प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा प्रत्यक्षतर्फ निर्वाचन लडेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित १० पदाधिकारी आगामी पाँच वर्षे संसद्को कार्यकालमा संसद् बाहिर रहने निश्चितजस्तै भएको छ।
एमालेका १९ पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित ११ जना प्रत्यक्षतर्फ निर्वाचन लडेका थिए। उनीहरूमध्ये अधिकांश पराजित भइसकेका छन् भने बाँकी रहेका केही उम्मेदवार पनि मतगणनामा पछाडि परेकाले विजयी हुने सम्भावना न्यून देखिएको छ।
अध्यक्ष ओली झापा–५ बाट चुनाव लडेका थिए। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँग उनी ठूलो मतान्तरले पछि परेकाले पराजित हुने निश्चित भएको छ।
एमाले उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण विष्ट गुल्मी–२ बाट चुनाव लडेका थिए। रुपन्देही–२ मा पौडेललाई रास्वपाका सुलभ खरेलले पराजित गरिसकेका छन् भने गुल्मी–२ मा गोकर्ण विष्ट रास्वपाका गोविन्द पन्थीसँग हारिसकेका छन्। लमजुङमा भने अन्तिम नतिजा आउन बाँकी भए पनि पृथ्वीसुब्बा गुरुङ निकै पछि परेकाले जित्ने सम्भावना टरेको छ।
महासचिव शंकर पोखरेल दाङ–२ बाट चुनाव लडेका थिए। उनी पनि रास्वपाका विपिन आचार्यसँग पराजित भइसकेका छन्।
उपमहासचिवहरू रघुवीर महासेठ धनुषा–४ र लेखराज भट्ट कैलाली–४ बाट चुनाव लडेका थिए। धनुषा–४ मा महासेठ रास्वपाका राजकिशोर महतोसँग पराजित भइसकेका छन् भने कैलाली–४ मा भट्ट मतगणनामा निकै पछाडि छन्। खसेको मतको आधारमा उनले जित्ने सम्भावना लगभग समाप्त भएको देखिन्छ।
एमाले सचिवहरू महेश बस्नेत भक्तपुर–२, राजन भट्टराई काठमाडौं–४ र भानुभक्त ढकाल तेह्रथुमबाट चुनाव लडेका थिए। यी तीनै जना उम्मेदवार पराजित भइसकेका छन्।
सचिव शेरधन राई भोजपुरबाट चुनाव लडेका छन्। त्यहाँ मतगणना जारी रहेको भए पनि राई करिब एक हजार मतले पछाडि छन्। भोजपुरमा हर्क राई नेतृत्वको श्रमसंस्कृति पार्टी र नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङबीच प्रतिस्पर्धा हुने देखिएको छ।
कथमकदाचित शेरधन राई पनि निर्वाचित हुन नसके एमालेबाट प्रत्यक्षतर्फ चुनाव लडेका सबै ११ पदाधिकारी आगामी संसद्को पाँच वर्षे कार्यकाल संसद् बाहिरै रहने अवस्था बन्नेछ।
तेह्रथुममा सचिव भानुभक्त ढकाललाई नेपाली कांग्रेसका उम्मेदवारले पराजित गरेका छन् भने एमालेका अधिकांश शीर्ष पदाधिकारीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले हराएका छन्।
एमालेका अन्य पदाधिकारीमध्ये उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ समानुपातिक सूचीमा रहेका छन्। अर्का उपाध्यक्ष रघुजी पन्तले यसपटक कुनै पनि निर्वाचन लडेका छैनन्। सचिव पद्यमा अर्याल समानुपातिक सूचीमा रहँदा यमलाल कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री छन्।
छविलाल विश्वकर्मा र खगराज अधिकारीले पनि निर्वाचन लडेका छैनन् भने अर्का सचिव हिक्मत कार्की कोशी प्रदेशका मुख्यमन्त्री भएकाले चुनावमा सहभागी भएका थिएनन्।
प्रकाशित: २३ फाल्गुन २०८२ १६:२४ शनिबार





