भक्तपुर सिर्जनानगरका ६३ वर्षीय बुद्धिकृष्ण श्रेष्ठलाई गत असोजदेखि दिसाको आनीबानीमा फरक पर्दै गयो । कुनै दुखाइ बिना नै दिनको दश/बाह्र पटक दिसा हुन थाल्यो । यो दैनिकी उनको लागि सहज भएन । विशेष गरी घर बाहिर टाढा जाँदा अप्ठेरो पर्यो । उनी स्थानीय अस्पताल, छाउनी अस्पतालमा पुगे । सुरुमा औषधी सेवन गरे । निको नभएपछि कोलोनोस्कोपी गरे । ठूलो आन्द्रामा मासु पलाएको भेटियो । मासुको जाँच गर्दा क्यान्सर पुष्टि भयो ।
भक्तपुर क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. पुष्य खरवुजाको समूहले आन्द्राको शल्यक्रिया गरे । त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमै एमआरआइ गर्दा तेस्रो चरणको क्यान्सर पहिचान भयो । उनी मंगलवार फलोअपको लागि अस्पताल पुगेका हुन । तेस्रो चरणको क्यान्सर भएकोले किमोथेरापी र रेडियोथेरापी उपचारको लागि चिकित्सकले सुझाएका छन् ।
प्यूठानकी ३७ वर्षीया भुमा कुमारी थापाको पनि गत साता यही अस्पतालमा ठूलो आन्द्राको शल्यक्रिया गरिएको छ । उनी बुधवार उनको डिस्चार्ज भयो । विवरण अनुसार उनको गत वैशाखदेखि खाना खाएपछि बान्ता हुन सुरु भयो । सुरुमा ग्याष्टिकको उपचार गरिन । निको भएन । फागुनमा भरतपुर क्यान्सर अस्पतालमा पुगिन । अस्पतालमा ठूलो आन्द्राको क्यान्सर भएको पुष्टि भयो । उनी आफ्नो रोजाइमा थप उपचारको लागि यो अस्पताल पुगेकी हुन । ढिला उपचारमा पुगेको कारण उनको क्यान्सर पनि तेस्रो चराण्मा फैलिएको उनको उपचारमा संलग्न चिकित्सक डा. खरवुजाले बताए । क्यान्सरको डल्लोले आन्द्राको बाटो बन्द भएपछि उनमा बान्ता हुने समस्या भएको डा. खरवुजाले बताउँछन् ।
अस्पतालमै भर्ना भएका सल्यानका ४५ वर्षीय कृष्ण बहादुर चन्दको बुधवार मात्र आन्द्राको शल्यक्रिया भएको छ । उनको गत कात्तिकदेखि पेट दुख्ने समस्या भएपछि उनी उपचारको लागि विभिन्न अस्पताल पुगे । ढिला मात्र क्यान्सरको पहिचान भएपछि शल्यक्रियाको लागि अस्पताल पुगेका हुन । उनको पनि आन्द्रामा ट्युमर पलाएर दुखाइ बढेको डा. खरबुजाले बताए ।

यी तीन वटा बिरामी बाहेक अस्पतालमा ठूलो आन्द्राको क्यान्सरको कारण मार्च महिनामा मात्र ११ जनाको शल्यक्रिया भइसकेको छ । अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. खरवुजाका अनुसार उनले मात्र वर्षमा कम्तीमा ६० वटा यस्तो सर्जरी गरेका छन् । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरको अनुसार गत आर्थिक वर्षमा मात्र दुई सय ४० जना ठूलो आन्द्राको क्यान्सरका बिरामी छन् । नेपालमा ठूलो आन्द्राको क्यान्सर कति छ भन्ने बिषयमा यकिन तथ्याकं छैन । विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण अनुसार कुल क्यान्सरको ११ प्रतिशत पाचन प्रणालीको क्यान्सर छ भने त्यसको ५ देखि ७ प्रतिशत ठूलो आन्द्राको क्यान्सर छ ।
चिकित्सकका अनुसार ठुलो आन्द्रा र मलद्वारको भागमा हुने क्यान्सर ठुलो आन्द्राअन्तर्गतको क्यान्सर हो। धेरैजसो पेटमा कुनै समस्या देखिनेबित्तिकै ग्यास्टिक भन्दै ग्यास्टिकको उपचार गर्ने चलनले यो रोगको पहिचान ढिला हुन्छ।
‘धेरै महिना ग्यास्टिकको उपचारपपछि मात्र रोग पहिचान भएको हुन्छ,’ भरपुर क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. गंगा सापकोटाले भने। उनका अनुसार यो अस्पतालमा ७० प्रतिशत तेस्रो र चौथो चरणको क्यान्सर लिएर पुग्छन्। उपचारमा पुगेकामध्ये ६० प्रतिशत तेस्रो, २० प्रतिशत दोस्रो र २० प्रतिशत चौथो चरणको क्यान्सरका हुने गरेको उनी बताउँछन्।
आन्द्राको क्यान्सरको बारेमा जनचेतनाको कमी हुनु र पहिचानमा स्वास्थ्य प्रणालीमा अनिवार्य नभएकाले यो ढिला मात्र पहिचान हुने गरेको डा. पुण्य खर्बुजाको भनाइ छ। ४५ वर्षपछि यो क्यान्सर देखिने जोखिम बढी हुने भएकाले ४५ वर्ष पुगेपछि अनिवार्य रूपमा आन्द्राको जाँच हुनुपर्नेमा तर नेपाली समाजमा त्यो अभ्यास छैन।
विकसित देशमा ४५ वर्ष पुगेपछि अनिवार्य रूपमा वर्सेनि आन्द्राको परीक्षण हुन्छ। स्वास्थ्य प्रणालीले निःशुल्क रूपमा आन्द्राको परीक्षण गर्ने व्यवस्था गरेको हुन्छ। तर नेपालमा यो विषयमा कुनै व्यवस्था नभएको चिकित्सक बताउँछन्। ‘केही नभएसम्म व्यक्ति उपचारमा जाँदैनन्, केही भएपछि रोग छिप्पिसकेको हुन्छ,’ डा. खर्बुजाले भने।
पछिल्लो समय गलत खानपानको अभ्यास, रातो मासुको प्रयोग, विषादीयुक्त तथा रसायनयक्त खानाको प्रयोग हुनु र आरामदायी जीवनशैलीले मानिसमा मोटोपना बढेका कारण ठूलो आन्द्राको क्यान्सर बढेको चिकित्सक अनुमान छ।

भरतपुर अस्पतालका क्यान्सर शल्य चिकित्सक डा. सापकोटाका अनुसार गलत जीवनशैलीको कारण हुने क्यान्सर बढी देखिएको छ। त्यसमावा उमेरमै हुने बढेका छन्। ‘२० वर्षमुनिका मानिसमा पनि यो क्यान्सर देखिएको छ, यो राम्रो होइन,’ डा. खर्बुजाले भने।
आफ्नो परिवारको सदस्यको आन्द्रामा पोलिभ (आन्द्रामा सानो सानो मासुको फोका) छ भने पछि गएर छोराछोरीमा यो पोलिभ देखिन सक्छ। पोलिभको समयमै उपचार भएन भनेपछि गएर आन्द्रामा क्यान्सर हुन्छ। अहिले नेपालमा वर्गर, फ्राई चिकनका परिकार बढी खाने चलन छ,’ उनले भने।
यसका साथै रातो मासुको अचार बनाएर, भुटेर, छोइला बनाएर र सुकुटी बनाएर, पोलेर धेरै दिन भण्डारण गरेर खाने चलनले पनि आन्द्राको क्यान्सर बढेको देखिन्छ। ‘यसरी खाइने मासुमा ढुसी र कार्सिजेनिक तत्त्वहरू हुन्छ, जुन हामीले दैनिक खाइरहेका छौं,’ उनले भने। बजारमा उपलब्ध खानासमेत रसायनयुक्त हुने र ताजा नहुने कारण पनि यो क्यान्सर बढेको उनको भनाइ छ।
नियमित परीक्षणबाट बच्न सकिने
यो क्यान्सर सुरुमै पहिचान भएमा शल्यक्रियापछि पुरै निको हुन्छ। तर ढिला भएमा शरीरको अन्य भागमा फैलिने जोखिम भएको हुनाले समयमै पहिचान गरी छिटो उपचारमा पुग्नु नै उचित उपाय भएको चिकित्सक बताउँछन।
ठूलो आन्द्राको क्यान्सर दोस्रो र तेस्रो चरणमा पुगेकाहरू उपचारपछि ७० प्रतिशत पाँच वर्षसम्म मात्र बाँच्छन्। शरीरको अन्य भागमा फैलिए पनि पुनः शल्यक्रिया गर्ने, किमोथेरापी र रेडियोथेरापी उपचारकोे माध्यमवाट बच्न सक्छन्। पछिल्लो समय नेपालमा ठूलो आन्द्राको शल्यक्रिया ल्यापरस्कोपिक विधिबाट नै हुने भएकाले पहिला जस्तो ठूलो घाउ बनाउनुपर्दैन। यो क्यान्सरको सर्जरी भने क्यान्सर शल्य चिकित्सकसर्जनबाटै गरे पनि परिणाम राम्रो हुने चिकित्सक बताउँछन्।
नियमित परीक्षणले यो रोगको सुरुमै पहिचान हुन्छ। लाग्नै नदिनका लागि स्वस्थ्य जीवनशैली र वंशाणुगत रूपमा हुने पलिभ (आन्द्रामा हुने सानो फोका)को समयमै शल्यक्रिया गरी फाल्न सकिन्छ। नियमित दिसापिसाबमा परिवर्तन आउने, बिहान, दुई/तीन दिनपछि हुने, कहिले कडा, कहिले पातलो दिसा हुने, हरेक पटक दिसा गर्दा पूरा नभएजस्तो अनुभव हुने, दिसाबाट रगत आउने, वान्ता हुने, पेट फुल्ने र व्यक्ति दुब्लाउँदै जाने जस्ता लक्षण भएमा आन्द्राको क्यान्सर भएको हुन सक्छ। यस्तो लक्षण देखिएमा कतिपय बिरामी पायल्स या ग्यास्ट्रिकको औषधी सिधै किनेर खाने चलन देखिन्छ।
चिकित्सकहरू यसको सट्टा रोगको यकिन पहिचान गरेपछि मात्र औषधी सेवन गर्न सुझाउँछन्। यसका साथै केही समस्या नदेखिए पनि ४५ वर्ष पुगेका व्यक्तिले नियमित रूपमा दिसा जाँच गर्ने, दिसामा रगत भेटिएमा र आवश्यक परेमा कोलोनोस्कोपी गर्न सकिन्छ। कोलोनोस्कोपीबाट आन्द्राको क्यान्सर सुरुमै थाहा पाउन सकिन्छ।
कुनै पनि क्यान्सर लाग्न नदिनका लागि नियमित स्वास्थ्य परिक्षण, ताजा तथा सन्तुलित खानपानमा ध्यान दिने, तौल नियन्त्रणमा राख्ने, मदिरा सेवन नगर्ने र नियमित व्यायम गर्ने जस्तो स्वस्थ जीवनशैली अपनाउन चिकित्सकको सुझाव छ। हरेक नागरिकको समयमै क्यान्सर पहिचान गर्न सरकारले ४५ वर्ष पुगेका नागरिकको निःशुल्क या स्वास्थ्य बिमा प्रणालीबाट अनिवार्य आन्द्राको जाँच गर्ने प्रणालीको व्यवस्था गरेमा यो क्यान्सरबाट बच्न सकिने चिकित्सकको सुझाव छ।
प्रकाशित: १ चैत्र २०८१ ०६:१७ शुक्रबार