११ पुस २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा पाकिस्तानको हवाई हमला : १५ को मृत्यु, बदला लिने तालिबानको धम्की

पाकिस्तानले मंगलबार राति अफगानिस्तानमा हवाई आक्रमण गरेर दर्जनौ विद्रोहीको ज्यान लिएको बताएको छ। पाकिस्तानी तालिबानका संदिग्ध लडाकु लुकेका ठाउँहरूलाई निशाना बनाइएको थियो। पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पक्तिका प्रान्तको पहाडी क्षेत्रमा यी हमला गरिएको हो। 

उक्त हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्। समाचार एजेन्सी एपीले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानी तालिबानको प्रशिक्षण केन्द्र ध्वस्त भएको बताएको छ। 

अधिकारीहरूले धेरै आतंककारी मारिएको दाबी गरेका छन्। तर, पाकिस्तानी विमानहरू अफगानिस्तानमा कति भित्रसम्म पुगे, कसरी आक्रमण गरे भन्ने खुलाइएको छैन। मार्चयता दोस्रो पटक पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको हो।

हमलालाई लिएर अफगानिस्तानको रक्षा मन्त्रालयले निन्दा गरेको छ। काबुलले पाकिस्तानमाथि महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएको छ। अफगानिस्तानले यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लङ्घन पनि भनेको छ। अफगान रक्षा मन्त्रालयले यस्तो एकतर्फी कदम कुनै पनि समस्याको समाधान नभएको उल्लेख गरेको छ। 

अफगानिस्तानमा सरकारको नेतृत्व गरिरहेको तालिबान सरकारले हवाई आक्रमणको जवाफ दिने पनि बताएको छ। मन्त्रालयले लेखेको छ, ‘आफ्नो मातृभूमिको रक्षा गर्नु हाम्रो अधिकार हो, हामी यो कायरतापूर्ण आक्रमणको अवश्य जवाफ दिनेछौँ।’ पाकिस्तानले अक्सर पाकिस्तानी तालिबानले अफगानिस्तानको भूमि प्रयोग गरी आतंकवादी हमला गर्ने गरेको आरोप लगाउने गरेको छ। तर, अफगानिस्तानले पाकिस्तानले लगाउने सबै आरोपलाई अस्वीकार गर्दै आएको छ।

प्रकाशित: १० पुस २०८१ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App