काठमाडौं विश्वविद्यालय(केयु)को उपकुलपति छनौट गर्न गठित खोज तथा सिफारिस समितिका सदस्यहरूबिचमै मतभिन्नता हुँदा नाम सिफारिसमा ढिलाइ भएको खुलेको छ । स्वयं समितिका संयोजक रहेका प्रा.डा. सुरेशराज शर्माले यो कुरा स्वीकार गरेका छन्।
केयुमा नयाँ उपकुलपतिको नाम सिफारिस गर्न विश्वविद्यालय सभाले मंसिर ३० गते केयुका पुर्वउपकुलपति प्रा.डा. शर्माको संयोजकत्वमा तीन सदस्यीय खोज तथा सिफारिस समिति गठन गरेको थियो। सदस्यमा नेपाल सरकारका पुर्वसचिव जनार्दन नेपाल र पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. अर्जुन कार्की छन् । यसरी समिति गठन भएको तीन महिना बित्नै लाग्दा हालसम्म उपकुलपतिका लागि नाम सिफारिस गर्न सकेको छैन
संयोजक शर्माले समितिका सदस्यहरूबिचमै सहमति जुट्न नसकेपछि नाम सिफारिस गर्न ढिलाइ भएको बताए। ‘हामी समितिका तीन जना सदस्यहरूको उपकुलपति सिफारिस गर्ने तीन जनाको नाममा मत विभाजन भयो,’ नागरिकसँगको कुराकानीमा शर्माले भने,‘यसले गर्दा केयुको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गर्नै मुस्किल बन्यो ।’
अन्तर्वार्तामा सहभागी भएका १० जनामध्ये नाम सिफारिस गर्न सदस्य तीन जनाको आ–आफ्नै अडान रहेको उनले बताए। ‘कसैको बढी जिद्दी होला कसैको कम सिद्धि होला कुरा यत्ति हो,’ उनले भने।
आफूले प्रतिस्पर्धा भन्दा पनि विश्वविद्यालय हाँक्न सक्ने अनुभवी, प्राज्ञिक क्षमता भएको, नेतृत्व लिन सक्ने र स्रोत व्यवस्थापन गर्न सक्ने सक्षम व्यक्ति सिफारिस गर्न चाहेको संयोजक शर्माले दाबी गरे। लामो समय सहमति नजुटे पनि अहिले समितिका सदस्यबिचमा आफूअनुकुल एक/एक नाम कुलपति(प्रधानमन्त्री केपी शर्मा ओली)समक्ष सिफारिस गर्ने सहमति बनेको उनले जानकारी दिए।
‘मैले छानेको एक जनाको नाम कुलपति समक्ष बुझाउने तयारीमा छु। अन्य सदस्यले पनि आफूले छानेको नाम एक्ला एक्लै बुझाउनुहुन्छ,’ संयोजक शर्माले भने। आफूले छनोट गरेको नाम अन्य सदस्यलाई नभनेको र अन्य सदस्यले छानेको नाम आफूलाई थाहा नभएको उनले बताए।
‘अहिले हामी तीन सदस्यहरू मापदण्डमै रहेर आ–आफ्नो अनुकूल नाम एक/एक नाम सिफारिस गर्न सहमत भयौँ,’ उनले भने, ‘हामीले छनौट गरेको नाम सदस्यहरुबीच खुलाएका छैनौँ । कुलपतिलाई गोप्य रूपमा बुझाउने छौँ । नियुक्तिपछि मात्र सार्वजनिक हुन्छ ।’
तीन सदस्यहरूले आफूले छनौट गरेका नाम एक्ला एक्लै प्रधानमन्त्री एवं कुलपति ओलीलाई बुझाउने सहमति बनेको पनि उनले बताए। ‘मैले छानेको एक जनाको नाम कुलपति समक्ष बुझाउने तयारीमा छु। अन्य सदस्यले पनि आफूले छानेको नाम एक्ला एक्लै बुझाउनुहुन्छ,’ संयोजक शर्माले भने। आफूले छनोट गरेको नाम अन्य सदस्यलाई नभनेको र अन्य सदस्यले छानेको नाम आफूलाई थाहा नभएको उनले बताए।
सिफारिस समितिका सदस्यबिच विश्वासको कमी भएको संयोजक शर्माले स्वीकार गरे। ‘समितिले फागुन ३ गते नै सर्ट लिस्टमा परेका १० जना उपकुलपति उम्मेदवारहरूको अन्तरवार्ता सकाएको हो । तीन जनाको नाम सिफारिस गर्दा सहमति नै जुट्न नसकेपछि ढिलाइ हुन गयो,’ उनले भने।
केयु उपकुलपति छनौट मापदण्डअनुसार भिजन पेपरको १५ अंकभार, रणनीति पत्रको १५ अंकभार, प्रस्तुतिमा २० अंकभार र अन्तरवार्तामा २० गरी ७० अंकभार निर्धारण गरिएको छ । यस्तै शैक्षिक योग्यता, अनुसन्धान, पुस्तक प्रकाशन, अनुभव, नेतृत्व क्षमता,समस्या पहिचानलगायतका आधारमा ३० अंकभारले निर्धारण गरिएको छ ।
प्रकाशित: १६ फाल्गुन २०८१ १४:३७ शुक्रबार