१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि औषधिको परीक्षण हुँदै

चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि औषधिको परीक्षण गरिने भएको छ।

भरतपुर अस्पतालले हिमालयन ट्रस्ट नेपाल र संयुक्त राज्य अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको सहयोगमा कोभिड–१९ उपचारका लागि औषधिको परीक्षण गर्न लागेको हो।

झाडापखाला, आउँमासी लगायतको उपचारमा प्रयोग गरिने ‘एमेटिन’ नामक औषधि कोरोना–१९को उपचारमा पनि परीक्षण गर्न लागिएको भरतपुर अस्पतालका प्रमुख अनुसन्धानकर्ता डा.कल्याण सापकोटाले जानकारी दिए। नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनबाट अनुमति लिएर अनुसन्धान थालिएको डा.सापकोटाले जानकारी दिए। एमेटिन नामक औषधि कोराेनाका बिरामीलाई विश्वमै पहिलो पटक प्रयोग गर्न थालिएको उनले बताए।

‘सन् १९४०को दशममा विश्वमा झाडापखाला फैलँदा एमेटिन नामक औषधि व्यापक प्रयोग भएको हो। त्यतिखेर ६० एमजि प्रयोग हुन्थ्यो। अहिले कोरोनाको बिरामीलाई परीक्षण गर्नका लागि ६ एमजि दिँदैछौँ’, उनले भने ‘कोरोना भाइरस संक्रमित मुसामा सफल भएपछि यो पहिलो पटक नेपालमा परीक्षण गर्दैछौँ।’ यो ट्याब्लेट औषधि हो। यसलाई मुखबाट दिइन्छ।

कोभिड–१९को लक्षण भएका बिरामीलाई दिइने एमेटिनको प्रभावकारिता र बिरामीको स्वास्थ्य सम्बन्धित जीवनको गुणस्तरमा यस औषधिको दीर्घकालीन प्रभावबारे मूल्याङ्कन गर्ने उद्देश्य रहेको सापकोटाले जानकारी दिए। ‘यो अध्ययन एक अनियमित छनोट डब्ल–ब्लाइन्ड, प्लेसबो नियन्त्रित परीक्षण हो। जसमा कोभिड–१९को लक्षण भएका बिरामीहरू समावेश हुन्छन्, उनले भने ‘सहभागीले ५ देखि १० दिनको लागि अध्ययनरत औषधि एमेटिन वा प्लेसबो प्राप्त गर्नेछन्।’ अध्ययनमा सहभागी भएको दिनदेखि ९० दिनसम्म क्लिनिकल मूल्याङ्कन र प्रयोगशाला परीक्षणहरू सहित फलो अफ मूल्याङ्कनहरूमा सहभागिता जनाउनुपर्ने उनले बताए।

५० बर्सभन्दा माथि उमेर समुहमा यो औषधि परीक्षण गरिने हिमालयन ट्रस्ट नेपालका डाक्टर सुमन पन्तले बताए। ‘यस परीक्षणमा पर्ने वा नपर्ने भनी स्क्रिनिङ् गरेको पाँच दिनभित्र एसएआरएस सिओभि–२का लागि आरटि–पिसिआर पोजेटिभ भएको र कोभिड–१९को लक्षणहरू अनुभव गर्दै गरेको व्यक्ति हुनुपर्छ’, डा.पन्तले भने ‘गर्भवती वा स्तनपान गराउने महिलाहरु र हाल अन्य परीक्षण अन्तरगत अध्ययन औषधिहरू सेवन गर्ने व्यक्तिहरू यस परीक्षणमा समावेश गराइने छैन।’ कोभिड–१९ उपचारको औषधिको पहुँच र प्रयोगको अनुसन्धानमा योगदान दिने सबैलाई अध्ययन सम्बन्धित चिकित्सा लागत प्रायोजकद्वारा बहन गर्नेछन्। सहभागीहरूलाई यातायात सञ्चार भत्ता समेत उपलब्ध गराइने पन्तले जानकारी दिए।

भरतपुर अस्पतालमा ४ सय ५० जनामा औषधिको प्रयोग गरेर अनुसन्धान गर्ने लक्ष्य लिइएको छ। अध्ययन अवधि एक वर्षको तोकिएको छ। अध्ययनका क्रममा सम्भावित साइड इफेक्टहरुको नियमित र निरन्तर निगरानी गर्ने उनले जानकारी दिए। अध्ययनरत औषधिको प्रतिकुल प्रतिक्रियाहरूको व्यवस्थापनको लागि उपचार प्रोटोकल र विशेषज्ञ टोली व्यवस्था गरिएको छ। अध्ययनमा सहभागिताको क्रममा अध्ययनरत औषधि सम्बन्धित कुनै क्षति भएमा प्रायोजकले बिमा पोलिसी तथा चिकित्सकीय परीक्षण पीडितका लागि क्षतिपूर्तिका नियमावली अनुसार क्षतिपूर्ति दिने कानुनी उत्तरदायित्व बहन गर्नेछ, उनले भने। औषधिको साइड इफेडका कारण मृत्यु भएमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरिएको उनले बताए।

सहभागीको डाटालाई गोपनीयता काम गरिने बताइएको छ।  कोभिड महामारीको प्रभावकारी उपचार विकल्पहरूको लागि खोज गर्दै कोभिड १९ विरुद्धको विश्वव्यापी सामूहिक लडाइमा अगाडि बढ्ने महत्त्वपूर्ण  कदमलाई प्रतिनिधित्व गर्ने प्रमुख अनुसन्धान कर्ता डा कुन्चोक दोर्जीले बताए। 

प्रकाशित: १९ चैत्र २०८० १८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App