अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले मे ३ मा संघीय निर्वाचन गर्ने घोषणा गरेका छन्। उनले लेबर पार्टीलाई मत दिन सबैसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जाल एक्समा उनले लेखे, ‘मे ३ मा अस्ट्रेलियाको भविष्य निर्माण गर्न मतदान गर्ने निर्णय भएको छ। देशको भविष्यका लागि लेबर पार्टीको पक्षमा मत दिनुहोला।’
अस्ट्रेलियाका दुई ठूला पार्टीहरू यो वर्ष धेरैजसो समय निर्वाचन प्रचारमा व्यस्त छन्। नाइन न्यूजका अनुसार अल्बानिजले शुक्रबार गभर्नर जनरल सामन्था मोस्टिनलाई भेटेर निर्वाचनको प्रस्ताव राखेका थिए। सरकारले संघीय बजेट सार्वजनिक गरेको केही दिनमै उनले यो घोषणा गरेका हुन्।
विपक्षी नेता पिटर डटनले बिहीबार राति बजेटको जवाफमा सम्बोधन गरेपछि यो घोषणा आएको हो। विश्लेषकहरूले यसलाई डटनको आलोचनालाई कमजोर पार्ने प्रयास भनेका छन्।
शुक्रबार बिहान अल्बानिजले भने, ‘पछिल्ला केही वर्षमा विश्वले अस्ट्रेलियामाथि धेरै चुनौती थोपरेको छ। अनिश्चित समयमा हामीले सामना गर्ने कठिनाइहरूको निर्णय गर्न नसके पनि त्यसको जवाफ कसरी दिने भनेर हामीले निर्धारण गर्न सक्छौं।’
उनको बुझाइ छ, लेबर पार्टीले ऊर्जा बिलमा राहत, बालबालिकाको हेरचाहमा सहयोग र मेडिकेयरजस्ता जीवनयापनका खर्चमा ध्यान दिएको छ।
नाइन न्यूजले अल्बानिजलाई उद्धृत गर्दै लेख्छ, ‘यो चुनावमा म अस्ट्रेलियाली जनताको साथ मागिरहेको छु। हामीले गरेको मेहनत र बलियो आधारमा थप काम गर्न लेबर पार्टीलाई मत दिनु जरुरी छ।’
उनको तर्क छ, सामाजिक सञ्जाल कम्पनीहरूले तथ्य जाँच गर्न छोडेपछि निर्वाचन अभियानमा गलत सूचना फैलिएको छ र वास्तविकता बुझाउन भ्रम सिर्जना गर्ने प्रयास भएको छ।
गलत सूचनाको सम्भावनाबारे उनले भने, ‘विश्वभर चुनावमा हस्तक्षेप भइरहेको छ। तर अस्ट्रेलियाविरुद्ध यस्तो प्रयास गर्नेहरू सावधान रहनुहोस्। हाम्रो देशको हेरचाह गर्ने हाम्रो क्षमता असाधारण छ।’
हाल लेबर पार्टीसँग प्रतिनिधिसभामा ७७ सिट छन् भने विपक्षीसँग ५३ सिट छन्। यस वर्षको सुरुका दुई महिनाको सर्वेक्षणले गठबन्धनको पक्षमा मतदाता झुकाव देखाएको छ। यो अवस्थाले लेबर पार्टी नेतृत्वको सरकार सन् १९३१ पछि एक कार्यकालमै सत्ताबाट हट्ने पहिलो सरकार बन्न सक्ने सम्भावना बढाएको छ।
सर्वेक्षणले गठबन्धन सरकारप्रति जनमत बढेको संकेत गरेको छ। तर, पछिल्ला हप्ताहरूमा सरकारले जनमत सर्वेक्षणमा पहिलेभन्दा राम्रो प्रदर्शन गरेको छ।
नाइन न्यूजका अनुसार शुक्रबार बिहान अल्बानिजले भने, ‘म प्रधानमन्त्रीमा पुनः निर्वाचित भएँ भने बहुमतको सरकार बनाएर पूरा कार्यकाल चलाउन चाहन्छु।’
डटनले अहिलेसम्म यो घोषणाबारे केही बोलेका छैनन्। तर, लिबरल पार्टीको आधिकारिक इन्स्टाग्राम पेजले ‘इट्स अन’ लेखिएको तस्बिर सेयर गरेको छ। पोस्टमा भनिएको छ, ‘मे ३ मा अस्ट्रेलियालाई सही बाटोमा ल्याउन लिबरल पार्टीलाई मत दिनु उचित विकल्प हो।’ एएफपी
प्रकाशित: १५ चैत्र २०८१ १६:२४ शुक्रबार