अमेरिकामा भएको दशक यताकै भयानक विमान दुर्घटनालाई लिएर राजनीति सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार (स्थानीय समयानुसार) पीडित र उनीहरूका परिवारहरूका लागि एक क्षण मौनताका साथ सुरु गरेका थिए। त्यसपछि राष्ट्रपति ट्रम्पले वाशिङ्टन डीसी नजिकै बुधबार भएको यो दुर्घटनामा अमेरिकन एयरलाइन्सको विमान र सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमा नै ठोक्किएका थिए।
उक्त दुर्घटनामा ६७ जनाको ज्यान गएको थियो। विमानमा सवार चालक दलका चार जनासहित ६४ जना र हेलिकप्टरमा तीन जना सैनिकहरू थिए, जसमा कोही पनि बाँच्न सकेनन्। ट्रम्पले दुर्घटनाका लागि पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनको नीतिहरूलाई दोष दिँदै बिना प्रमाण यो घातक दुर्घटनाको जिम्मेवार ठहराएका छन्।
सो अवसरमा राष्ट्रपति ट्रम्पले घटनाको विस्तृत छानबिन गर्न आदेश दिएको जानकारी दिँदै भने, ‘यो दुर्घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन, तर हामी छिट्टै पत्ता लगाइनेछौँ र फेरि यस्तो नहोस् भनेर सुनिश्चित गर्नेछौँ।’
ट्रम्पले यो घातक दुर्घटनाको लागि अघिल्लो बाइडेन सरकारको डीईआई कार्यक्रम (विविधता, समानता र समावेशीता) लाई दोष दिए, जसले अपाङ्गता वा मानसिक समस्या भएका व्यक्तिलाई एयर ट्राफिक कन्ट्रोलरको रूपमा भर्ती गरेको उनको आरोप छ।
उनले ओबामा र बाइडेन प्रशासनलाई एयर ट्राफिक कन्ट्रोलमा औसत (कम क्षमता) भएका व्यक्ति भर्ती गरेको आरोप पनि लगाए, तर उनले यी दाबीका लागि कुनै प्रमाण दिएका छैनन्।
ट्रम्पले बाइडेन प्रशासनको नीतिहरूलाई दोष दिँदै, प्रमाणबिना दुर्घटनाको जिम्मेवारी दाबी गर्दै भने, ‘हाम्रो उड्डयन प्रणालीमा काम गर्नेहरूका लागि हामीसँग उच्च मापदण्ड हुनुपर्छ।’ ट्रम्पले अघिल्लो सरकार र पूर्व यातायात सचिव पीट बुटिगिगको आलोचना गरे, तर अमेरिकी जनताहरूलाई एकताको सन्देश पनि दिए।
दुर्घटनाको समयमा प्रयोगमा रहेको रनवे अस्थायी रूपमा बन्द गरिएको छ। फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर बरामद गरिएको छ। डीसी फायरको पोस्ट अनुसार, गोताखोरहरूले पोटोम्याक नदी दुर्घटना स्थलका सबै पहुँचयोग्य क्षेत्रहरू खोजी गरिरहेका छन्।
अमेरिकन एयरलाइन्सले शुक्रबार आफ्नो क्षेत्रीय सेवा पुनः सुरु गर्नेछ। बिहीबार दिउँसो ४० भन्दा बढी शव निकालिएको छ। राष्ट्रिय यातायात सुरक्षा बोर्डले विमान–हेलिकप्टर दुर्घटनाको कारणबारे प्रारम्भिक रिपोर्ट ३० दिनभित्र जारी गर्ने लक्ष्य राखेको छ।
प्रकाशित: १८ माघ २०८१ ०८:४० शुक्रबार