२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

एसइई ‘अनुत्तीर्ण’ले जगाएको अपनत्व

डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा सोमबार एसइई परीक्षामा ०८० को नतिजामा अनुत्तीर्ण विद्यार्थीहरू पूरक परीक्षाको तयारीमा जुटेका थिए। पद्मकन्या विद्याश्रम मावि स्रोत केन्द्रका ११ विद्यालयका विभिन्न विषयमा एसइई अनुतीर्ण विद्यार्थी पूरक परीक्षा पास हुन अध्ययनमा व्यस्त देखिए। शिक्षकहरू पनि सहज र विद्यार्थीले स्पष्ट बुझ्ने गरी कक्षाकोठामा पठनपाठन गराइरहेका भेटिए।

काठमाडौं महानगरपालिकाले यसपटक एसइईमा अनुत्तीर्ण भएका आफ्ना २२ प्रतिशत विद्यार्थी जसरी पनि पास गराउनेमा जोड दिएको छ। यसैको परिणाम हो सोमबार कक्षाकोठा भरिभराउ थियो। यति मात्र होइन विद्यार्थीले एक घन्टाको पढाइ सकेर कक्षाकोठाबाट बाहिरिँदा खाजासमेत खाए।

‘काठमाडौं महानगरले खाजा र खाना खुवाएर पढाइदिँदा कहाँ कसरी पढ्ने भन्ने हाम्रा समस्या र चिन्ता दूर भयो’, गणितमा एसइईमा ननग्रेड ल्याएका एक छात्रले भने, ‘महानगरले अभिभावकत्व लिँदा हाम्रा अभिभावकमाथिको थप आर्थिक भार पनि जोगियो।’ ‘आर्थिक अवस्था कमजोर र घरमा पढ्ने वातावरण नभएका सामुदायिक विद्यालयका विद्यार्थीका लागि यस्ता कक्षा महानगर र सरकारले निरन्तर सञ्चालन गरिदिनुप¥यो। ताकि आगामी दिनमा कोही विद्यार्थीले एसइईमा फेल हुनु नपरोस्’, ती विद्यार्थीले थपे।

काठमाडौं महानगरले एसइई परीक्षामा अनुत्तीर्ण विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गरी पठनपाठनको व्यवस्था गर्दा सामुदायिक विद्यालयका विद्यार्थीको कहाँ कसरी पढ्ने भन्ने चिन्ता नै दूर भएको छ भने अभिभावक थप आर्थिक बोझबाट मुक्त भएको स्कुलकी प्रधानाध्यापक रीता तिवारीले बताइन्।

‘हाम्रो स्रोत केन्द्रमा ११ स्कुलका ४५ विद्यार्थीले सहभागिता जनाइरहेका छन्’, प्रिन्सिपल तिवारीले नागरिकसँग भनिन्, ‘हाम्रो स्कुलमा अंग्रेजी, गणित, विज्ञान, अर्थशास्त्र र अतिरिक्त गणित कक्षा सञ्चालन भइरहेका छन्। बिहान आठ बजेदेखि दिउँसो १२ बजेसम्म कक्षा सञ्चालन हुन्छ।’

उनले थपिन्, ‘महानगरको यो अभिभावकत्व तारिफयोग्य छ। सामुदायिक विद्यालयका विपन्न र घरमा शैक्षिक वातावरण नभएका बालबालिका अध्ययन गर्छन्। अब महानगरले यस्ता अतिरिक्त कक्षा निरन्तर गर्नुपर्छ। ताकि अबको एसइईमा धेरेभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने वातावरण बनोस्।’

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइई २०८० सालको नतिजा प्रकाशन भएसँगै यसपटक परीक्षामा सहभागिता जनाएकामध्ये आधाभन्दा बढी विद्यार्थी असफल भएको सन्दर्भले शिक्षा क्षेत्रका सरोकारवाला निकायहरूमा अपनत्वको भावना जगाएको प्रिन्सिपल तिवारीको अनुभव रह्यो।

यसपटक एसइईमा कुल चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीले सहभागिता जनाएका थिए, जसमध्ये असफल हुने विद्यार्थी ५२.१३ प्रतिशत छन्। सामुदायिकतर्फ ६४.३४ प्रतिशत विद्यार्थी असफल भएका छन्।

परीक्षा सार्वजनिक शिक्षा मापनको एक महत्वपूर्ण आधार हो। बालकक्षादेखि १० कक्षासम्म एउटा विद्यार्थीले आफ्नो ११ वर्षको समय खर्च गरेको हुन्छ। कक्षा १० को परीक्षा नतिजाले विद्यार्थीले आफ्नो ११ वर्षको दौरान कस्तो सिकाइ उपलब्धि हासिल गरेका छन् भने मापदण्ड पनि तय गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले फेल भएका साढे दुई लाख विद्यार्थीको पूरक परीक्षा साउन २३ देखि सुरु गर्दै छ। यही सन्दर्भमा एसइई पूरक परीक्षाले अहिले केन्द्रदेखि स्थानीय तहसम्मको सरकारका निकायलाई झकझकाइदिएको छ। त्यही भएर काठमाडौं महानगरले आफ्ना अनुत्तीर्ण २२ प्रतिशत विद्यार्थीका लागि त क्याम्पमै खाजा र खानाको समेत व्यवस्थापन गरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको छ। यसका लागि महानगरले उत्कृष्ट सय शिक्षकको रोस्टर नै बनाएर शिक्षण सिकाइ गराइरहेको छ।

यति मात्र होइन काठमाडौं विश्वविद्यालयको सहकार्यमा काठमाडौं महानगरभित्रका सार्वजनिक विद्यालय सुधार गर्ने प्रयाससमेत महानगरले थालेको छ, जसका लागि काठमाडौं विश्वविद्यालयको सहकार्यमा कक्षाकोठाको शिक्षण सिकाइको स्तर वृद्धि गर्न शिक्षकहरूलाई तालिमको व्यवस्था गरिएको छ।

पछिलो समय त्रिभुवन विश्वविद्यालयले आफूसँग भएको जनशक्ति खटाएर विद्यालयस्तरको शिक्षाको शिक्षण सिकाइमा सहयोग गरी पूरक परीक्षामा जसरी पनि विद्यार्थी उत्तीर्ण बनाउन लागिपरेको छ भने अर्कातिर स्थानीय सरकारका पालिकाहरूले पनि आआफ्ना विद्यार्थी जसरी पनि एसइईमा उत्तीर्ण गराउन ट्युसन, थप कक्षा, उपचारात्मक कक्षालगायतका व्यवस्थापन गरिरहेका छन्।

त्रिविले आफ्नो स्नातक र स्नातकोत्तर तहका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई आफ्नो पायक पर्ने विद्यालयमा गएर पठनपाठन गराउन सबै आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूलाई परिपत्रसमेत गरिसकेको छ।

‘अब आइतबार बिहान सात बजेदेखि ९ बजेसम्म अर्थात् दुई घन्टा गणित विषयको कक्षा फेरि गणित समाजले सञ्चालन गरिरहेको छ’, गणित समाजका सदस्य एवं कार्यक्रम संयोजक डा. जीवन काफ्लेले बताए।

उनले एसइई पूरक परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई सहयोगी कक्षा अनलाइनबाट सञ्चालन गरिएको जनाए। गणित समाजले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधमा सोसाइटी टु सोसाइटी कार्यक्रमअन्तर्गत सहयोगी कक्षा सञ्चालन गरिरहेको उनले बताए।

यसपटकको एसइई परीक्षा नतिजाले शिक्षासँग सरोकारवालाहरूमा विद्यार्थी र शिक्षाप्रति अपनत्व बोध गराएको उनले जनाए। यसले समस्या मात्र होइन, इच्छाशक्ति बलियो भए यही प्रणालीबाट समाधानको उपाय पनि निस्कन्छ भन्ने उदाहरण त्रिवि काठमाडौं महानगरपालिका, नेपाल गणित समाज र काठमाडौं विश्वविद्यालयको दिएको छ।

‘नेपाल गणित समाजले ०८० को एसइईमा एक लाख ७७ हजार विद्यार्थी गणितमा ननग्रड भएका छन्। यी विद्यार्थीलाई लक्षित गरी आइतबारबाट निःशुल्क जुमबाट तयारी कक्षा सञ्चालन भइरहेको छ’, डा. काफ्लेले भने, ‘नेपालका गणितमा ख्याति प्राप्त १६ शिक्षकबाट १६ दिनसम्म जुम अनलाइनबाट बिहान सात बजेदेखि दुई घन्टा कक्षा सञ्चालन भइरहेको छ।’

उनले थपे, ‘एसइईमा १६ प्रश्न सोधिने छ। यसमा आधारित भएर विज्ञहरूले तयारी गराउनुहुने छ।’ यसपटकको एसइईमा अंग्रेजी एक लाख १३ हजार ८३, विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ र सामाजिक अध्ययनमा ७३ हजार आठ सय ७७ विद्यार्थी असफल भएका छन्। कुल सहभागी परीक्षार्थीमध्ये दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी असफल भएका छन्। सामुदायिकतर्फ ६४.३४ प्रतिशत विद्यार्थी असफल भएका छन्।

प्रकाशित: १ श्रावण २०८१ ०८:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App