पर्वत फ्लोरेस तिमुर जिल्लाको माउन्ट लेवोटोबी पेरेम्पुआनसँग जोडिएको जुम्ल्याहा ज्वालामुखी हो।

इन्डोनेसिया २७ करोड जनसङ्ख्या भएको द्वीपसमूह हो। यहाँ बारम्बार भूकम्पीय गतिविधिहरू हुन्छन्। यसमा एक सय २० वटा सक्रिय ज्वालामुखी छन् र यो ‘रिङ अफ फायर’ मा अवस्थित छ। रिङ अफ फायर प्रशान्त बेसिनलाई घेरेको भूकम्पीय फल्ट लाइनहरूको घोडे–नाल आकारको शृङ्खला हो। एजेन्सी

प्रकाशित: ८ चैत्र २०८१ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App