रामप्रसादराई गाउँपालिका–६ वैकुन्ठेमा सुन्तला र कागती खेती सिकाउने केन्द्र स्थापना भएको छ। व्यावसायिक सुन्तला र फलफूल खेती गर्ने किसानलाई प्राविधिक ज्ञान दिन यो केन्द्र बनाइएको हो।
वैकुन्ठे क्षेत्र सुन्तला र फलफूल खेतीका लागि उपयुक्त भएकाले वडाले बजेट छुट्याएर केन्द्र स्थापना गरेको वडाध्यक्ष एकराज आचार्यले बताए। यहाँको हावापानी, भूगोल र माटोअनुसार सुन्तलाका बिरुवा उत्पादन गर्न नर्सरी पनि बनाइएको उनले जानकारी दिए। गत आर्थिक वर्षमा वडाले एक लाख ५० हजार रुपैयाँ बजेट छुट्याएर यो केन्द्र बनाएको हो।
‘वैकुन्ठेका अधिकांश किसानले व्यावसायिक सुन्तलासँगै फलफूलखेती गरिरहेका छन्,’ वडाध्यक्ष आचार्यले भने, ‘कतिपय किसानलाई सुन्तला र फलफूल खेतीबारे सामान्य जानकारी नहुँदा समस्या हुन्छ। किसानलाई सुन्तला, कागती खेतीको प्राविधिक जानकारी दिन केन्द्र स्थापना गरेका हौँ।’
केन्द्रमा किसानको सहभागितामा सुन्तला नर्सरी पनि बनाइएको छ। दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन भएको स्थानीय राजेन्द्रकुमार राईले बताए। नर्सरीका बिरुवा किसानलाई वितरण गरिनेछ। यो केन्द्रले सुन्तला र फलफूल खेतीको प्राविधिक ज्ञान लिन सजिलो भएको उनको भनाइ छ।
‘सिकाइ केन्द्रमार्फत हामीले सुन्तलाका बिरुवा पनि उत्पादन गरेका छौँ,’ उनले भने, ‘हामीले कृषि प्राविधिकको निगरानीमा खेती प्रविधिको जानकारी लिन पाएका छौँ। सुन्तला, कागतीमा रोग, कीराको समस्या कसरी समाधान गर्ने भन्ने पनि सिकेका छौँ। यो केन्द्रबाट प्राविधिक ज्ञान लिन सहज छ।’
केन्द्रमार्फत किसानलाई खेती प्रविधिबारे जानकारी दिइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरले बताए। किसानलाई केन्द्रमा बोलाएर अभ्यास गराई प्रविधि सिकाइने उनको भनाइ छ। ‘किसानलाई रोग, कीराको समस्या र खेती प्रविधिबारे जानकारी दिन्छौँ,’ उनले भने, ‘सबैलाई सँगै अभ्यास गराएर सिकाइने भएकाले यो कार्यक्रम किसानका लागि उपयोगी छ।’ रासस
प्रकाशित: २ वैशाख २०८२ १०:३० मंगलबार





