नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधि, विधान र लोकतान्त्रिक प्रक्रियामै अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्। सभापतिमा निर्वाचित भएपछि थापाले जारी गरेको औपचारिक विज्ञप्तिमा विशेष महाधिवेशनसम्बन्धी सम्पूर्ण निर्णय संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा थापाले नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भइसकेको बताउँदै विशेष महाधिवेशन कुनै विवादको विषय नभई लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको स्पष्ट पारेका छन्। उनले नेपाली कांग्रेसलाई ऐतिहासिक परिवर्तन र देशको समुन्नतिको यात्रामा अघि बढाउन आम सदस्य र शुभेच्छुकहरूको इमानदार प्रयास निर्णायक रहेको उल्लेख गरेका छन्।
नवनिर्वाचित सभापति थापाले पार्टी कुनै एक नेता वा सीमित समूहको चाहनामा होइन, आम सदस्यको चाहनाअनुसार चल्ने स्पष्ट गर्दै कांग्रेस अब आफ्नो मूल जरा, मूल्य–मान्यता र आदर्शमा फर्किएको दाबी गरेका छन्।
विज्ञप्तिमा विशेष महाधिवेशनमा सहभागी हुन नपाएका, सहभागी भएर पनि असहमत रहेका तथा देश–विदेशमा रहेका सम्पूर्ण कांग्रेसजनलाई एकताबद्ध हुन आह्वान गरिएको छ। उनले विजय–पराजयको बहसभन्दा माथि उठेर जिम्मेवार, संयमित र एकताबद्ध ढंगले अघि बढ्न आग्रह गरेका छन्।
थापाले कांग्रेसभित्र कुनै गुट वा समूह नरहेको जिकिर गर्दै नेपाली कांग्रेस पार्टी नेता वा सीमित सदस्यको मात्र नभई आम नेपाली नागरिकको सार्वजनिक पूँजी भएको बताएका छन्। आम तहमा रहेका सदस्य र कार्यकर्ताको चाहनालाई नै केन्द्रीय समितिको निर्णयको आधार बनाइने उनको भनाइ छ।
विशेष महाधिवेशनपछि देखिएका कमजोरीप्रति पार्टीले आत्मालोचना र समीक्षा गरिसकेको उल्लेख गर्दै थापाले समयको मागअनुसार संगठन थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। कांग्रेस अब परिवर्तन हुँदै अघि बढिरहेको र यो परिवर्तन निरन्तर रहने उनको दाबी छ।
सभापति थापाले सम्पूर्ण शुभेच्छुक, समर्थक र आम नेपाली जनसमुदायलाई लोकतान्त्रिक, जनमुखी र जिम्मेवार कांग्रेस निर्माणमा साथ दिन अपिल गरेका छन्। संविधान, लोकतन्त्र र जनअधिकारको रक्षा गर्दै समुन्नत नेपालको यात्रामा कांग्रेस अग्रसर रहने उनले बताएका छन्।
विज्ञप्तिमार्फत थापाले ऐतिहासिक संघर्षमा बलिदान दिएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने पार्टीका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई राष्ट्रनिर्माणको यात्रामा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित: २ माघ २०८२ २१:१७ शुक्रबार





