महिलाको जैविक रूपमा हुने मासिक चक्र या महिनावारीका समयमा हुने विभिन्न खाले विभेदले महिला तथा किशोरीको मानव अधिकार हनन भएको दाबी गरिएको छ। विभिन्न जातजाति र देशमा महिनावारीको अवधिमा विविध रूपमा हुने विभेदले उनीहरूको बालअधिकार, मानवअधिकार हनन भएको सिड ग्लोबल साउथ कोलिसन फर डिग्निफाइड मिन्सचुरेसन (जिएससिडी) ले जनाएको छ। सिड (संयुक्त राष्ट्रसंघीय महिलाविरुद्ध हुने सबै प्रकारका विभेदविरुद्धको महासन्धि) मा सुझावस्वरूप पेस गरिएको प्रतिवेदनले यस्तो जनाएको हो।
महिनावारी जीवनचक्रीय तथा महिलाको जैविक प्रक्रिया भएको अवस्थामा विश्वका चार खर्ब मानिसले अनुभव गर्ने यो अवस्थालाई पितृसत्तात्मक संरचनाको भित्री कारण रहेको प्रतिवेदनमा उल्लेख छ।
यो विभेदले पाठेघर, अण्डाशय लिएर जन्मिएका किशोरी, महिला, लेस्वियन, क्वियर, ट्रान्समेन, वाइसेक्सुअल सबैलाई असर गरेको छ नै; महिनावारीमा हुने विभेदले जीवनभर भय, दुव्र्यवहार, हिंसा, स्रोत साधनबाट वञ्चित हुने अवस्था सिर्जना गरेको छ। विश्वभर विभिन्न स्वरूपमा महिनावारीलाई अशुद्ध अवस्थाका रूपमा परिचित हुँदा थुपै्र विभेद झेल्नुपरेको जनाएको छ।
एसियामा महिनावारी हुँदा छुट्टै बस्नुपर्ने, खानेकुरामा बन्देज हुने, सार्वजनिक र धार्मिक ठाउँमा जान नपाउनेजस्ता विभेद हुन्छ भने उत्तर अमेरिका र अस्ट्रेलियामा महिनावारी हुँदा विद्यालय र काममा जान नहुने प्रचलन छ। त्यसैगरी साथीहरूले जिस्काउने, अपमानित हुने डरले सामाजिक क्रियाकलाप पौडी खेल्नबाट वञ्चित हुने गरेका छन्।
महिनावारीका कारण अफ्रिकी मुलुकमा खानेकुरामा बन्देज, नुवाइधुवाइमा बन्देज, तरकारी, फलफूल छुन बन्देज, पानीको स्रोत छुन बन्देज, धार्मिक क्रियाकलापमा सहभागी हुन नदिने जस्ता विभेद छन्। ल्याटिन अमेरिकामा महिनावारीका बेलामा दुध, सुँगुरको मासु, एभोकाडो खान नपाइने, बिरुवा छुन नपाइने जस्ता अभ्यास छन्। यसका साथै यो समयमा घाममा बस्न नहुने, सार्वजनिक काममा सहभागी हुन नपाइने जस्ता विभेद पनि कायमै छन्।
महिनावारीमा हुने विभेदले बालिकामा आत्मसम्मानमा कमजोर महसुस हुने, अपमानित महसुस हुने, आफूलाई कमजोर ठान्दै हुर्कने हुनाले पुरुषभन्दा महिलामा भावनात्मक असर पर्ने प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी महिनावारी विभेदकै कारण बालमनोविज्ञानमा गहिरो असर गर्ने, प्राथमिक विद्यालयमा महिनावारीसम्बन्धी छलफलविना हुने विभेदले पछि गएर लैंगिक सत्ताविरुद्ध चुनौती दिन नसक्ने उल्लेख गरेको छ। यसका साथै चिकित्सासम्बन्धी पाठ्यक्रममा समेत महिनावारी विभेद उल्लेख नभएको प्रतिवेदनले जनाएको छ।
महिनावारी विभेदले गोप्य रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक परिस्थतिले छात्राहरू स्कुलमा अनुपस्थित हुने, आफैं खाना झिकेर खान नपाउने, अँध्यारो कुनामा बस्नुपर्ने कक्षामा असफल हुने कारणले पढाइ कमजोर भई छिटो विवाह गर्न बाध्य हुने गरेको र यसलाई बालविवाह न्यूनीकरण नीतिले स्वीकार नगरेको प्रतिवदेनले औंल्याएको छ।
यसैगरी महिनावारी अभियानले विभेदलाई सम्बोधन गर्न चुकेको, अपांगता भएका, लैंगिक अल्पसंख्यक महिनावारी विभेदका कारण दोेहोरो विभेदमा परेको, लैंगिक समानता तथा सामाजिक समावेशी नीतिमा महिनावारी विभेद छुटेको, महिनावारी विभेद दिगो विकास लक्ष्यकेन्द्रित कार्यक्रममा छुटेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
महिनावारी हुने महिलामा विभिन्न आयाममा असर गरेकाले महिनवारी विभेदले मानव अधिकार हनन गरेको प्रतिवेदनले जनाएको छ। विभिन्न रूपमा हुने विभेदले महिलाको सम्मानित जीवनयापन र विकासमा वाधा पार्ने भन्दै परम्परागत हानिकारक अभ्यासलाई पुनः परिभाषित गरी सिडको खाकामा समेटिनुपर्ने, जैविक प्रक्रियामाथि विभिन्न बहानामा हुने विभेद अन्त्य गर्न र लैंगिक हिंसाका रूपमा स्वीकार गर्न माग गरेको छ।
प्रकाशित: १ फाल्गुन २०८१ ०८:०३ बिहीबार