भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्क लगिएकामा चीन र उत्तर कोरियाले कडा निन्दा गरेका छन्।
चीनले मादुरो दम्पतीको सुरक्षा प्राथमिकतामा राख्न जोड दिँदै अमेरिकालाई तुरुन्त रिहा गर्न र भेनेजुएलाको सरकार ढाल्ने प्रयास बन्द गर्न आग्रह गरेको छ। बेइजिङले यो कारबाहीलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन र आधिपत्यवादी बल प्रयोग भनेको छ।
उत्तर कोरियाले यो घटनालाई सार्वभौमसत्ताको अतिक्रमणको सबैभन्दा गम्भीर रूप भनेको छ। उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘यो घटना अर्को उदाहरण हो जसले अमेरिकाको दुष्ट र क्रूर प्रकृतिलाई फेरि एक पटक स्पष्ट रूपमा पुष्टि गर्दछ।’
दुवै देशले यो कारबाहीले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिमा गम्भीर खतरा निम्त्याएको बताएका छन्। चीन भेनेजुएलाको मुख्य तेल खरिदकर्ता र ठूलो लगानीकर्ता हो, जसले यस क्षेत्रमा आफ्नो आर्थिक चासो बढाइरहेको छ। विश्लेषकहरूका अनुसार यो घटनाले चीन र अमेरिका तनाव थप बढाउन सक्छ। तर चीनले कूटनीतिक विरोधमा सीमित रहने अनुमान छ।
यता, मादुरो दम्पतीलाई शनिबार राजधानी काराकासबाट पक्राउ गरी अमेरिकी सहर न्यूयोर्क लगिएको छ। उनीहरूमाथि लागूऔषध तस्करी, नार्को–आतंकवाद र हतियारसम्बन्धी आरोप छन्। मादुरो ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टर जेलमा छन्। आज (सोमबार) म्यानह्याटनको संघीय अदालतमा पहिलो सुनुवाइ हुनेछ।
प्रकाशित: २१ पुस २०८२ १०:०६ सोमबार





