८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

औषधी अभाव रहेको जिल्ला अस्पताल दैलेख रहेको स्वास्थ्य सेवा कार्यालय। तस्बिरः गोविन्द केसी/नागरिक

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै बिरामीहरूले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने बिरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।

सरकारले वितरण गर्ने निःशुल्क औषधी समेत अभाव हुन थालेपछि बिरामीहरू निजी मेडिकलबाट चर्को मूल्य तिरेर किन्न बाध्य भएका छन्। जिल्लाबाट औषधी माग हुँदा समेत प्रदेश र केन्द्रबाट औषधी पठाउन बेवास्ता गरेका कारण औषधी अभाव भएको हो।

दैलेख जिल्ला अस्पतालमा प्रेसर, एलर्जी लगायत सामान्य औषधी लिन जाँदा समेत उता यता जानु भनेर अन्तिममा औषधी नदिएर स्वास्थ्यकर्मीले पठाएको दुःखेसो ज्येष्ठ नागरिक इन्द्रिरा थापाले पोखिन्।

‘जिल्ला अस्पतालमा सरकारले वितरण गर्ने औषधी समेत पाएनन्।’ ईन्द्रिरा थापाले भनिन् ‘कर्मचारीहरुले औषधी लिन यताउता घुमाएर, औषधी नदिई पठाए।’

हिजोआज जिल्ला अस्पताल दैलेख पुग्ने बिरामीहरू अस्पतालमा प्राय औषधी सकिएकाले औषधी पाउँदैनन्। अन्ततः निजी मेडिकलमा चर्को मूल्य तिरेर औषधी किन्नुपर्ने बाध्यता रहेको छ। अस्पताल प्रशासनले प्रदेशदेखि केन्द्रसम्म औषधी माग गरे पनि औषधी नआईपुगेको स्वीकार गरेको छ। प्रदेश र केन्द्रले स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाहरूमा औषधी पठाउने गरे पनि जिल्ला अस्पतालमा पठाउन हेरचक्राई गर्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ।

जिल्ला अस्पतालमा केही औषधी अभाव रहे पनि अन्य औषधीहरू अभाव नभएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. धर्मराज रेग्मीले बताए। 

प्रकाशित: १ चैत्र २०७९ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App