१३ पुस २०८१ शनिबार
image/svg+xml
शिक्षा

त्रिविमा डिन र निर्देशक नियुक्ति : भन्ने योग्यता, गर्ने भागबन्डा

हालको नियुक्ति पूर्ण रूपमा दलीय भागबन्डामै भएको दाबी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को गत बिहीबार बसेको सभामा उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले आफ्नो नियुक्ति दुई नम्बरको भएकाले अबको कुनै पनि नियुक्ति त्रिविमा दुई वा तीन नम्बरमा नगर्ने भनी प्रतिबद्धता गरेका थिए। तर केही दिन नबित्दै उपकुलपति बराल आफैंले बोलेको वचन तोडेका छन्।

आइतबार नियुक्त भएका डिन र निर्देशकहरू मेरोटोक्रेसीका नाममा परिमार्जित भागबन्डाकै आधारमा गरिएका छन्। हुन त उपकुलपति बराल पनि आफू दुई नम्बरमा रहेको अवस्थामा सिफारिस भएका थिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालनिकट भएकै आधारमा उनी उपकुलपतिमा नियुक्त भएका थिए।

त्रिविमा प्राध्याकप बराललाई दुई नम्बरको उपकुलपति भन्ने उपमा पनि दिइएको छ। त्यही भएर उनले बिहीबार बसेको त्रिवि सिनेट बैठकमा विद्यार्थी नेता श्यामराज ओझाको डिन कहिले नियुक्त हुने भन्ने प्रश्नको उत्तर दिँदै भनेका थिए, ‘जसरी तपाईंहरू मलाई दुई नम्बरको उपकुलपति भनिरहनुभएको छ नि, हो त्यस्तै त्रिविमा अब कुनै पदमा दुई नम्बरको नहुने व्यवस्थापन गर्न खोज्दा नियुक्तिमा ढिलाइ भएको हो ।’ तर उनको यस्तो दाबी गलत साबित भएको छ।

उपकुलपति बरालले एक नम्बरकै सिफारिसलाई नियुक्त गराउने दाबी गरे पनि सिफारिस भएका दुई र तीन नम्बरकालाई नियुक्त गरिएको छ। यति मात्र होइन, प्राध्यापकलाई फालेर सहप्राध्यापकलाई समेत नियुक्ति दिइएकामा त्रिविका प्राध्यापकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

इन्जिनियरिङ अध्ययन संस्थानको डिनमा सुशीलबहादुर बज्राचार्य (एमालेनिकट) नियुक्त भएका छन्। जबकि उनी नाम सिफारिस भएकामध्ये तेस्रो नम्बरका थिए। एक नम्बरमा नाम सिफारिस भएका प्राध्यापक डा. सुवर्ण शाक्य र दोस्रो नम्बरमा प्राध्यापक डा. भोलानाथ शर्मा थिए। ‘मैले अब त त्रिवि मेरोटोक्रेसीमै नियुक्ति दिने विश्वासका साथ आवेदन दिएको थिएँ। मेरोटोक्रेसीको नाममा दलगत भागबन्डा गर्न पो चार महिना ढिला गरेका रहेछन्,’ डिनका उम्मेदवार शाक्यले भने, ‘देखाउने र भन्ने मेरोटोक्रेसी तर नियुक्तिका बखत भने परिमार्जित भागबन्डा नै देखियो। हामी तीनमध्ये म एक नम्बरमै सिफारिस भएको हुँ। कति अन्याय गरेका छन् ममाथि पदाधिकारीले।’

सामाजिक शास्त्र संकायको डिनमा प्राध्यापक डा. द्विविनन्द ढकाल (माओवादी केन्द्रनिकट) नियुक्त भएका छन्। त्यस्तै इन्स्टिच्युट अफ मेडिसिनको डिनमा प्राध्यापक डा. मोहनराज शर्मा (निकटता नखुलेका), त्यस्तै कृषि र पशुविज्ञान अध्ययन संस्थानको डिनमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल (माओवादी केन्द्रनिकट), शिक्षाशास्त्र संकायको डिनमा प्राध्यापक डा. वेदराज आचार्य (एमालेनिकट) नियुक्त भएका छन्।

त्यस्तै वन, विज्ञान अध्ययन संस्थानको डिनमा सह प्राध्यापक डा. ठाकुर सिलवाल (नेपाली कांग्रेसनिकट), व्यवस्थापन संकायको डिनमा प्राध्यापक डा. महानन्द चालिसे (नेपाली कांग्रेसनिकट), विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनमा प्राध्यापक डा. शंकर खनाल (नेपाली कांग्रेसनिकट) नियुक्त भएका छन्।

यसैगरी योजना निर्देशनालयका निर्देशकमा सह प्राध्यापक डा. लक्ष्मीकान्त शर्मा (मावोवादीनिकट), शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सह प्राध्यापक डा. राजेन्द्र कुँवर (एमालेनिकट) र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राध्यापक डा. मीनराज भण्डारी (नेपाली कांग्रेसनिकट) ले नियुक्ति पाएका छन्।

त्रिवि प्राध्यापक संघका अध्यक्ष प्राध्यापक डा. वसन्त ढकालले प्राध्यापकलाई फालेर सहप्राध्यापकलाई डिन र योजना निर्देशनालयको निर्देशकमा नियुक्ति गर्नु प्राज्ञिक क्षेत्रमा नकारात्मक असर पार्ने वातावरण तयार पार्नु रहेको बताए। ‘प्राध्यापकलाई छोडेर सह प्राध्यापकलाई कृषि र पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा क्रमशः डिन नियुक्ति गरिनु विश्वविद्यालयको प्राज्ञिक उन्नयनको हितविपरीत हो,’ अध्यक्ष ढकालले भने, ‘योजना निर्देशनालयको निर्देशकमा समेत सहप्राध्यापकलाई नियुक्ति गरिएको छ। जबकि यी पदमा प्राध्यापकहरूले आवेदन हालेका थिए।’

शिक्षा शास्त्र संकायको एक नम्बरमा नाम सिफारिस गरिएका प्राध्यापक डा. चित्रबहादुर बुढाथोकी पनि फालिएका छन्। उनको साटो दुई नम्बरमा परेका वेद आचार्य नियुक्त भएका छन्। प्राध्यापक बुढाथोकीले हालको नियुक्ति पूर्ण रूपमा दलीय भागबन्डामै भएको दाबी गरेका छन्। ‘मलाई एक पटक डिन नियुक्त भएकालाई दोस्रो पटक नदिने भनेर फालियो। तर म एक नम्बरमा सिफारिस भएको हुँ,’ शिक्षा शास्त्र संकायको डिनका उम्मेदवार बुढाथोकीले भने, ‘मापदण्डविपरीत डिन नियुक्ति गरियो।’

शिक्षाविद् केदारभक्त माथेमाका अनुसार त्रिविका कुनै पनि पदमा दलको हस्तक्षेप त्रिविको हितविपरीत नै हो। यसकारण पनि अबको नियुक्ति मेरोटोक्रेसीमै हुनुपर्ने उनको जोड छ। ‘हामी पूर्व उपकुलपतिहरूले बाहिर बसेर त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायतलाई मेरोटोक्रेसीमै नियुक्ति गर्न आत्मविश्वास बढाउने हो। दलगत नियुक्तिले त्रिविलाई हानिनोक्सानी पुर्‍याउनेबाट सचेत गराउने हो।’

प्रकाशित: २ पुस २०८१ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App