६ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बेसार शुभ मात्र होइन, औषधीय गुणले भरिएको पनि छ

चारुकेसी/बिबिसी

केही वर्षअघि लण्डनस्थित एउटा कफी पसलमा मैले पहिलोपटक बेसार मिसाइएको दूध पेयका रुपमा राखिएको देख्दा विश्वासै लागेन । मेन्युमा यसलाई ‘गोल्डेन मिल्क’ नाम दिइएको रहेछ ।

यसमा बदाम, थोरै दालचिनी र मरिच अनि मिठासका लागि प्राकृतिक एगेभ सिरप पनि हालिएको थियो । यसपछि अरु चिजबिज पनि हालिएको हुँदो हो तर मैले त्यसपछि पढ्न बन्द गरिदिएँ किनभने यो यति महँगो थियो कि यति महँगो पैसा हाल्नुभन्दा घरैमा बनाएर खानु ठीक होला जस्तो लाग्यो ।

यसमा के–के मिसाइएको छ भन्ने पढ्न बन्द गर्नुको अर्को कारण हाम्रा हजुरआमाले जोरजबरजस्ती गरेर पिउन गरेको अनुरोध र तिनको मुस्कान सम्झेर पनि हो ।

केही समय त म बालापनको यादमा विस्मृत भएँ । मलाई आमाले तातो तातो हर्दी हालेको दूध पियाउन अनेकन् कुरा सुनाउनु हुन्थ्यो । खान्नँ भनेँ भने उहाँले गाली पनि गर्नु हुन्थ्यो ।  

त्यो दूधमा मेवाजस्ता फलफूल हालिएको हुँदैन थियो । मीठो बनाउनका लागि केही चिनी मात्र हालिएको हुन्थ्यो । अन्तिम घुट्को खाइसक्दा मुखभरि पहेँलो हर्दीको लेदो आइपुग्थ्यो । हिन्दी भाषामा हल्दी दूध भनिए पनि नेपालीमा बेसार–दूध भनिए पनि मेरी आमाले तमिल भाषामा पलील मञ्जल भन्नुहुन्थ्यो ।

यो मसला हो कि औषधि ?

घाँटी खस्खसायो भने, शरीरमा ज्वरो बढ्यो भने आमाले तुरुन्त हर्दी दूधको मिश्रण खुवाउनु हुन्थ्यो । कयौँ दक्षिण भारतीय आमाहरुले यस किसिमको तरललाई रामवाण औषधि नै मान्छन् ।

पश्चिमेली देशहरुले गएको एक दशकमा बेसारलाई लोकप्रिय बनाउन थालेका छन् र यसलाई ‘सुपरफुड’को दर्जामा राखेका छन् ।

उनीहरुले हर्दीका ताजा गाँठाहरुलाई चिया र कफीमा हाल्न थालेका छन् । यसको शर्बत बनाउन थालेका छन् । यी पेयले विभिन्न कुरामा तुरुन्त फाइदा दिने बताइरहेका छन् ।

लण्डनमा मात्र होइन, मैले अमेरिकाको सनफ्रान्सिस्कोदेखि अस्ट्रेलियाको मेलबर्नसम्मका क्याफेहरुमा बेसारे पेय देखेकी छु ।

दक्षिण एसियाली घरहरुमा लामो समयदेखि प्रमुख सामग्रीमध्ये एकको रुपमा यो सधैँ रहिरहेको छ । यसको प्रयोग काँचो गाँठो र बेसार पाउडर दुवै रुपमा गरिन्छ ।

मेरो मसला राख्ने भाँडोमा सरसौँ, जीरा, खोर्सानीको धुलोसँगै बेसार पनि हुन्थ्यो । मेरी आमाले पनि त्यसरी नै मसला राख्नुहुन्थ्यो र उहाँकी आमाले पनि त्यसै गर्नुहुन्थ्यो । खासगरी हामीले भान्सामा तरकारी र शोरबा बनाउन यसको प्रयोग गर्ने गर्छौं ।

हर्दीको ताजा र मुलायम गाँठोलाई हर्दीको अचार पनि बनाइन्छ । त्यसका टुक्रा वा लेदोमा तातो तेल हालेर बनाइएको अचार कम्ता मीठो हुँदैन ! केही समुदायमा त हर्दीको पत्ताको ढाक्ने चिज बनाएर त्यसमा भोजन पकाइन्छ ।  

‘द फ्लेवर अफ स्पाइस’ की लेखिका मरियम रेसी भन्छिन्, ‘गोवामा म आफ्नो घरमा हर्दी रोपेर हुर्काउँछु ताकि यहाँको चर्चित पटोलिओ मिठाई बनाउन सकूँ ।’

पेटोलियो बनाउनका लागि चमलमा गुड मिसाइन्छ र त्यसमा हर्दीका दुई पातका बीचमा राखिन्छ । त्यसलाई वाफले पकाइन्छ र त्यसमा हर्दीको विशेष मग्मगाउने सुवास आउँछ ।

बेसार कति जरुरी ?

दक्षिण एसियाली भान्सामा हर्दीको प्रयोग खासमा स्वादका लागि भन्दा औषधिजन्य चिज पाइन्छ भन्ने हिसाबले मात्र प्रयोग गर्ने गरिएको केहीको धारणा छ । मुम्बईस्थित बम्बे क्यान्टिन रेस्टुराँका कार्यकारी सेफ थोमस जकारिया भन्छन्, ‘अधिकांश भान्सेहरु बेसार हाल्ने बानीका कारण यसलाई प्रयोग गरिरहेका छन् । खानामा स्वाद बढाउनका लागि यसको प्रयोग निकै कम हुन्छ ।’

उनले त खेतबाट भर्खर उखेलेर ल्याइएको हर्दीको बोटलाई स्टार सामग्रीका रुपमा बेच्ने गरेका छन् । भारतको केरलामा फिस करीमा यस्ता हर्दीको उपयोग निकै गज्जबसँग गरिन्छ ।

हर्दी र अदुवा एउटै परिवारका फल हुन् । दक्षिण एसियाली धेरै देशमा यसको खेती हुने गर्छन् ।  

फाइनान्सियल एक्सप्रेसका अनुसार संसारभरका जम्मा हर्दी उत्पादनमध्ये ७५ प्रतिशतभन्दा बढी दक्षिण एसियाली मुलुकले उत्पादन गर्छन् । भारत संसारकै सबैभन्दा बढी हर्दी निर्यातक देश हो । खपत पनि यस देशमा धेरै नै हुने गर्छ ।

मे महिनादेखि अगस्त महिनासम्म यसलाई खेतीका रुपमा लगाइन्छ र जनवरी महिनामा यसको बाली काटिन्छ ।

दक्षिण भारतमा सबैभन्दा बढी उत्पादन हुने हुनाले पनि त्यहाँ यसको बाली काट्ने बेला उत्सव नै मनाइन्छ । पोंगल उत्सवका रुपमा मनाइने यस चाडमा हर्दीको जरा र पातको विशेष महत्व हुने गर्छ ।

दूध उमाल्ने भाँडोको मुखमा हर्दीको ताजा पात र त्यसको जरो बाँधिन्छ । यसो गर्दा घरमा धनधान्य हुने विश्वास गरिन्छ ।

भारतमा हर्दी भान्साको एउटा मसलाभन्दा बढी नै छ । एक किसिमले भन्ने हो भने भारतीय संस्कृतिमा यसको विशेष ठाउँ छ ।  

केही हिन्दु समुदायमा बिहेमा उर्वरता र समृद्धिको प्रतीकका रुपमा दुलाहा–दुलहीलाई हर्दी दलिदिने चलन छ ।

दुलहीको मंगलसूत्रको धागोलाई पनि बेसारको घोलमा डुबाइन्छ । आज पनि बिहे लगायतका कयौँ शुभ अवसरमा लगाइने कपडाको कुनै न कुनै कुनामा बेसार दलिन्छ ।

कयौँले अनुहार चम्काउनका लागि जुन फेस प्याक बनाउँछन्, त्यसमा एक चिम्टी हर्दी हाल्छन् नै । यसो गर्दा बेसारले छालालाई सफा मात्र गर्दैन, चमक पनि आउँछ ।

वास्तविक दक्षिण भारतीय मसला

केही विश्लेषकहरुले बेसारलाई यस क्षेत्रकै वास्तविक मसला मान्छन् । भारतमा पाइने अधिकांश मसलाहरु यात्री तथा आक्रमणकारीहरुले सँगै लिएर आएका थिए । जस्तो कि खोर्सानी दक्षिण अमेरिकाबाट आयो । जीरा पूर्वी भूमध्यसागर क्षेत्रबाट आयो । हर्दी भने यहीँको स्थानीय उत्पादन हो ।

यो यहीँको उत्पादन हो । यसमा रहेको औषधीय गुणका कारण र यसमाथिको विश्वासका कारण हजारौँ वर्षदेखि हाम्रो भान्सामा अटुट रुपमा रहिरहेको छ ।

दस वर्ष पहिले एउटा पुरानो घाउको उपचारका लागि म केरलाको एउटा आयुर्वेद अस्पताल गएकी थिएँ । उनीहरुले बेसारको लेप, केही मालिस र अन्य औषधिको जोडबाट मेरो उपचार गरेका थिए ।

त्यो बेला एकजना वरिष्ठ वैद्यले मलाई भनेका थिए, ‘आयुर्वेदमा हर्दीको प्रयोग पीडा कम गर्ने औषधिका रुपमा लेखिएको छ । यसले दुखेको निको पार्ने काम गर्छ ।’

कयौँले बेसारबाटै घरेलु उपचार गर्ने गर्छन् । गोडाको कुर्कुच्चा मर्किएको खण्डमा बेसारको लेप लगाइन्छ । ज्वरो आयो, रुघाखोकी लाग्यो भने यसको हर्दीको गाँठोमा आगो लगाउने र त्यसको धुवाँ सुङ्ने जस्ता कार्य हिजोआजसम्म चलन छ । हर्दी–पानी खाने कुरा त सामान्य भइहाल्यो । यो कार्य हजारौँ वर्षदेखि चलिआएको नै हो ।

बेंगलुरुस्थित सोक्या होलिस्टिक हेल्थ सेन्टरका संस्थापक डाक्टर आइजक मथाई भन्छन्, ‘आयुर्वेदले मानव शरीरमा तीन किसिमको ऊर्जा छ भन्ने मान्छ । वात, पित्त र कफ । हर्दी मात्र एउटा यस्तो औषधि हो, जसले यी तीनवटै दोषलाई ठीक गर्छ ।’

यसले पीडा कम गराउँछ । यसमा एन्टिअक्सिडैन्ट र एन्टिसेप्टिक गुण हुन्छ । हुन त यस्ता कुरालाई आधुनिक चिकित्साशास्त्रले वैज्ञानिक प्रमाणको अभाव भनेर मानिरहेको छैन ।

बेसारको रासायनिक गुण

हर्दीको चम्किलो पहेँलो रङ र यसको औषधीय खुबी कहाँबाट आउँछ त ? विज्ञहरु भन्छन्, ‘यसमा एक किसिमको रासायनिक तत्व हुन्छ, जसको नाम हो कक्र्युमिन । यसले नै औषधीय गुण बोकेको हुन्छ ।’

हामीले भान्सामा जब तेलसँग यसलाई झ्याइँय पार्छौं, कक्र्युमिनको असर अझ बढेर आउँछ ।

पोषण विशेषज्ञ र ‘द एभरिडे हेल्दी भेजिटेरियन’की लेखिका नन्दिता अय्यर भन्छिन्, ‘कक्र्युमिन तीव्र रुपमा घुल्ने यौगिक (मोलिक्युल) हो । बोसोमा समेत यो शोषित हुन्छ ।’

तर म त यस्तो हुन्छ अरेमा विश्वास गर्दिनँ । घरमा हर्दीको अचार बनाइयो भने खान्छु तर स्वादका लागि । मलाई विश्वास छ, हर्दी सबै कुराको उपचार होइन तर यसलाई एउटा स्वादका लागि बेलाबेलामा खाँदा त राम्रै हुन्छ होला ।

प्रकाशित: २२ श्रावण २०७७ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App