८ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोशी अस्पतालमा स्वास्थ्यमन्त्री : नयाँ संरचना निर्माणपछि समस्या हल हुने आश्वासन

विराटनगरस्थित कोसी अस्पतालमा सेवाग्राहीले भोग्दै आएको समस्या नयाँ संरचना तयार भएपछि हटेर जाने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्।

बुधबार अस्पतालको निरीक्षण गर्दै मन्त्री खतिवडाले अस्पतालको नयाँ भवनसँगै शैय्या थपिनुका साथै जनशक्ति र आधुनिक उपकरणबाट सेवा प्रदान हुने बताए। सरकारले सरकारी अस्पताललाई गाउँ–गाउँ पुर्याउने योजना बनाएको उल्लेख गर्दै उनले एक पालिका एक स्वास्थ्य केन्द्रको अवधारणा कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको बताए। उनले भने, ‘सर्वसाधारणको पहुँच अस्पतालसम्म पुग्न जरुरी रहेको छ।’

मन्त्री खतिवडाले चाँडै अस्पताललाई ५ सय शैय्याको सेवाका लागि स्वीकृति प्रदान गर्ने पनि बताए। हाल २ सय शैय्यामा रहेको अस्पतालमा सर्वसाधारणका चापलाई मध्यनजर गर्दै अस्पतालले ५ सय शैय्याबाट बिरामीको सेवा गर्ने उनले बताए।

अस्पताल निरीक्षणमा आएका मन्त्रीलाई सेवाग्राहीले स्वास्थ्य बिमाको सेवा लिन धेरै झन्झट व्यहोर्नु परेको गुनासो गरेका थिए। एउटै मात्रै अस्पतालमा सेवा लिनु पर्दा झन्झट र धेरै समयसम्म पर्खनु पर्ने बाध्यतालाई हटाउन माग गरेका थिए।

सबै ठाउँबाट बिमामा समस्या आएको बताउँदै मन्त्री खतिवडाले सरकारले यसलाई छलफलको अजेण्ड बनाएर अघि बढिरहेको बताए। अस्पतालमा जनशक्ति अभावसँगै ल्याबमा कर्मचारी नहुँदा बिरामीले चार दिनसम्म उपचार गर्न नपाएको गुनासो बिरामीका आफन्तले गरेका थिए।

‘अस्पतालमा देखिएको मूल समस्या भौतिक संरचनाको अभाव नै हो,’ मन्त्री खतिवडाले भने, ‘भवन निर्माण हुँदैछ। निर्माण कार्य सकिएपछि देखिएको धेरै समस्या हल भएर जाने छ। अस्पताललाई चाहिने जनशक्ति थप गर्ने छौँ।’  

अस्पताल विकास समितिको १ सय र अस्पतालको २ सय ५० गरी ३ सय ५० शैय्यामा अस्पताल सञ्चालन भइरहेको छ । हाल अस्पतालमा ८० जना चिकित्सकसहित करिब ५ सय जना कर्मचारी कार्यरत छन्। अत्याधुनिक संरचनासहितको ५ तलाको भवन निर्माण सुरु भइसकेको र अढाइ वर्षभित्र भवन तयार हुने अस्पतालले जानकारी दिएको छ।

प्रकाशित: १० कार्तिक २०७८ १४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App